www.tandavnews.com
Fact ~ In search of truth

आँपका रुखमुनि स्लेट र गुन्द्री राखेर पढ्न बाध्य छन् भविष्यका कर्णधार

बर्दिवास ।

महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा पठनपाठन खुलाचौरमा गरिँदै आएको छ । कक्षा कोठा अभावमा विद्यार्थी खुलाचौरमा पढ्न बाध्य छन् ।

कक्षा आठसम्म अध्ययन÷अध्यापन हुँदै आएको उक्त विद्यालयका बालबालिका विद्यालय परिसरभित्र आँपका रुखमुनि स्लेट (पाटी) र कापी लिएर पढ्दै गरेका देखिन्छन् । बढी रेखदेख गर्नुपर्ने शिशुदेखि तीन कक्षासम्मका बालबालिकालाई खुलाचौरमा रुख मुनि राखेर पढाउने गरिएको छ । उनीहरुले आफ्ना लागि भुइँमा ओछ्याउन बोरा, गुन्द्री र पिरा घरबाटै ल्याउने गरेका छन् ।

Batas

विसं २०३९ मा प्राथमिक विद्यालयका रूपमा स्थापित सो विद्यालयमा २०६९ सालदेखि कक्षा आठसम्मको पठनपाठन हुँदै आएको छ । विद्यालयमा हाल ४९३ विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक वंशीधरप्रसाद साहले जानकारी दिए । “कक्षा कोठा अभावमा तीन कक्षासम्मका झण्डै २०० विद्यार्थीलाई खुलाचौरमा राखेर पढाउँदै आएका छौँ,” उनले भने। हाल उपलब्ध भवनमा कार्यालय सञ्चालन र कक्षा चारदेखि आठसम्मका विद्यार्थी मात्रै राख्न सकिने अवस्था छ ।

विद्यालयलाई जिल्ला शिक्षा समन्वय इकाइले दुईकोठे पक्की भवन निर्माणका लागि रु १६ लाख उपलब्ध गराएको छ । नगरपालिकाको शिक्षा शाखा, विद्यालय प्रशासन र स्थानीय जनप्रतिनिधिले तदारुकता नदेखाउँदा भवन निर्माण हुन सकेको छैन । शिशुकक्षाका बालबालिकाले शैक्षिक सामग्रीसमेत पाउन सकेका छैनन् ।

प्रधानाध्यापक साह शैक्षिक सामग्री खरिदका लागि रु १८ हजार प्राप्त भएको बताउछन् । “भवन नभएका कारण सामग्री खरिद गर्न सकेका छैनौँ,” उनले भने । “सामग्री राख्न सुरक्षित कोठा चाहिन्छ ।” करीब ५०० विद्यार्थीलाई आठ शिक्षकले पढाउँदै आएका छन् । विद्यालयसँग १७ कट्ठा जग्गा छ । जग्गाधनी पूर्जा भने विद्यालयलाई हालसम्म प्राप्त नभएको प्रधानाध्यापक साहले बताए ।(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.