www.tandavnews.com
Fact ~ In search of truth

बी अलर्ट ! चोर आउला है…

 

 

 

 


माधब भुसाल

पाेखरा, ताण्डव न्यूज ।

क्यालेन्डरले चाडपर्व नजिक्याउँदै छ । उसो त वर्षैभरि नेपाली क्यालेन्डरमा विभिन्न चाडहरु देखिइरहेकै हुन्छन् ।

Batas

नेपालीहरुले मनाइरहेकै हुन्छन् । तर आउँदै गरेको चाड, चाड मात्रै पनि होइन, महान चाड । महान यसअर्थमा कि ८० प्रतिशत बढी हिन्दूहरु नेपालमा छन् । र, हिन्दूहरुको मुख्य चाड दशैं तिहारलाई मानिदैं आइएको छ ।

क्यालेन्डरहरु चाडपर्वका लागि मार्क भैसकेका छन् । बजारमा देखिन थालेको चहलपहलले यसको पुष्टि गर्छ । पोखरेलीले पनि बजारलाई व्यस्त बनाइरहेका छन् । तर यो चहलपहल दशैं अर्थात् टिकाकै दिनसम्म भने रहँदैन । टिकाको २ देखि ४ दिनअघि नै बजार सेलाउँछ । पोखरा सुनसान हुन्छ, काठमाडौं जस्तै ।

गाउँ भरिभराउ र रमाइलो हुने बेला भनेकै दशैं हो । शहरमा अध्ययन, जागिर, व्यापार लगायतका शिलशिलामा आएका व्यक्तिहरु त गाउँ जाने नै भए । त्यसबाहेक, यहिँ घर भएकाहरुपनि मान्यजन अग्रजहरुको आर्शिवाद थाप्न गाउँ जाने गर्छन् । करिब ३,४ दिन शहर सुनसान बन्नुका कारण यीनै हुन् ।

यहि सुनसान समयको फाइदा उठाउँछन् चोरी गर्नेहरु । चोरी गर्नेहरुलाई चाडपर्वको समय भनेको पिक आवर जस्तै हो । तर, चोरहरुले दशैं नै पर्खेर बस्ने भने होइन । पोखरामा भएका चोरीका घटनाहरु हेर्दा जुनसुकै बेला जहाँ पनि चोरी भएको पाइएको छ । दशैं अर्थात् चाडपर्वका बेला शहर सुनसान हुने भएकोले केहि सहज भने चोर्नेहरुलाई होला भन्ने आँकलन गर्न सकिन्छ ।

चोरीका घटनाहरु

०७४ फागुन ५ गते चाउथेमा एकै रात ३ छुट्टाछुट्टै स्थानमा चोर पसे ।

चाउथे आर एण्ड वि मोवाईल मर्मत सेन्टर, ओम शान्ति र एक कस्मेटिक पसलमा चोर पसेको थियो । मोबाइल पसलबाट केही मोबाइल र कस्मेटीकबाट केही रकम चोरी भएपनि ओम शान्तिमा चोर पस्यो, चोरी भने नभएको पुष्टि भयो ।

०७४ फागुन ९ मा गैंडाकोमुखमा रहेको फेन्सी तथा कस्मेटीक पसल चोरियो । करिब ८० देखि ९० हजारको सामान चोरिएको सञ्चालकले बताएका थिए ।

चोरी र योजना

चोरी नं १

०७५ जेठ २४ गते पोखरा ६ स्थित शिवराम बरालको घर चोरी भयो । घरमा कोही नभएको मौका छोपेर बागलुङ बसपार्क बस्ने १९ वर्षीय विकेस केसी र सोही ठाउँका १८ वर्षीय जिरे भन्ने लक्ष्मण केसी चोरीका लागि त्यहाँ पुगेका थिए ।

उनीहरुले करिब ७ तोला सुनका गहना, ४ थान घडी , ३ थान ट्याव, ४ थान मोबाइल, ४५ हजार नगद लगायतका सामान चोरेर त्यहाँबाट फरार भएका थिए । फरार चोरहरुलाई ३ महिनापछि कास्की प्रहरीले पक्राउ ग¥यो ।

उनीहरुले चोरेको सामसुङको ट्याव पोखरा १८ बस्ने तारानाथ परियारले खरिद गरेको थाहा भएको थियो । यस्तै चोरिएका सुनका गहना डिकमा राखी लागु औषध, पैसा दिने गरेकी नालामुख बस्ने ३३ वर्षीय मञ्जु केसी पनि अनुसन्धानका लागि थुनामा छन् ।

विकेसको टोलीले अन्य स्थानमा पनि चोरी गर्ने गरेको कास्की प्रहरीले जनाएको छ ।

चोरी नं २

०७५ श्रावण २६ गते अमरसिंहका मिथुन केसी रातोपहिरोबाट लेकसाइड आउँदै गर्दा लुटिए । स्कुटरमा आएका दुई युवाले मोबाइल, १२ हजार नगद र सुनको ब्रासलेट चोरेको घटना तत्काल बैदाम प्रहरीलाई जानकारी गराए ।

अनुसन्धान पश्चात् अन्ततः चोरको पहिचान भयो र, पक्राउ पनि परे । पक्राउ पर्नेमा पोखरा ७ मासबार बस्ने २४ वर्षका प्रतीक पहारी र सोही ठाउँका २६ वर्षका गणेश परियार छन् ।

चोरी नं ३

०७५ भाद्र २० गते राती १२ः३० बजे पोखरा २७ रिट्ठेपानिमा ३ जनाको समूह चोरी गर्ने उद्धेश्यले एक घरमा जान्छन् ।

भ¥याङ, रड, पेचकस, चक्कु, टर्च लाइट, डोरी र धारिलो हतियार लगायत ढोका फोर्ने सामानका साथ उनीहरु मुल ढोका फोर्न कस्सिए । मुलढोका फोर्न असफल भएपछि भ¥र्याङको साहाराले पछाडिबाट माथिल्लो तल्लाको ढोका फोरेर घरभित्र पसे ।

घरभित्र छिरेपछि परिवारलाई धम्क्याउन सुरु हुन्छ । आफूहरु पहिलेदेखि नै अपराधी भएको र जेलनेल समेत भोगेको बताउँदै परिवारलाई डर देखाउदै नगद गरगहना जे छ सबै दिन धम्क्याउँछन् । परिवारले हारगुहार गर्छन् । लगत्तै छिमेकिहरु त्यस घरमा प्रवेश गरेपछि उनीहरुले चोरी गर्न ल्याएको सामान समेत त्यही छाडी कुलेलाम ठोक्छन् ।

घटना पश्चात् इलाका प्रहरी कार्यालय हंसपुरले खोजी कार्य तिव्र बनायो र उनीहरुलाई पक्राउ गर्यो । पक्राउ पर्नेमा पोखरा २७ रिट्ठेपानि बस्ने ५१ वर्षका प्रीतिमान गुरुङ, म्याग्दी जिल्ला साविक कुहु गाविस १ घर भई रिट्ठैपानि बस्ने ४५ वर्षका ज्ञानबहादुर अर्मजा र म्याग्दी साविक कुहु गाविस घर भई रिट्ठेपानि नै बस्ने ३१ वर्षका दिनेश बढुवाल रहेका छन् ।

पक्राउ परेका तीनै जना यसअघि पनि विभिन्न मुद्धामा कैद भुक्तान गरि छुटेको प्रहरीले जनायो ।

चोरी नं ४

भदौ ३१ गते राति सिर्जना चोक स्थित जनएकता सहकारीबा ९ लाख चोरी भयो । संस्थाबाट रकम चोरी गर्नेहरुलाई कास्की प्रहरीले पक्राउ गर्यो ।

पक्राउ पर्नेमा पोखरा ६ गौरीघाट बस्ने वर्ष १८ का कमल ठगुन्ना रहेका छन् । उनको साथबाट प्रहरीले ५ लाख ३८ हजार ८० रुपैया समेत बरामद गरेको थियो ।

सहकारीको सटर फोडेर भित्र पसी टेवलको घर्राबाट उनीहरुले रकम चोरेका थिए । सहकारीले सामान्य सुरक्षा नअपनाएको हुनले पनि सजिलै चोरी भएको थियो ।

योजना गर्दै गर्दा पक्राउ

०७५ भदौ २१ मा १२ः३० बजे चिप्लेढुङ्गा, न्यूरोडमा प्रहरीले २ युवती र १ युवकको शंकास्पद गतिविधि देख्छन् । शंका लागेर सोधपुछ गर्न खोज्दा उनीहरु भाग्न कोशिस गरेपनि प्रहरी फन्दामा पर्छन् ।

पक्राउ पश्चात् सोधपुछ गर्दा उनीहरुले मुक्तिनाथ बैंक चोरी गर्ने योजना बनाएको र विभिन्न समयमा रेकी गर्ने गरेको बताएको प्रहरीले उल्लेख गरेको छ ।

पक्राउ पर्नेमा पोखरा १४ काजिपोखरी बस्ने २१ वर्षका सन्देश गुरुङ, म्याग्दी जलजला ६ बस्ने वर्ष २० कि सुनिता पुन मगर र पोखरा ९ नयाँबजार बस्ने १९ वर्षकी सुचित्रा थकाली हुन् ।

प्रहरी कार्ययोजना अनुसार अघि बढेको छ

रविन्द्रमान गुरुङ
प्रवक्ता तथा डिएसपी
जिल्ला प्रहरी कार्यालय कास्की

विशेषगरी भदौपछि चाडपर्व सुरु भएका छन् । साउन र भदौमा मात्र १५ बढी घटना भए । यस्तो बेलामा सबै सतर्क हुनुपर्छ । प्रहरी पनि यो समयमा हाइ अलर्ट भएर खटिएका हुन्छन् ।

हामीले सामाजिक संघसंस्थासँग मिलेर कार्यक्रम पनि गरेका छौं । चाडपर्वलाई लक्षित गर्दे कार्ययोजना पनि बनाएका छौं । सोही कार्ययोजना अन्तर्गत हामी सक्रिय छौं ।

चोरी आफैंमा गाह्रो विषय हो । चोरी घटनाबारे मुख्य सूचना समाज र स्थानीय व्यक्ति नै हुन् । शंकास्पद व्यक्तिहरु छन् भने प्रहरीलाई गोप्य रुपमा जानकारी गराइदिनु भो भने घटनामा अवश्य कमि आउँछ ।

 

कति बजे कस्तो समयमा चोरी हुन सक्छ ?

चाडपर्वको आगमनसँगै कास्कीमा मात्र होइन देशभरी चोरीको घटना बढ्छन् । सामान्य कुराको ध्यान नदिँदा चोरी हुने गरेको प्रहरी अधिकृत बताउँछन् । हुन त, चोरी नियन्त्रण गर्ने र चोर समाउने जिम्मा प्रहरीको हो ।

तर स्थानीयनै सजक भए भने ५० प्रतिशत भन्दा धेरै चोरीको घटना कम हुने वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्की बताउँछन् । ‘यति वेला चोरले पैसा, सुन र इलोट्रोनिक समानमा बढि ध्यान दिएको पाइन्छ,’ उनले भने, ‘यी सामान सजिलै बोक्न सकिने हँुदा यसमा चोरको आकर्षण बढेको हो ।’

डिएसपी कार्कीका अनुसार सहरी क्षेत्रमा दिउसो १ बजेदेखि ३ बजेसम्म र राती १ बजेपछि चोरी हुने गरेको छ । ‘घरमा कोही नभएको मौका पारेर १ बजेदेखि ३ बजे भित्र धेरै चोरी भएको पाइन्छ र सहरी क्षेत्रमा राती १२ बजेसम्म प्राय मान्छे नसुत्ने भएकाले १ बजेपछि चोरी हुने गरेको छ ।’

ग्रामीण क्षेत्रमा भने अली फरक रहेको उनी सुनाउँछन् । ‘सहरको तुलनामा गाउँमा धेरै चोरी हुने समय फरक छ,’ उनले भने, ‘गाउँमा मान्छेहरु छिटै सुत्छन्, त्यही भएर ११ बजेदेखि ३ बजेसम्म धेरै चोरी भएको पाइन्छ ।’

चोरी गर्न सजिलो हुने ठाउँमा नै चोर आउने उनको भनाई थियो । ‘साँघुरो गल्ली, बत्ती नभएको ठाउँमा धेरै चोरी हुन्छ,’ उनले भने, ‘अब प्रत्येक गल्लीमा बत्ती र सकिन्छ भने प्रत्येकका घरमा सीसी क्यामेरा केही नभए टोल टोलमा सीसी क्यामेरा भयो भने ५० प्रतिशत चोरीको घटना कम हुन्छ ।’

चोरीको घटना कम गराउन स्थानीयकै महत्वपूर्ण भूमिका रहने उनले बताए । ‘आफूले घर छोडर जाने वेलामा कि नजिकैको प्रहरीकहाँ खबर गर्नुप¥यो होइन भने छिमेकीलाई भन्नुप¥यो,’ उनले भने, ‘त्यति मात्र गर्न सकियो भने चोरीको घटनामा धेरै नियन्त्रण आउँछ ।’

विशेषगरी गरि इलोक्ट्रोनिक समानहरुमा सुरक्षा अपनाउन सकिने उनले बताए । ‘मोबाइल र ल्यापटपमा सुरक्षाको लागि एप राख्न सकिन्छ, जसले गर्दा समान चोरी भएपछि पत्ता लगाउन सजिलो हुन्छ,’ उनले भने, ‘सानो कुरामा ध्यान पु¥याउने हो भने ठूलो क्षती हुनबाट रोकिन्छ ।’

त्यसैगरी घर भाडामा दिँदा ख्याल गर्नुपर्ने उनले सुनाए । ‘को मान्छे घर भाडामा बसेको छ, उसको सबै जानकारी राख्नु पर्छ,’ उनले भने, ‘कुनै त्यस्तो शंका लागेमा तुरुन्तै प्रहरीलाई खबर गर्नुपर्छ ।’

चोरीको तथ्यांक बढ्दो

गएको ३ वर्षको तथ्यांक हेर्ने हो भने कास्कीमा चोरीका घटनाको तथ्यांक बढ्दो छ ।

आव ०७२/७३मा ३० वटा चोरीका घटना भएका थिए । उक्त संख्या बढेर ४९ पुग्यो आव ०७३ /७४मा । चोरीका घटना ०७४/०७५मा बढेर ६२ पुगेको देखिन्छ । अहिलेको आर्थिक वर्ष चलिरहँदा १२ वटा चोरीका घटना भइसकेका छन् ।

मुलुकी अपराध ऐन २०७४ अनुसार चोरी गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षदेखि सात वर्षसम्म कैद र बिस हजार रुपैयाँदेखि सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.