www.tandavnews.com
Fact ~ In search of truth

छिमेकीको करोडौँ कुम्ल्याएर दम्पती फरार

नवलपरासी ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक दम्पती करोडौँ  रुपैयाँ ठगेर फरार भएका छन ।

दम्पती प्रेम सापकोटा र भगवती सापकोटाले  एक करोड ६७ लाख ठगी गरेको भन्दै उनीहरु विरुद्ध कावासोती नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ ।

Batas

छिमेकी तथा आफन्त सहित ३२ जनाबाट विभिन्न बहाना बनाएर करोडौँ रुपैयाँ सापटी लिई सापकोटा दम्पती सम्पर्कबिहीन भएका छन् । कावासोती नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक प्रेमशङ्कर मर्दनियाले सो विषयबारे छलफल भइरहेको बताए ।

सापकोटा दम्पतीले विभिन्न पसलबाट सामान खरिद गरेर रकम तिरेका छैनन् । अधिकांशले कागज नगरी सापकोटा दम्पतीलाई रकम दिएका छन् । सबैभन्दा बढी कावासोती–८ का सुनिता तिमिल्सिनाले उनीहरुलाई ३० लाख रुपैयाँ दिएको बताइएको छ ।

“सापकोटा दम्पतीले छोरालाई विदेश पठाउन भनी दुई÷चार दिनमै रकम फिर्ता गर्ने गरी सापटीस्वरुप रकम मागेका हुन्,” पडित तिमिल्सिनाले भनिन् । केही समय अघि घर बिक्री गरेकी उनले कुनै प्रमाण नराखी रकम दिएकी छिन।

यस्तै स्थानीयवासी झवकला तिवारीले सापकोटा दम्पतीलाई रु २५ लाख दिएका छन् । यस्तै अन्यको ५० हजारदेखि १० लाख सम्म रकम लिएर सापकोटा दम्पती फरार भएका हुन।

सापकोटा दम्पतीले छिमेकी र आफन्तबाट सहकारीको ऋण तिर्न, छोरा विदेश पठाउन, छोराछोरीको पढाइ खर्च तिर्न, उपचार गर्ने बहानामा रकम सापट माग्ने गरेका थिए ।

“छरछिमेकमा सरसापटी चलाउनु पर्छ भन्ने सोचेर कागज नगरी पैसा दियौँ,” पीडित सुना चापागार्इंले भने । उनले सापकोटा दम्पतीलाई ३० लाख दिएको बताए । सापकोटा दम्पतीले कावासोतीको घर बिक्री गरी गत जेठदेखि फरार छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले लेनदेनको विषयमा आवश्यक प्रमाण नभएको खण्डमा जाहेरी लिन नमिल्ने व्यवस्था अनुसार सापकोटा दम्पती विरुद्ध जाहेरी नलिएको बताए । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.