www.tandavnews.com
Fact ~ In search of truth

पाका पुस्तालाई मन पर्दैन अहिलेको दशैं चलन

सञ्जय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

तीज सकिने बित्तिकै ठूलो चाड दशैंले गाउँ सहरलाई घम्लङ्गै अँगालो हालिसकेको छ । लाहुरे दसैं मान्नको लागि स्वदेश फर्कन थालेका छन् । दशैंका लागि आवश्यक पर्ने सामान किन्नेको भिड बजारमा उत्तिकै छ । व्यवसाय गर्नेहरु व्यस्त देखिन्छन् । अनि व्यस्त छ सहर पनि ।

व्यस्त बजारलाई नियाल्दा दशैं खर्चिलो बन्दै गइरहेको प्रस्टै देख्न सकिन्छ । दशैँको रमझम बढी भड्किलो र खर्चिलो बन्दै जान थालेको छ । यसले गर्दा हुनेखानेलाई भन्दा पनि हुँदा खानेलाई पीडा दिएको छ । बिहान बेलुका जसोतसो हातमुख जोड्नेलाई दशैं दशा बनेको छ ।

Batas

आडैमा रहेका छिमेकीले तामझामका साथ दशैँ मनाउँदा त्यही छिमेकमा रहेको गरिब परिवार निरीह बन्छ, बाध्यता ऋणमै गाडिएर भएपनि छोरीछोरीलाई खुसी दिन भड्किलो दशैँ मनाउन बाध्य हुन्छ । दिनभरी गरेको श्रमले बेलुकालाई चामल किनेर पानीमा नुन घोलेर तरकारी मानेर खाने परिवारलाई छिमेकीको घरमा ढलाइने खसीले गिज्याइरहेको हुन्छ ।

चाडहरू सरल र सस्तो हिसाबले मनाउने परम्पराको थालनी गर्नुपर्ने आवश्यक छ । किनकि हाम्रो जस्तो गरिबीको सङ्ख्या धेरै भएको देशमा दशैँ ‘दशा’ पनि सावित हुन पुगेको छ । समाजका पाका पुस्तालाई पनि दशैँको भड्किलो शैली मन परेको छैन ।

‘घाँटी हेरेर हाड निल्नु’ भन्ने नेपाली उक्तिको सन्देश पनि बिलीन भएको उनीहरुलाई लाग्छ । हुने खानेहरुले दशैँलाई पैसाको रवाफसँग तौलेको देख्दा, हुँदा खानेहरु पनि सकी नसकी मिठो मसिनो खान र नयाँ लुगा किन्न विवश बनाइँदा समाजमा धनी र गरिबबीचको अन्तर झनै मौलाउँदो अवस्थामा पुगेको छ ।

पर्वतको कुश्मा नगरपालिका – २ खुरकोटका रमाकान्त उपाध्याय पनि आजभोलि भित्रिएको भड्किलो शैली देखेर निराश छन् ।

उमेरले ८६ वर्षमा पुगेको पौडेलको सम्झानामा ८१ वटा दशैँ छन् । उनले आफूले ५ वर्षको हुँदा मनाएको दशैँ सम्झिन्छन् पनि । ८६ वर्षको उमेरसम्म आइपुग्दा उनले हरेक दशैँका तितामिठा अनुभव सँगालेका छन् ।

आजभोलि हरेक चाडपर्वलाई मादक पदार्थ सेवनको अवसरको रुपमा विकास गरिएकोप्रति उनी चिन्तित छन् । भन्छन्, ‘आजभोलि त जमाना पनि के भएको हो कुन्नी ? रक्सी नखाएसम्म त चाडै मनाउन नसकिने जस्तो देख्छु म त ।’ आजकल चाडपर्वलाई केलाउँदै गर्दा उनले आप्mनो पुरानो जमानाको दशैँ पनि सम्झिन भ्याए, ‘ऊ बेलामा पनि मासु त हुन्थ्यो तर अहिलेको जस्तो पूरै मांशाहारी मान्छे थिएनन् । दशैँमा कसैको घरमा खीर पाक्थ्यो, सेल रोटी भनेपछि मुख्य प्रसाद हुन्थ्यो । सबै साथीभाइबीच भेटघाट हुन्थ्यो । त्यो पो थियो रमाइलो त ।’

आजभोलिको दशैँ खुसी र मित्रतामा भन्दा पनि पैसामा धानिएको उनको विश्लेषण छ । उपाध्याय ५ वर्षको हुने बेलामा दशैँमा टीका लगाएर दिइने एक मोहोर निकै ठूलो थियो । त्यो बेलामा सामान्य रुपमा मात्र नयाँ लुगा किनिन्थे, घरबुना कपडा लगाइन्थे ।

अनि दशैँको रन्को पनि अहिले जस्तो एक महिना अगाडि हुँदैनथ्यो । ‘अहिलेका मान्छे पहिलेका भन्दा धनी भएर पनि होला कत्ति खर्च गर्न मन लागेको होला ? हाम्रा बेलामा त एकजोर नयाँ कपडा जति पनि पुग्थ्यो । अहिले त हजारौँ रुपैयाँका त कपडा मात्र किन्छन्,’ उनी भन्छन् ।

त्यो बेलामा खेलेका तौले पिङ, रोटे पिङ, लिंगे पिङ आजभोलि हराउनुले संस्कृति र परम्परा धान्ने शैली नयाँ पुस्तामा नआएको उनको ठम्याइ छ । बाहिरको चलन भित्रिएकै कारण गाउँका परम्परागत चलन र संस्कृति हराएको उनी बताउँछन् ।

दशैँले आनन्ददायी मनोरञ्जन, रिल्याक्स र मोजमस्ती मात्र जिन्दगी होइन भन्ने अनुभूति गराउनुपर्ने र नयाँ पुस्तामा संस्कृति संहाल्ने क्षमता दिनुपर्ने नारायण माध्यामिक विद्यालयका पूर्व प्राचार्य पृथ्वीनारायण शर्मा सुझाउँछन् । चाडबाडसँग जोडिएको नकारात्मक पाटाहरूलाई नकेलाउने हो भने हाम्रो मौलिक संस्कृति नै लोप हुने खतरामा पुग्ने उनको भनाई छ ।

चाड मनाउनका लागि जाँड रक्सीको बढी प्रयोग गर्ने, मागेर, चोरेर भए पनि राम्रै लाउने र राम्रै खाने, धाक रवाफ देखाउनै पर्ने, जुवातासलाई संस्कारको रूपमा खेल्ने/खेलाउने, धर्मको नाममा अनावश्यक बली चढाउने र धार्मिक स्थलहरू वरिपरि दुर्गन्ध फैलाउने आदि कामहरू हटाउँदै जानुपर्ने शर्मा बताउँछन् ।

आफ्नै सांस्कृतिक महिमा बोकेका कारणले पेसा वा व्यवसाय गर्न घरदेखि टाढा टाढा गएका परिवारका सदस्यहरू जम्मा हुने, आफ्ना तितामिठा भावनाहरू तथा कथाव्यथाहरू र अनुभवहरू साटासाट गर्ने मिठो खाने कुराहरू विशेष गरी मासु, दूध, दही, फलफूल, अचार तथा मिठाइका परिकारहरूलाई आपसमा रमाइलो गरी खाने कुराले दशैँ र अन्य चाडको विशेष महत्व छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.