www.tandavnews.com
Fact ~ In search of truth

बलात्कार प्रकरण : धनुषामा १० वर्षीया बालिका मनिकाको बलात्कारपछि हत्या, हत्यारा पक्राउ

धनुषा ।

दिनदिनै बढेको बलात्कारपछिको हत्याले सुरक्षा चुनौती थपिएका बेला फेरि अर्को हत्या भएको छ ।

धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कार पश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् ।

Batas

हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार ( हिजो )पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताएका छन् । पक्राउ पर्ने दुवै मृतक बालिकाका छिमेकी हुन् ।

उपरीक्षक थपलियाका अनुसार प्रलोभनमा पारेर शुक्रबार साँझ मनिकालाई घर बाहिर लगी बलात्कारपछि हत्या गरिएको हो । मुखियालाई जनकपुरबाट र पण्डितलाई गाउँबाटै शनिबार हिजो पक्राउ गरिएको थपलियाले बताए । मुखिया यसअघि पनि गोली प्रहार तथा लुटपाटसम्बन्धी मुद्दामा १० वर्ष जेल सजाय काटिसकेका व्यक्ति हुन् ।

आरोपितले मनिकालाई गाउँमै लागेको दुर्गा पूजाको मेला हेर्न र चाउमिन खुवाउने प्रलोभन देखाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
शुक्रबारदेखि छोरी हराइरहेको भनी मृतक बालिकाको अभिभावकले छोरी हराएको उजुरी गर्न इलाका प्रहरी कार्यालय औरही पुगेपछि बालिकाको खोजीकार्य शुरु गरिएको थियो ।

स्थानीयवासीले मनिकाको शव धानबालीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको प्रकृति मुचुल्का उठाइ शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको जनाएको छ ।

यस अघि कन्चनपुरको भिमदत्तनगरमा गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।

हाल सम्म उनको हत्यारालाई प्रहरीले पक्रिन सकेको छैन यद्यपी अनुसन्धान जारी रहेको छ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.