www.tandavnews.com
Fact ~ In search of truth

पर्यटकीय गन्तव्य बन्दै तनहुँको शहीद शान्ति पार्क

दमौली ।

कृष्ण न्यौपाने

तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ ।

Batas

सदरमुकाम दमौली बजार स्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादी नदी र दक्षिणमा दमौली बजार भित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब आठ हेक्टर क्षेत्रफल भित्र तनहुँ कालिका शहीद शान्ति पार्क पर्दछ ।

दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने यस पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य सहित विभिन्न संरचना निर्माण गरिएको छ । यस ठाउँबाट दमौली बजार लगायत आसपासका बस्ती, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट, गलेखामकोट लगायतका पर्यटकीयस्थल अवलोकन गर्न सकिन्छ ।

यस ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन लागिपरेको पार्कका अध्यक्ष मोतीकुमार श्रेष्ठ बताउछन् ।पार्कको वृहत्तर विकासका लागि गुरु योजना समेत बनाइएको छ । गुरुयोजनाले पार्कलाई पाँच भागमा विभाजन गरी त्यसभित्र बन्ने संरचनालाई समावेश गरेको छ ।

गुरुयोजनाअनुसार मन्दिर बाहेकका अन्य संरचना निर्माणमा करीब रु चार करोड ८५ लाख १५ हजार ७ सय ७६ बजेट आवश्यक पर्ने समितिका कोषाध्यक्ष एकबहादुर रानाले बताए ।

विसं २०६३ भदौ १३ गते सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रम र स्थानीय उपभोक्ताको जनसहभागितामा ३६ वर्ग फिटको टिनको छानो भएको तनहुँ कालिका मन्दिरको स्थापना भएको थियो । हाल उक्त मन्दिरको पुनःनिर्माणको काम भइरहेको छ ।

आर्थिक वर्ष २०७४÷७५ को असार सम्ममा व्यास नगरपालिकाबाट अनुदान सापटी र सहयोग गरी प्राप्त रु ४४ लाख ६४ हजारको लागतमा मन्दिरमा झ्यालढोका, टुँडाल, बुट्टेदार इँट्टा, मूर्ति खरिदलगायतका काम भएको छ ।

पार्क स्थापना भएदेखि हालसम्म पार्कको विकासका लागि रु दुई करोड ३७ लाख २२ हजार ८ सय ५६ प्राप्त भएको र रु दुई करोड ३४ लाख तीन हजार ४ सय २३ खर्च भएको कोषाध्यक्ष रानाले जानकारी दिए ।

जसअनुसार मन्दिर निर्माणमा रु एक करोड १० लाख ३८ हजार ६ सय ६८, पिकनिक स्थल निर्माणमा रु १६ लाख एक हजार ४ सय ८५, खानेपानी व्यवस्थापनमा रु १० लाख ९३ हजार ५ सय ५२, रिटेनिङवालमा रु ७८ लाख १६ हजार ३ सय ६३ खर्च भएको छ ।

व्यास नगरपालिका–४ का वडाध्यक्ष एवं पार्कका पूर्व महासचिव विश्व न्यौपाने दमौली बजारलाई आन्तरिक पर्यटनको केन्द्र बनाउन यस पार्कले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले दमौलीको परिचय स्थापित यस ठाउँले गर्ने भएकाले नगरपालिकाले सदैव यसको विकासमा सहयोग गर्ने बताए । उनले गुरुयोजनाअनुसार काम गर्दै गए यसलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउन सकिने बताउछन् ।

तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ पार्क दमौलीको मात्र नभई तनहुँकै धार्मिक पर्यटनको गन्तव्य बन्न सक्ने बताउनछन ।

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट यस ठाउँलाई एक सय नयाँ गन्तव्यभित्र पारेको जानकारी दिदैँ यसलाई गुरुयोजनाअनुसार विकास गर्दै जाने बताए ।   रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.