www.tandavnews.com
Fact ~ In search of truth

नारायणीमा नयाँ पुल बनाइने

चितवन ।

चितवनको नारायणगढ र नवलपरासीको गैँडाकोट जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणी पुल साँघुरो बन्दै गएपछि नयाँ पुल निर्माणको तयारी थालिएको छ ।

चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैंँडाकोट नगरपालिकामा मानवबस्ती र बजार बढ्दै गएपछि पुल साँघुरो भएको हो । यससँगै पूर्व–पश्चिम यात्रा गर्ने सवारीको चाप पनि बढ्दै गएको छ । पुलमा दैनिकजसो सवारी आवागमनमा समस्या हुने गरेको स्थानीयवासी बताउँछन् ।

Batas

सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख अर्जुनजङ्ग थापाका अनुसार पुलले धान्न सक्ने क्षमता घट्दै गएका कारण नयाँ पुलको नक्साङ्कनको काम शुरु गरिँदै छ । सोही पुलको समानान्तर उत्तर वा दक्षिणबाट पुल निर्माण गर्ने तयारी गरिएको छ ।

हालको सो पुल दुई लेनको हो । चार लेनको पुल बनाउने तयारी गरिएको छ । हाल सञ्चालनमा रहेको पुललाई थप मर्मत सम्भार गरी दुबै पुल सञ्चालन गरिने उहाँले बताउनुभयो । विसं २०३८ मा सो पुल निर्माण गरिएको हो । पुलको भार बहन क्षमताको आयु भने ८० वर्ष हुने प्राविधिक बताउँछन् ।

थापाका अनुसार दैनिक १० हजार हाराहारी सवारी धान्ने गरी दुई लेनको पुलनिर्माण गरिएको भएपनि हाल सवारी सङ्ख्या बढेपछि आवागमनमा समस्या भएको हो । नारायणीसहित देशका विभिन्न १० नदीमा अत्याधुनिक आकर्षक पुल निर्माण गर्ने तयारी गरिएको छ ।

विश्व बैंकको सहयोगमा पुल निर्माण गरिने उपमहानिर्देशक थापाले जानकारी दिए। आउँदो आर्थिक वर्षभित्रमा नक्साङ्कन सम्पन्न गरी बोलपत्र आह्वान गर्ने तयारी भइरहेको बताइएको छ ।

नारायणीसँगै बुटवलसम्मका अन्य पुल पनि नयाँ बनाउने तयारी गरिएको छ । पुलको नक्साङ्कनका लागि विदेशी विज्ञले काम शुरु गरेको थापाको भनाई छ । (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.