www.tandavnews.com
Fact ~ In search of truth

रक्तदानकै दिन पोखराका जितेन्द्रमानले गर्छन सय किमी साइकिलिङ

दमौली ।
पोखरा महानगरपालिका–८ न्यूरोड निवासी जितेन्द्रमान शाक्य उमेरले ४९ वर्ष पुगे । उनले हालसम्म ६५ पटक रक्तदान गरिसकेका छन् ।

पोखरामा आयोजना हुने रक्तदान कार्यक्रममा रक्तदान गर्दै आएका उनले रगतको अभावमा कोही कसैले अकालमा ज्यान गुमाउन नपरोस् भनेर जनचेतना जगाउँदै आएका छन् ।

रगत दान गरेपछि मान्छे कमजोर हुन्छ भन्ने भ्रम अझै पनि समाजमा कायमै छ । कसैलाई रगतको अभाव भएको खण्डमा हत्तपत्त मानिस रगत दिन अगाडि सर्दैनन् । त्यही भ्रमलाई चिर्दै रक्तदानको प्रेरणा जगाउन शाक्यले हरेक पटक रक्तदान गरेपछि एक सय किलोमिटर साइकल यात्रा गर्दै आएका छन् ।

Batas

शनिबार रेडियो अन्नपूर्णले पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ६५औँ पटक रक्तदान गरेपछि दमौलीसम्मको साइकलयात्रामा निस्केका उनले रक्तदान गरिसकेपछि मानिस कमजोर हुन्छ भन्ने मानसिकता हटाउन साइकलयात्रा गरेको बताए ।

उनले भने, “हरेक पटक रक्तदान गरिसकेपछि एक सय किलोमिटरको साइकलयात्रा गर्ने गरेको छु । यसको मुख्य उद्देश्य रक्तदानले मानिस कमजोर हुन्छ भन्ने भ्रम चिर्नु हो ।”लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष एवं साइकल सिटी पोखराका निवर्तमान अध्यक्षसमेत रहेका उनले रक्तदानले मानिसलाई थप स्वस्थ बनाउन सहयोग पुग्ने बताए ।

पोखरादेखि दमौलीसम्मको ४९ किमी यात्रा उनले साइकलमा करीब दुई घण्टाको अवधिमा पूरा गरे । त्यस्तै दमौलीदेखि पोखरासम्म फर्कदा तीन घण्टा १५ मिनेट लाग्यो । नेपाल रक्तदाता स्वयंसेवी समाजमा आबद्ध रहेका उनले रगतको अभाव हुँदा बिरामीलाई रगतको व्यवस्था मिलाउने सहजीकरणसमेत गर्दै आएका छन ।

उनले भने, “पोखरामा कसैलाई रगत चाहिएको खण्डमा मलाई सम्पर्क गर्दै आएका छन । मैले त्यस्ता व्यक्तिलाई रगतको प्रबन्ध मिलाइदिनेसमेत गरेको छु ।” रासस

फोटो :फेसबुकबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.