www.tandavnews.com
Fact ~ In search of truth

नवलपुर : प्रदेश राजधानी जोड्ने सडक निर्माणको कामले गति लिन सकेन

कावासोती ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरासँग जोड्ने सडक निर्माणको कामले गति लिन सकेको छैन । आफ्नै प्रदेशको बाटो हुँदै राजधानी पोखरासम्म पुग्ने सडकको रुपमा लिइएको कावासोती–बोझापोखरी हुँदै कोखेटारसम्मको सडक निर्माणको कामले गति लिन नसकेको हो ।

कावासोतीको फलफूल चोक–बोझापोखरी–कोखेटार हुँदै निर्माणधीन कालीगण्डकी करिडोरमा यो सडक जोडिन्छ । बुलिङटारमा कालीगण्डकी करोडरमा जोडिने सडक डेढगाउँबाट तनहूँको भीभाद हुँदै खैरेनिटार निस्किन्छ । यसले नवलपुरलाई गण्डकी प्रदेशको राजधानीसँग सिधैँ जोड्ने छ । हाल यहाँका बासिन्दा चितवन मुग्लिङहुँदै वा बुटवल–स्याङ्जा हुँदै पोखरा पुग्नुपर्ने अवस्था रहेको छ ।

Batas

जिल्लालाई प्रदेशसँग जोड्ने महत्वपूर्ण सकडका रुपमा हेरिएको भए पनि सडक निर्माणको कामले भने गति लिनसकेको छैन । विसं २०७४ जेठ ३१ गते ठेक्का सम्झौता भएको कावासोती–कोखेटार सडक निर्माणको काम विसं २०७७ जेठ मसान्तसम्ममा सकिसक्नुपर्ने तर यो अवधिमा निर्माणको काम नसकिएपछि यसै वर्षको चैत १३ गते सम्मका लागि म्याद थप गरिएको सडक डिभिजन कार्यालय बुटलका इन्जिनीयर सागर पोखे्रलले बताए ।

कावासोती–बोझापोखरी र बोझापोखरी–कोखेटार गरी सडक निर्माणको कामलाई दुई खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा कावासोतीको फलफूल चोकदेखि १४ किलोमिटर कालोपत्र र तेसपछिको ६ किलोमिटर ग्राभेल यस्तै दोस्रो खण्डमा सबै २० किलिमिटर ग्राभेल गर्ने गरी ठेक्का सम्झौता भएर काम अगाडि बढेको तर हालसम्म पहिलो खण्डमा २० प्रतिशत र दोस्रो खण्डमा करिब ६० प्रतिशत मात्रै काम भएको छ ।

पहिलो खण्डमा सन्तोसी–रौताहा–हरिहर जेभी र दोस्रो खण्डमा पप्पुकोशी–न्यौपाने–बन्धन भगवती जेभीले काम गरिरहेका छन् । ठेकेदार कम्पनीले निर्माणको काम सुस्तगतिमा गर्दासमेत प्रगति राम्रो देखिएको छैन । केही समय कोभिडले समेत निर्माणको कामलाई प्रभाव पारेको इञ्जिनीयर पोखरेलले बताए ।

यस्तै पहिले सडक डिभिजन कार्यलय बुटवलबाट निर्माणको काम भएकोमा बिचमा गण्डकी प्रदेश सरकारमार्फत काम गरिएको थियो । अहिले पुनः सडक डिभिजन कार्यालय बुटवलमार्फत काम शुरु भएको पोखरेलले बताउए । सडक निर्माणको अख्तियारीले समेत केही अलमल भएको उनले बताए । अहिले निर्माणको कामले गति र थपिएको अवधिमासमेत निर्माणको काम सम्पन्न हुनसक्ने अवस्था भने देखिएको छैन् । पहिलो खण्डको कालोपत्र गर्ने क्षेत्रमा अझै नाला निर्माणको काम पूरा हुन सकेको छैन् ।

दोस्रो खण्डमा सडक चौडा पार्ने काम, पहिरो रोकथामको कामलगायत काम अझै बाँकिनै रहेको छ । नवलपुरको पहाडी क्षेत्रको ‘लाइफलाइन’को रुपमा हेरिएको सडक निर्माणले गति लिन नसक्दा स्थानीयवासी भने निराश भएका छन् ।

वर्षौं पछि सडक निर्माणको काम थालनी भएको तर समयमा काम पूरा नहुनु दुःखको कुरा भएको नेकपाका जिल्ला नेता भीमलाल कँडेलले बताए । निर्माणाधीन ४० किलोमिटर लम्बाइमा समेत पूरै भाग कालोपत्र नगरिदा यस क्षेत्रका बासिन्दा धुलोमै हिँडनुपर्ने अवस्था कायमै रहनेमा उनले चिन्ता व्यक्त गरे । प्रदेश राजधानी जोड्ने जिल्लाको प्रमुख सडक भएकाले ४० किलोमिटर पूरै खण्ड कालोपत्र गर्ने गरी बजेट थप गरी काम हुनुपर्ने उनले बताए ।

दुवै खण्डगरी कूल रु ८४ करोड ९८लाख ८ हजार २४१ मा सडक निर्माणका लागि ठेक्का सम्झौता भएको हो । सडकको चौडाइ थोरै भएकाले बढाउनुपर्ने कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताइन् । आयोजना निर्माणका क्रममा सडक खण्ड अन्तर्गतको सार्वजनिक सम्पतिको अभिलेखिकरण प्रष्ट गर्नुपर्ने, निजी सम्पतिमा हुने क्षतिपूर्तिको उचित मूल्याङ्कनसहित मुआब्जा दिनुपर्ने र सरोकारवालासँग समन्वय गरी आउने अवरोधको पूर्ववत् रुपमै छलफल गरी समयमै सडक निर्माणको काम सक्नको लागि लाग्नुपर्ने उनले बताइन् ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.