www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओलीकाे स्वास्थ्यबारे अस्पतालकाे रिपाेर्ट

प्रकाश सिलवाल
काठमाडौँ ।

छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उनकोे शरीरमा ‘लोयर रेस्पिरेटरी ट्राक इन्फेक्सन’ (एलआरटिआइ) का कारण चिनीको मात्रा असन्तुलित भएकाले ‘एन्टी बायोटिक इन्सुलेन्स’ दिइ सूक्ष्म अवलोकनका लागि राखिएको हो । गत शुक्रबारदेखि सामान्य अस्वस्थ्य हुनुभएका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीलाई आज बिहान ०४ः३० बजे उक्त अस्पतालको ‘मनमोहन कार्डियोथोरासिस भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ को ‘मोबाइल कोरोनेरी केयर युनिट’ (एमसिसियु) मा राखिएको छ ।

Batas

सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले उनकोे छातीमा भएको सङ्क्रमणमा क्रमिक सुधार आएको र अरु स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । प्रा.डा श्रेष्ठले केही दिनमै प्रधानमन्त्री ओली स्वास्थ्यलाभ गरी निवास फर्कने अपेक्षा गरे । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे दैनिक दुई पटक प्रेस विज्ञप्तिमार्फत जानकारी दिने जनाएको छ ।

प्रधानमन्त्री ओलीको उपचारका लागि वरिष्ठ कार्डियोलोजिष्ट डा अरुण सायमीको संयोजकत्वमा निजी चिकित्सक डा दिव्या सिंह र डा सन्त दास सम्मिलित तीन सदस्यीय टोली गठन गरिएको छ । डा सायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा चिनीको मात्रा (सुगर) गएराति ३०० मिलिग्राम देखिएकामा अहिले क्रमशः सन्तुलित हुन थालेको छ ।

प्रधानमन्त्रीलाई उपचारका लागि विदेश लैजानुपार्ला की भन्ने पत्रकारको जिज्ञाशामा उनका निजी चिकित्सक डा सिंहले शिक्षण अस्पतालको ‘अब्जर्भेसन’ पछि यसबारेमा थाहा हुने प्रतिक्रिया दिरे। डा सिंहले ओलीलाई एमसिसियुमा राख्नुपर्ने अवस्था नरहे पनि भेटघाटका लागि आउने भीडका कारण थप सङ्क्रमण हुनसक्ने भएकाले उक्त कक्षमा आराम गराई उपचार गराइएको जानकारी दिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मौसमी रुघाखोकी र हल्का ज्वरो कम नभएकाले प्रधानमन्त्री ओली बिहान आफैँ गाडीमा बसेर अस्पताल गएकाले उनको स्वास्थ्य अवस्था गम्भीर नरहेको बताए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत वरिष्ठ नेताहरु तथा मन्त्रिगण अस्पताल पुगेका थिए । उनलाई भेटेर फर्किएका नेकपाका नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्री ओली कुराकानी गर्ने, आफैँ शौचालय जानसक्ने अवस्थामा रहेको राससलाई बताए ।

अस्पताल पुगेका नेकपाका नेता केशव बडालले भने उपचारमा रहेका प्रधानमन्त्रीलाई भेट्न भीडभाडले गर्दा थप सङ्क्रमण हुनसक्ने भएकाले आरामका साथ उपचार गर्न दिइनुपर्ने बताए ।

मिर्गाैला प्रत्यारोपण गरिएका कारण प्रधानमन्त्री ओली विगतमा ‘फलोअप’ का लागि थाइल्याण्डको बैंकक जाने गर्थे । दशैँमा गृहजिल्ला झापा पुगी फर्किएर काठमाडौँ टीकाटालो गनुर्का साथै कार्यकर्ता र सर्वसाधारणलाई दैनिक टीका लगाएका कारण उनलाई धपेडी भएको थियो ।

त्यहीबीचमा नेकपा सचिवालयको बैठकमा उनी सहभागी भएका थियो । अस्वस्थताका कारण प्रधानमन्त्री ओली नेकपाले यही कात्तिक १० गते आयोजना गरेको चियापान कार्यक्रममा अनुपस्थित भए तर राष्ट्रपति विद्यादेवी भण्डारीको आजदेखि हुने मित्रराष्ट्र कतारको औपचारिक भ्रमण स्वीकृत गर्नेलगायत कार्यसूचीका लागि आइतबार प्रधानमन्त्री निवास बालुवाटमा मन्त्रिपरिषद्को बैठक बसेको थियो । (रासस)
–––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.