www.tandavnews.com
Fact ~ In search of truth

लक्ष्मीको सङ्गीत सपना

सन्तोष सुवेदी
पाेखरा, ताण्डव न्यूज ।

उबेला बिमाकुमारी दुराले गाएको गीत ‘लमजुङ तुर्लुङ्ग कोट’ निकै चल्तिमा थियो । सबैको मुखमा यही गीत झुन्डिथ्यो । सोही भाका उनले पनि गाउँथिन् । मिठो स्वर, उस्तै बोलीले नै उनी सबैको प्रिय कलाकार बनेकी छन् । उनी, अर्थात् लक्ष्मी नेपाली ।

स्याङ्जामा जन्मिएकी नेपाली सङ्गीत भनेपछि बाल्यकालदेखि नै हुरुक्कै हुन्थिन् । स्कुलमा हुने प्रतियोगितामा त उनी कतिपटक सहभागी भएर पुरस्कार जितिन् त्यसको लेखाजोखा छैन । भन्छिन्, ‘प्रायः प्रतियोगिताबाट रित्तो हात फर्किइन ।’

Batas

घरकी जेठी छोरी पढाइसँगै सङ्गीतलाई पनि निरन्तरता दिँदै आइन् । हरिदेवी कोइराला, बिमाकुमारी दुरा, शर्मिला गुरुङ, लक्ष्मी न्यौपानेका गीत उनले धेरै पटक गुनगुनाउने गर्थिन् । बाल्यकालमा शान्त वातावरण रमाउन मन पराउने उनी घाँसदाउरा गर्दा प्रायः एक्लै जाने गरेको सुनाउँछिन् । ‘एक्लै घाँस काट्न जान्थेँ अनि गीत गाउँथँे । गीत गाउँदा कोही न कोही साथ छ जस्तो भान हुन्थ्यो,’ उनले बाल्यकालको पलहरु सम्झिइन् । यसरी गीत गाउँदा साथीभाइहरुबाट पनि राम्रो सपोर्ट र प्रतिक्रिया पाउने गरेको उनी बताउँछिन् ।

लक्ष्मी लाइभ दोहोरी पनि उत्तिकै राम्रो गाउँछिन् । २०६४ सालमा स्याङ्जा उद्योग वाणिज्य संघले आयोजना गरेको स्याङ्जा महोत्सवमा पहिलो पटक दोहोरी प्रतियोगितामा सहभागी भएकी थिइन् । त्यहाँ उनी तेस्रो भइन् । भन्छिन्, ‘दोहोरी प्रतियोगिताको सुरुआतमा नै हार व्यहोर्नु परेन । जसले गर्दा यस क्षेत्रमा लाग्न अझ प्रेरण मिल्यो ।’

साङ्गीतिक क्षेत्रमा प्रवेश गरेको १० वर्षको अवधिमा उनले ६० भन्दा बढी प्रतियोगितामा सहभागी जनाएको बताउँछिन् । लाइभ दोहोरी र स्वरको रियाच हुने थलो दोहोरी साँझमा पनि उनी लामो समय सक्रिय रहिन् । २०६२ सालमा ‘दौतरी दोहोरी साँझ’ मा गाउन सुरु गरिन् । त्यसपछि केही प्रतिशत लगानी गरेर ‘बिसौनी दोहोरी साँझ’मा लामो समयसम्म आबद्ध रहिन् । ‘शिखर दोहोरी साँझ’ मा पनि एक ढेड वर्ष सञ्चालक भएर काम गरेको अनुभव छ उनीसँग ।

रेकर्ड भएका गीत

दोहोरी प्रतियोगिता र साँझमा आफ्नो प्रतिभा देखाएकी नेपालीलाई विस्तारै एल्बम निकाल्ने रहर पलायो । गीत निकालेसँगै स्टेज कार्यक्रमको पनि पाइने आशा उनमा पनि जागेर आयो । २०६८ सालमा सेन्टिमेन्टल गीत ‘भन्थेऊ धोका दिन्न’ बजारमा ल्याइन् । यसले केही मात्रामा उनलाई चिनाउन सफल भयो । उनको रहर अझै बढेर आयो र अर्को गीत बजारमा ल्याइन् ।

‘धर्मकर्म’ नामक गीत उनको करियरको टर्निङ प्वाइन्ट बन्न पुग्यो । सम्झिन्छन्, ‘यही गीतले मलाई अझै बढी चिनाउन सफल भयो । गीत सुनेर मेलामहोत्सव तिर धेरैले बोलाउन थाल्नुभयो । त्यसैले पनि मलाई यो गीत मेरा अन्य गीतभन्दा अझ विशेष लाग्छ ।’ उनका तीज, दशैं, तिहार लगायत गरी एक दर्जन गीत बजारमा आइसकेका छन् ।

मेलामहोत्सव

गीत गाउनकै लागि भनेर नेपालका थुप्रै मेला महोत्सवमा उनी पुगेकी छिन् । साङ्गीतिक कार्यक्रमको लागि भारत, कतार र थाइल्यान्ड पनि पुगेको उनी बताउँछिन् । गीत गाएर पनि बाच्न सकिने आधार रहेको उनको अनुभव छ । ‘मिहेनत गर्नुप¥यो । एकन एक दिन सफल भइन्छ नै,’ उनी भन्छिन्, ‘आफू सफल हुनको लागि पहिला धैर्यता चाहिन्छ ।’ गीतमा लगानी गरेपनि सोचेजस्तो कमाइ नहुनु बिडम्बना भएपनि स्टेज कार्यक्रमको लागि गीत गर्नुपर्ने उनको भनाइ छ ।

विकृति विसङ्गति

पहिलाभन्दा अहिले गीतमा परिवर्तन आएको उनको ठम्याई छ । तर पनि कतिपय गीतहरु परिवारसँगै बसेर सुन्न र हेर्न नमिल्ने हुँदा दोहोरीलाई फोहोरी बनाउने कार्य भएको हो कि भन्नेमा उनी चिन्तित छन् ।

पछिल्लो समयमा आएका गीत प्रति लक्ष्मी विरह पोख्दै भन्छिन्, ‘लोक गीतमा आधुनिक पाराको गीत आउने थाले । अरुको संस्कृति प्रयोग गर्दा आफ्नो संस्कृति नभुलाँै ।’ प्रविधिले गीत गाउन सजिलो बनाएपनि बिक्री वितरणमा ठूलो प्रभाव पारेको उनको तर्क छ । ‘कमाउने बाटो नै बन्द भएको छ, न भिडियो बिक्छ, न अडियो’ उनी भन्छिन्, ‘ जसले गर्दा गीत सङ्गीतबाट लागेर बाँच्न गाह्रो छ र गीत सङ्गीतबाट कमै मात्र बाँच्न सक्छन् ।’

योजना

जान्ने बुझ्ने भएदेखि गायिका बन्छु भनेर अठोट लिएकी नेपाली यही क्षेत्रलाई निरन्तरता दिइरहने बताउँछिन् । छिट्टै केही नयाँ गीतको तयारीमा रहेको सुनाइन् । पश्चिम पोखरा रेडियोमा आबद्ध समेत रहेकी उनी तत्कालीन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अञ्चल कार्यसमिति गण्डकीको निवर्तमान सदस्य समेत हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.