www.tandavnews.com
Fact ~ In search of truth

महाशिला गाउँपालिकाले दियो ३६६ लाई रोजगारी

पर्वत ।
महाशिला गाउँपालिकाले एकै पटक ३६६ जनालाई रोजगारी दिएको छ । गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रममार्फत रोजगारी दिन थालेको हो ।

गाउँपालिकाले १५ दिन खटाइएको ठाउँमा स्वयंसेवकको रूपमा काम गर्ने तथा १५ दिन घरमै बसेर उत्पादनमा समय खर्चने योजनासहित रोजगारी प्रदान गरेको हो । गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीका अनुसार सबैभन्दा बढी २ सय २० जनालाई सडक स्वयंसेवकको रूपमा रोजगारी दिइएको छ ।

उनीहरुले सडक मर्मत, स्तरोन्नतिलगायतका काम गर्नेछन् । बीस जनालाई शिक्षक स्वयंसेवक बनाइएको छ भने २७ जनालाई विद्यालय स्वयंसेवक बनाएर गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा खटाइनेछ । गाउँ प्रहरीको रूपमा ३४ जनालाई गाउँरक्षक स्वयंसेवकको रूपमा रोजगारी दिइएको छ ।

यस्तै १० जनालाई विद्युत् स्वयंसेवक, १० जनालाई प्लम्बर, पाँच जनालाई सहकारी स्वयंसेवक, ११÷११ जनालाई कृषि र पशु स्वास्थ्य स्वयंसेवक, पाँच जनालाई जनस्वास्थ्य स्वयंसेवक तथा ६ जनालाई सामाजिक परिचालकको रोजगारी दिइएको छ ।

गाउँपालिकाले पहिलो चरणमा ३७० जनालाई सीपमूलक तालीमसहित ‘महासिला विकास स्वयंसेवक’का रूपमा भर्ना गरे पनि दोस्रो चरणमा सीपमूलक तालीमसहित ३६६ जनालाई छनोट गरिएको प्रमुख प्रशाकीय अधिकृत किसान क्षेत्रीले बताए । महाशिला गाउँपालिकामा दुई हजार २०० भन्दाबढी परिवार बसोबास गर्दै आएका छन् ।

गाउँपालिकाका अध्यक्ष राजु पौडेल १५ दिनसम्म गाउँपालिकाले खटाएको काम गरेपछि मासिक ६ हजार रुपैयाँ तलब दिइने बताउछन् । “गाउँपालिकाभित्र आवश्यक पर्ने शिक्षकदेखि सबै जनशक्ति तयार गर्न यस्तो अवधारणा अघि सारिएको हो,” उनले भने । रोजगारी पाएका सबैको न्यूनतम पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको छ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.