www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन मन्त्री अधिकारीको बदमासी : पर्वतीय संग्राहलयमा नियम विपरित कर्मचारी भर्ती !

सन्तोष अधिकारी
ताण्डव न्यूज, पाेखरा 

ऐनकानुन अनुसारको काम मात्रै गर्छु, नियम मिचेर केही गर्दिन भनेर पोखरामा अधिकांश कार्यक्रममा बोल्ने पर्यटन मन्त्री रबिन्द्र अधिकारीले ठाडो निर्देशनमा कर्मचारी भर्ती गराएका छन् । वाइड बढी बिमान खरिद प्रक्ररणमा पनि विवादमा तानिएका मन्त्री अधिकारीले पोखरामा नेपाल पर्वतारोहण संघद्धारा सञ्चालित अन्तराष्ट्रिय पर्वतिय संग्राहलयमा आवश्यक नै नभएका २ कर्मचारी नियुक्ति गराएका हुन ।

मन्त्री अधिकारीको निर्देशनमा संग्राहलयमा टिकट चेकर पदमा अप्सरा पौडेल र टिकट सेलरमा विष्णु मायाँ देवकोटालाई कर्मचारी नियुक्ति गरिएको छ । यस अघि टिकट चेकरको रुपमा स्थायी कर्मचारी बिकल लामाले काम गर्दै आएका थिए । उता टिकट सेलरमा भने कर्मचारी धेरै भएको संग्राहलय स्रोतले जानकारी दियो । यस अघि नै दुइ जना कर्मचारी रहेको सेलर पदमा एक जनाले मात्र काम भ्याउँदै आएका थिए । मन्त्री अधिकारीले कर्मचारी नियुक्ति गरेपछि सो पदमा तीन जना कर्मचारी भएकाछन् ।

Batas

‘राजनीति सत्ताका लागि मात्रै गर्छन भनेको होइन रहेछ, राज्यको ढुकुटी सक्नको लागि पनि गर्नेरहेछन्,’ संग्राहलयका एक जिम्मेवार कर्मचारीले भने, ‘आफ्नो निकटको मान्छेलाई जागिर खुवाउने नाममा अनावश्यक कर्मचारी किन भर्ति गराइयो ? अर्काे कुरा यहाँ कर्मचारी भर्ना गर्नुपरे पनि नियम त छ नी ।’ संग्राहलमा कर्मचारी भर्ति गर्न लागि सार्वजनिक रुपमा कर्मचारी आवश्यकको सूचना प्रकाशन गरी खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी छनोट गर्ने नियम छ ।

यसरी दुई कर्मचारी भर्ति गर्न मन्त्री अधिकारीलाई पर्यटन सचिब कृष्ण देवकोटाले सहयोग गरेका छन् । उनीहरु दुबैले आफ्ना नजिकका आफन्तलाई संग्राहलयमा कर्मचारीको रुपमा भर्ति गराएका हुन् । मन्त्री अधिकारी र पर्यटन सचिब देवकोटा पनि नजिकका आफन्त हुन् । हालै कर्मचारी नियुक्ति भएकी विष्णु मायाँ सापकोटा चाहीँ पर्यटन सचिब सापकोटाको आफन्त हुन् ।

पर्यटन मन्त्रीको ठाडो निर्देशनमा कर्मचारी भएकी अप्सरा पौडेल नियुक्ति पत्र विनै कर्मचारीको रुपमा कात्तिक महिना देखि नै कार्यालयमा हाँजिर भएर काम गर्न थालिन । उनको नियुक्ति पत्र भने १३ डिसेम्बरमा मात्र आयो । उनले नियुत्ति पत्र नबुझे पनि अरु कर्मचारी सरह कार्यालयमा आउने हाँजिर गर्ने गरिन । तलब समेत नियुक्ति पत्र बुझेको दिनबाट भन्दा पनि कार्यालय गएको दिन देखिको मागेको स्रोतले बतायो । पर्यटन सचिबको आफन्त रहेकी विष्णुमायाँ भने नियुक्ति पत्र आएको मिति डिसेम्बर पछि मात्रै कार्यालयमा हाँजिर भएकी हुन् ।

यस अघि प्रतिस्पर्धाबाट छनोट भएकी एक कर्मचारीलाई मन्त्री अधिकारीकै निर्देशनमा हटाइएको थियो । अधिकारीले नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबिर लामालाई टिकट सेलर पदमा कार्यरत रचना कुँवरलाई हटाउनु भनेपछि लामाले कुवँरलाई कार्यालय नआउन भनेका थिए । कुँवरले छ महिना सम्म मासिक १८ हजार रुपैयाँ तलब समेत बुझेकी थिइन । ‘मैले प्रतिस्पर्धामै नाम निकालेको थिएँ । छ महिना काम पनि गरेँ,’ रचनाले टेलिफोनमा भनिन्, ‘एक्कासी स्टाफ धेरै भयो अब नआउ भनेर अध्यक्षले भन्नु भयो ।’ यस विषयमा जानकारी लिन फोन गर्दा अध्यक्ष सन्तबिरले फोन उठाएनन् । तर, आफु अहिले जापान रहेको भनेर मोबाइलमै म्यासेज भने पठाए ।

त्यस्तै पर्यटन मन्त्री रबिन्द्र अधिकारीले पनि पटक पटक फोन गर्दा समेत फोन उठाएनन् । उनका स्वकीय सचिब अर्जुन अधिकारीले भने कर्मचारी नियुक्ति गरिएको विषयमा जानकारी नभएको प्रतिक्रिया दिए । ‘यस विषयमा न मन्त्री ज्यूलाई, न मलाई कसैलाई थाहा छैन, कस्ले भन्यो यो कुरा ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.