www.tandavnews.com
Fact ~ In search of truth

नेकपा : अध्यक्षद्वयको प्रतिवेदन सुझावसहित पारित

 

काठमाडौँ  ।

गत दुई साताअघिदेखि जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन आज सम्पन्न बैठकले पारित गरेको हो । गत मङ्सिर २९ गते शुरु भएको सो बैठकमा पार्टी र सरकारको कामबारे घनीभूत छलफल भएपछि सदस्यले दिएका सुझाव, आलोचना र पूरक प्रस्तावलाई ध्यानमा राखी प्रतिवेदन पारित गरेको छ ।

बैठकले पार्टी एकताको बाँकी काम यही पुसभित्र सक्ने गरी कार्यदल गठन पनि गरेको छ । यस निर्णयसँगै नेकपाभित्र हाल देखिएको विवाद साम्य भएको छ । बैठकमा नेता वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पूरक प्रस्ताव पेश गरेका थिए।

बैठकले सङ्गठनात्मक एकताबारे गृहकार्य गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रामबहादुर थापा, शङ्कर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्रप्रसाद पाण्डे, वेदुराम भुसाल र लेखराज भट्ट रहेको कार्यदल गठन गरेको छ । स्थायी कमिटीका सदस्य एवं कार्यदलका सदस्य भट्टराईले आफूहरुले दुई साताभित्र प्रतिवेदन तयारी गरी आगामी बैठकमा सुझाव दिने र त्यसका आधारमा तल्ला तहको एकताको काम टुङ्गो लगाइने बताए ।

गत जेठ ३ गते तत्कालीन नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) बीच एकता भई गठन भएको नेकपामा हालसम्म प्रदेश कमिटीले मात्र पूर्णता पाएको छ भने जिल्ला कमिटी र जनसङ्गठनको एकता बाँकी छ । यसअघि पार्टीको सचिवालयको बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन टुङ्गो लगाउन महासचिव पौडेलको संयोजकत्वमा अर्को कार्यदल गठन गरिएको थियो ।  रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.