www.tandavnews.com
Fact ~ In search of truth

जनयुद्धको गोलीले दिएको पिडा अझै छ :घाइते मनबहादुर

 

 

बागलुङ ।

जनयुद्धका घाइते मनबहादुर घर्तीको खुट्टामा अहिले पनि गोलीका छर्रा छन् । गोली लागेको ठाउँ देखाउँदै ३३ वर्षीय घर्तीले उपचार खर्च नपाएको गुनासो गरे ।

Batas

ताराखोला गाउँपालिका– ५ का घर्ती विसं २०६० तिर दाङमा भएको सशस्त्र भीडन्तमा घाइते भएका थिए। उपचारपछि हिँडडुल गर्न सक्ने भए पनि उनमा दुखाइको समस्या ठिक भएको छैन ।

“सामान्य अवस्थामा जस्तो हिँड्न सहज छैन”, उनले भने, “चिकित्सकले छर्रा हड्डीमा मिलेर बसेको छ निकाल्दा झन् समस्या हुन्छ भनेपछि निकालिएको छैन ।” घाइते भएपछि तत्कालै माओवादी सेनाको स्वास्थ्य टोलीले उनको प्राथमिक उपचार गरेको थियो ।

पछि सीमापार भारतसम्म पुगेर थप उपचार गरेको घर्तीले बताए । उनले शरीरमा गोलीका छर्रा बोकेर हिँडेको १५ वर्ष भएको छ । जनयुद्धको नेतृत्व गर्ने तत्कालीन नेकपा (माओवादी) अहिले नेकपाको रुपमा सरकारमा हुँदा पनि आफू अन्यायमा परेको उनको गुनासो छ ।

पछिल्लो समय पार्टीका जिम्मेवार केही नेताले फोन गरेर काठमाडौँ आउनुस् उपचार खर्च दिलाउँछौँ भनेर आश्वासन दिएको घर्तीले बताए । घाइते भएपछि जनमुक्ति सेनामा निष्क्रिय बनेका घर्ती शान्ति प्रक्रियासँगै पार्टी राजनीतिमा सक्रिय भएका थिए। अहिले उनी गाउँकै एक जलविद्युत् आयोजनामा व्यवस्थापकको रुपमा कार्यरत छन् ।

नेपालको अवस्था फेरिन्छ र जनजीविकामा आमूलपरिवर्तन हुन्छ, भन्ने विश्वासमा आफू जनयुद्धमा होमिएको घर्तीको भनाइ छ । द्वन्द्वपीडितको नाम भजाएर कतिपयले राज्यबाट सेवा सुविधा लिएको उनको आरोप छ । आर्थिक सहयोग पाएमा गोलीका छर्रा निकाल्ने सोच उनको छ ।

जनयुद्धले घर्तीको परिवारमा अर्को पनि पीडा दिएको छ । उनका माइला दाजु बाजेन्द्र विसं २०५८ देखि बेपत्ता छन् । आमा, जेठा दाइ र भाइसहित परिवारमा बस्दै आएका घर्तीले १२ कक्षासम्मको अध्ययन गरेका छन् । कक्षा ८ मै पढाइ छाडेर जनयुद्धमा होमिएका उनले शान्ति प्रक्रियापछि पढाइ अघि बढाएका थिए ।

गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले उपचार खर्चको लागि गाउँपालिकाबाट प्रक्रिया अघि बढाइएको बताए । “गृह मन्त्रालयमा सिफारिस पठाएका छौँ”, उनले भने, “सबैेले पाउँदा उनको कसरी छुट्यो हामी पनि अनविज्ञ छौँ ।” रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.