www.tandavnews.com
Fact ~ In search of truth

पर्यटकको रोजाइमा रैथाने स्वाद

सन्तोष अधिकारी
पोखरा, ताण्डव न्यूज । 

फापरको ढिँडो, जिम्बुले झानेको हिमाली कालो सिमीको दाल, रायोको साग, च्याङ्ग्राको सुकुटी, मुस्ताङे आलुको तरकारी, टिम्मुरको छोप, मुलाको अचार र मोही । तपाइँ, हामी जोकोहीको जिब्रोलाई लोभ्याउने थकाली परिकार हो यो ।

लोकल कुखुराको मासु, गोलभेडाको अचार, मासको दाल, मौसमी तरकारीलाई पनि अहिले थकाली खानामा समावेश गर्न थालिएको छ । मधुरो आगोमा पर्याप्त समय लगाएर पकाइने यो खानाले अहिले रेस्टुराँहरूमा अन्य खानालाई उछिनेको छ । लेकाली थकालीको भान्सामा पाक्ने यो खाना अहिले बजारका तारे होटलदेखि सामान्य होटलमा पाक्न थालेको छ । मानिसहरु झुम्मिन थालेका छन् ।

समुदाय, क्षेत्र र भूगोलअनुसार विविधता दिन सक्नु नेपाली खानाको विशिष्टता हो । चाहे राजवंशीहरूको भक्का होस् वा किराँत समुदायमा प्रचलित वाचिपा नै, सबैको आ–आफ्नै मौलिक स्वाद र विशेषता छ । नेवारी खाजासेट, पाल्पाको चुकौनी, हिलेको तोङ्वा, भक्तपुरको जुजु धौ, चितवनको तास, इलामको बम्बैसन, नेपालगन्जको चाट र रबडीजस्ता स्थान विशेष परिकारले जो–कोहीको भोक जगाउने सामथ्र्य राख्छन् । यी परिकारहरूको साझा विशेषता भनेको स्थानीय उत्पादन, संस्कृति र मौसमको प्रतिनिधित्व नै हो ।

चामलको पीठोलाई पानीको वाफमा पकाइने भक्का राजवंशीहरूको विशेष खान्की हो । खासगरी जाडो मौसममा भक्का नखाई राजवंशीहरूको दैनिकी सुरु हुँदैन । त्यस्तै, धरानबाट पहाड उक्लनेहरूले चिसोसँग पैठेजोरी खेल्न हिलेको तोङ्वा तान्नैपर्छ ।

जुजु धौ, कालो बंगुर, बम्बैसन, चुकौनी आदि चाहिँ स्थानीय उत्पादनसँग जोडिएका सदावहार परिकार हुन् । चिउरा, आलु, साग, कालो भटमास, बोडी, अण्डा, माछा र तामा बोडीसहितको नेवारी समयवजीले पहाडका राई, लिम्बूदेखि मधेसीहरूसम्मको मन जितेको छ । त्यस्तै नेवार समुदायमै प्रचलित छोइला, कचिला, चटामरी, बारा पनि अहिले सर्वप्रिय परिकारमा दरिएका छन् ।

कतारोमा जमाइएको जुजु धौ भक्तपुरको चिनारी बनेको छ । भक्तपुरको नाम लिनासाथ धेरैले जुजु धौको स्मरण गर्ने गरेका छन् । भनिन्छ, जुजु धौ चक्कुले टुक्रा–टुक्रा गर्न सक्ने किसिमले एक ढिक्का जमाइएको हुन्छ ।

दही जमाइएको कतारोलाई घोप्ट्याउँदासम्म दही पोखिँदैन । रायोको सागमा पकाइने कालो बंगुरको मासु धराने लाहुरेहरूको भान्सामा पाक्ने स्वादिलो परिकार हो । अतिथि सत्कारदेखि चाड पर्व एवं उत्सवहरूमा उनीहरू हार्दिकताका साथ यही परिकार पस्किन्छन् ।

Lama collectio News Middle

‘नेपाली खाना पनि त्यसै मिठो र स्वादिलो छ,’ पोखराको लेकसाइडमा भेटिएका अष्टे«लियाली माकलले भने, ‘सबै भन्दा मिठो त थकाली । अनि अरु अरु ।’

रायोको साग मिसाएर पकाइएको कालो बंगुरको मासु र अकबरे खुर्सानीको अचारको स्वादमा अहिले धराने लाहुरेहरू मात्र होइन, अन्य क्षेत्रका जातजाति पनि पल्किएका छन् । यता सहरी क्षेत्रमा चाहिँ धराने कालो बंगुरको सेकुवाले छुट्टै ब्रान्ड बनाएको छ । ललितपुरको ताल्छीखेल धराने कालो बंगुरकै निम्ति प्रख्यात छ । अरू थुप्रै होटल रेस्टुराँले’ धराने कालो बंगुर’ को नाम बेचेर ग्राहकहरूलाई आमन्त्रण गरिरहेको देखिन्छ ।

नुनिलो, पिरो, टर्रो स्वादमा पल्किएको नेपाली जिब्रोले सहजै स्वीकार गर्ने खान्की हो, ढिंडो र गुन्द्रुक । ग्रामीण भेगमा मात्र होइन, सहरी क्षेत्रका स्तरीय होटल र रेस्टुराँले समेत यो परिकार महत्वका साथ पस्किँदै आएका छन् । मकै, गहुँ, कोदो वा फापरजस्ता थरिथरिका अन्न उपजबाट तयार हुने ढिंडो हिमालदेखि पहाडसम्म, गाउँदेखि सहरसम्मका भान्सामा पाक्छ । यसलाई स्वादका लागि मात्र होइन, पौष्टिक आहाराका रूपमा समेत ग्रहण गरिन्छ ।

विशेष गरी नेपाली पर्यटकहरुको मुख्य रोजाइ थकाली खाना रहेको होटल व्यवसायी संघ पोखराका विकल तुलाचनले बताए । ‘होटलमा आएका केही विदेशीको मुख्य रोजाइमा नेपाली खाना पर्छ, केहीले कन्टीनेन्टल नै खान्छन्,’ उनले भने, ‘नेपालीको हकमा त थकाली नै अत्यधिक रुचाउँछन् । थकालीले नेपाली बजारमा आनो ब्राण्ड बनाइसकेको छ । त्यसैले धेरैले यसलाई रोजाइमा पारेका छन् ।’

कुनै पनि पेयसँग लिइने स्न्याक्सको राम्रो विकल्प बनेको छ, सेकुवा । विश्वमा खाइने ग्रिल्ड मिट र बार्बिक्युभन्दा फरक स्वादको नेपाली सेकुवा सहरी क्षेत्रमा छुट्टै ब्रान्डका रूपमा स्थापित छ । झीरमा उनेर आगोको रापमा पकाइने मसलेदार सेकुवाकै लागि ग्राहकको भिड लाग्ने गरेको छ । खसी, राँगो, कुखुरा, बंगुरजस्ता कुनै पनि पशुपन्छीको मासुबाट बन्ने सेकुवाको स्वादमा विविधता पाइन्छ । राजधानीको सिनामंगल क्षेत्र सेकुवाका लागि कहलिएको छ ।

दाल, भात, तरकारी र अचारलाई खानाको परिभाषामा राख्दै आएका बहुस्ख्यक नेपालीहरू अहिले स्वादमा विविधता खोज्न थालेका छन् । फलतः सीमित समुदाय, जातजाति एवं भेगमा प्रचलित परिकारले फैलने अनुकूलता पाएको छ ।

यतिबेला थकाली खानाको स्वाद लिन मुस्ताङ नै पुग्नु पर्दैन, धराने कालो बंगुरको मासु चाख्न राई–लिम्बूको भान्सा नै चाहार्नुपर्छ भन्ने पनि छैन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery