www.tandavnews.com
Fact ~ In search of truth

तनहुँ अल्ट्रा म्याराथन माघ १६ मा

दमौली ।

खेलकूदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ ।

शहीद दिवसको अवसर पारेर व्यास नगरपालिकाले माघ १६ गते दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्न लागेको हो ।

व्यास नगरपालिका–५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ ।

म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।

नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेले पर्यटकीय गाउँ मानहुँ र शहीदको गाउँ पुलिमराङलाई खेलकूदको माध्यमबाट जोड्दै पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गर्न लागिएको जानकारी दिए ।

प्रतियोगितामा १५० भन्दा बढी धावकको सहभागिता रहने अनुमान गरिएको व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

गत वर्ष आयोजना गरिएको प्रथम व्यास नगर अल्ट्रा म्याराथनमा ३० जिल्लाका १४४ धावकको सहभागिता रहेको थियो । जसमध्ये १२३ धावक अन्तिम बिन्दुसम्म पुगेका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ८० हजार, दोस्रो हुनेलाई नगद ६० हजार, तेस्रो हुनेलाई नगद ५० हजार र सान्त्वना हुने पाँच जनालाई पन्ध्र÷पन्ध्र हजार प्रदान गरिनेछ ।

प्रतियोगिताका लागि नगर प्रमुख न्यौपानेको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति, व्यास नगरपालिका–५ वडाध्यक्ष श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन समिति र व्यास नगरपालिका–८ का वडाध्यक्ष ओजराज पौडेलको संयोजकत्वमा स्वागत समिति गठन गरिएको छ ।

प्रतियोगिता सञ्चालनका लागि १० लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले माघ १४ गतेभित्र नाम दर्ता गराइसक्नुपर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले मानहुँ र पुलिमराङलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिएको नगर प्रमुख न्यौपानेले जानकारी दिए ।

उनका अनुसार मानहुँमा यसै वर्ष ३० लाखको लागतमा भ्युटावर निर्माण गरिनेछ भने पुलिमराङमा शहीद पार्क निर्माणको थालनी गरिनेछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...