www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा विस्तार हुदैँ व्यवसायिक जडीबुटी खेती

पर्वत ।

यस वर्षदेखि जिल्लामा व्यवसायिक रूपमा जडीबुटी उत्पादन उत्पादन गरिने भएको छ ।

जडीबुटी उत्पादनको राम्रो सम्भावना देखिएकाले डिभिजन वन कार्यालयले खेती विस्तारका साथै पुराना जडीबुटी सङ्कलन गर्ने कार्यक्रम अघि बढाएको हो । जिल्लाका उच्च पहाडी क्षेत्रमा जडीबुटीको राम्रो सम्भावना देखिएपछि यो कार्यक्रमलाई चालु आर्थिक वर्षदेखि प्रभावकारी रूपले सञ्चालन गर्न थालिएको डिभिजनल अधिकृत दधिलाल कँडेलले जानकारी दिए । उनका अनुसार यस वर्ष ५० हजार विभिन्न प्रजातिका जडीबुटीका बिरुवा रोपिने भएको छ ।

जिल्लाका शालिजा, लेखफाँट, क्याङ, भुकताङ्ले, धाइरिङ, भोक्सिङ, होश्राङ्दी, आर्थरडाँडाखर्क, चित्रेलगायत हम्पाल, पञ्चासे र गोल्र्याङका जङ्गलमा व्यावसायिक रुपमा जडीबुटी खेती विस्तार गरिने भएको हो । जिल्लाका ६१ वडामा जडीबुटीको खेती गर्न सकिने भए पनि ती स्थानलाई मुख्य क्षेत्रकै रुपमा उक्त खेती विस्तार गर्ने गरी कार्यक्रम शुरु गरिएको उनले बताए।

यस वर्ष लोठसल्ला, टिमुर र तेजपातका बिरुवा रोपिने छ । जडीबुटी उत्पादन, खेती विस्तार, भण्डारण, प्रशोधन र बजारीकरणका लागि सहकारी, सामुदायिक सङ्घसंस्था, सामुदायिक वनलगायतसँग प्रस्तावसमेत गरिएको कार्यालय प्रमुख कँडेलले जानकारी दिए ।

जडीबुटी सङ्कलन गरी प्रशोधनका लागि प्रत्येक क्षेत्रमा १५ लाख रुपैयाँ सम्मको लागतमा प्रशोधन केन्द्र सञ्चालन गर्न लागिएको वन डिभिजन कार्यालयले जनाएको छ । लामो समयदेखि जिल्लाका विभन्न जङ्गलमा उत्पादित जडीबुटी सङ्कलन हुन नसकी नष्ट भइरहेका बेला पहिलोपटक सङ्कलन र भण्डारण गर्ने कार्यक्रम अघि बढाइँदा सामुदायिक वन उपभोक्ताको आयआर्जनमा वृद्धि हुनाका साथै जडीबुटी निकासीबाट राज्यको आम्दानीसमेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

पञ्चासे क्षेत्रमा ११२ थरीका सुनगाभा र ३०० भन्दा बढी लोपोन्मुख प्रजातिका वनस्पति पाइन्छ भने अन्य जङ्गलमा पनि लौठसल्ला, चिराइतो, सितबेरुवा, संजीवनी, सतुवा, भुतकेश, अल्लो, मगरमथे, बज्रजन्ती, पाषणबेथ, कुरिलो, ओख्खरलगायत जडीबुटी पनि पाइन्छ ।

गण्डकी प्रदेश सरकारअन्तर्गत सञ्चालित उक्त कार्यालयले यस वर्ष जडीबुटीसँगै अन्य प्रजातिका गरी झण्डै एक लाख बिरुवा रोप्ने लक्ष्य लिएको छ । जडीबुटी ५० हजार, रुख प्रजातिका २२ हजार र विभिन्न समूहको मागका आधारमा स्थानीय मागअनुसारका १८ हजार बिरुवा गरी ९० हजारभन्दा बढी बिरुवा रोप्ने कार्यक्रम रहेको कार्यालयले जनाएकोे छ ।

जिल्लाको फर्सेमा सात हजार, क्याङममा छ हजार र बिहादीमा पाँच हजार बिरुवा स्थानीय सामुदायिक वन उपभोक्ता समूहले उत्पादन गर्ने भएका छन् । अन्य बिरुवा भने भिन्न ठाउँमा खरीद गरेर रोपिने भएको हो । यतिको सङ्ख्यामा बिरुवा रोपिएपछि झण्डै ५७ हेक्टर वनको क्षेत्रफल समेत वृद्धि हुने भएको छ ।

वन क्षेत्रको विकास, संरक्षण र पर्यापर्यटनको क्षेत्रमा यस वर्ष प्रदेश सरकारबाट दुई करोड १० लाख रुपैयाँ र सङ्घीय सरकारबाट एक करोड ५५ लाख रुपैयाँ विनियोजन भएको छ । कूल तीन करोड ६५ लाख रुपैयाँ विनियोजन भएको रकमले वन, पर्यापर्यटन र जडीबुटीको क्षेत्रमा कार्यक्रम सञ्चालन हुने पनि डिभिजनल अधिकृत कँडेलले जानकारी दिए । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.