ग्यास्ट्रिक नामले चिनिएको पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणले युक्त हाम्रो राष्ट्रिय रोगको चिकित्सकीय नाम ग्याष्ट्राइटिस हो । ग्याष्ट्राइटिस शब्दलाई हाम्रो जिब्रोले पुरै उच्चारण गर्न नसक्दा ग्याष्ट्रिक भन्न पुग्यौँ ।
जसको आम अर्थ ग्यास्ट्राइटिस र ग्यास्ट्रिक अल्सर दुबै लागाइन्छ । चिकित्सकीय भाषामा इन्फ्लामेसन (सुन्निएर रातो तातो भएर दुख्नु)लाई ग्याष्ट्राइटिस भनिन्छ भने रोग बढ्दै गई भित्ताहरुको श्लेश्म झिल्लि च्यातिएर घाऊ भएको अवस्थालाई ग्याष्ट्रिक अल्सर भनिन्छ । अर्को शब्दमा भन्नु पर्दा ग्याष्ट्रिक रोगको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रुप ।
ग्याष्ट्राइटिसलाई तीव्र तथा दीर्घ÷जीर्ण गरेर दुई समूहमा बाँडिएको छ । तीव्र ग्यास्ट्राइट्रिस पेटका भित्ताहरुमा भएका कोषहरुका लागि हानि गर्ने पदार्थहरुको सेवनले गर्दा हुन्छ । यी पदार्थहरुमा ः दुखाई कम गर्ने (एस्प्रिन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन) जस्ता औषधि, विष सेवन,मसला, खुर्सानि र नुन ज्यादा हालेको खानेकुरा जाँड, रक्सी र कोकिन जस्ता मादक पदार्थहरु पर्दछन् । पाइलोरी लगाएत अन्य ब्याक्ट्रेरिया भाइरस, कृमिवाफङ्गसहरुको संक्रमणले पनि ग्याष्ट्राइटिस हुने गर्छ ।

यसैगरी जीर्ण ग्याष्ट्राइटिसकोे कारणहरु भने हाम्रो जीवनशैली,खानपान शैली,मानसिकता र शरीर प्रकृतिसँग जोडिएको छ । तारे भुटेका मसालादार खानेकुरा खानेहरु,खुर्सानी र नुनको अत्याधिक सेवन गर्नेहरु जाँड रक्सी, चुरोट, कोकिन, तातो र अति चिसो खाद्यपदार्थ तथा बोतल र बट्टामा संरक्षित खाद्य–पदार्थहरुको सेवन गर्नेहरु, फास्ट तथा जंक फुड खानेहरु यो रोगका सिकार हुन पुग्दछन् ।
त्यसैगरी अनियमित जीवन शैली जिउनेहरु, जस्तैःभोक लागेको बेलामा नखाने, भोक भन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठीन, बट्टाबद्ध र संरक्षित खाद्यान्न खाइरहने, खाएपछि र शारीरिक श्रम गरे लगत्तै सुत्ने तथा शारीरिक श्रम गरे लगत्तै खानेहरुमा यो रोग ज्यादा देखिएको छ ।
व्यस्तता र भाग दौडले भरिएको जीवन ज्यूनेहरु, मानशिक तनावको चपेटामा परेकाहरु, मनोरञ्जन नगर्नेहरु, भय, चिन्ता, शोक उदाशिनता र अनिन्द्राका रोगीहरु, शारीरिक श्रम वा व्यायम नगर्नेहरु पनि यो रोगका शिकार हुने गरेका छन् । लामो समय सम्म जाँड रक्सी, चिया कफि, कार्वनिक पेय,(कोक–पेप्सी)आदिको सेवन गर्नेहरुमा पनि यो रोग ज्यादा देखिएको छ ।
यसका अलावा आत्मघाती प्रतिरक्षा प्रणाली (अटो–इमयुन),पेटको अपरेसन,कलेजो, मृगौला, फियो तथा आन्द्राहरुको संक्रमण, एचआइभी÷एड्स तथा विशेष मानसिक रोगावस्थाहरुको कारणले पनि ग्याष्ट्राइटिस हुने गर्दछ ।
लक्षणहरुः
– छाती र पेटको बिचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बड्नु,मुख बिग्रिनु, पेट भारि हुनु, आपनवायु बढ्नु, रिङ्गटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु, वाकवाकी लाग्नु वान्ता हुनु, ढ्याउढ्याउ आउनु, वान्तामा रगत देखिनु कालो दिशा आउनु, खाना नपच्नु, पेट हुडेल्नु, तौल कम हुनु आदि
जटिलताहरुः
– यो रोगको समयमा नै उपचार नभए ग्याष्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ । अल्सर हुँदा बारम्बार रक्त श्रावले गर्दा सामान्य–रक्तअल्पताको समस्या देखा पर्नुका साथै भिटामिन बी–१२को अबशोषणमा चाहिने तत्वहरुको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पताको लक्षणहरु जस्तै, स्नायु तथा नाडीहरुको क्षय,मांशपेशीहरुको कमजोरी, तातो चिसो थाहा नपाउने समस्या देखा पर्दछन् । यसका अलावा, अन्न नली सुन्निने, दम बड्ने, मुखमा घाउ खटिरा आइरहने, आन्द्राहरुमा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्काशनमा जटिलता आई कब्जियतका लक्षणहरु पनि देखा पर्न सक्छन् ।
उपचारः
– ग्याष्ट्राइटिस धेरै कारणले हुने रोग हो । उपचार गर्दा विशेषतः रोगको कारण पत्ता लगाएर नै उपचार गर्नुपर्छ । तीव्र ग्याष्ट्राइटिसको उपचार समयमै हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिमहरु निवारण गर्न सकिने भएकाले चिकित्सकको निगरानिमा रोगको निदान तथा उपचार गर्न तिर लागौं । दीर्घ÷जीर्ण ग्याष्ट्राइटिसको ठूलो हिस्सा जीवन शैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायम, विश्राम विचार र व्यवहारहरुलाई स्वास्थ्य मैत्री हुने गरी समायोजन गर्नु हो ।
भोजन व्यवस्थापन :
१) बट्टा र बोतलमा संरक्षित खाद्य–पदार्थहरु, फास्ट तथा जंक फुडहरु, ज्यादा मसला, खुर्सानी, नुन हालेको, अजिनोमोटो, सोडियम बाइकार्बोनेट, सोडियम बेन्जोएट जस्ता पदार्थ मिसाइएका खाद्यपदार्थहरुबाट पनि टाढै बसौं ।
२) अचार, कुरकुरे, आलुचिप्स,पाउ, चाउचाउ, बिस्कुट, नुडल्स, जस्ता खाद्यनले पनि ग्याष्ट्राइटिसलाई बढाउँछ । चिया, कफि, कोल्डड्रिङ्कस जस्ता पेय, आइसक्रिम र चकलेट् जस्ता लेह, बेकरी तथा मैदाका उत्पादन जस्ता भोज्य र माछा–मासु जस्ता भक्ष्य पदार्थहरु पनि ग्याष्ट्राइटिसका लागि राम्रा होइनन् ।
३) चिल्लो–चाप्लो र धेरै बोसो भएको खानेकुरा नखाऔं । अमिलो र पिरो जातका फलफुलहरुको सेवन पनि नगरौं ।
४) भोजन गर्दा खुब चपाइ चपाइ खाऊँ । याद राखौ पेटभित्र दाँत हुदैन नचपाइ खाएको भोजनले पेटलाई भोजन पचाउन अतिरिक्त दबाव दिने हुँदा ग्याष्ट्राइटिसको सम्भावना ज्यादा हुन्छ ।
५) कुनै खाना खाए पछि अम्लपित्त बढ्न गएमा त्यस्ता भोजनलाई त्यागिदिऊँ ।
६) भोजन गर्दा पानीको प्रयोग यथा सम्भव भएसम्म कम होस् ।
७) भोजनको समय निश्चित गरी दैनिक उसै समयमा भोजन गर्ने गरौं । दिनमा होस् वा राती भोजन पछि लगत्तै सुत्ने बानी छ भने त्यागि दिऊँ । भोजन र निन्द्राको बिचमा कम्तिमा पनि ३ घण्टाको अन्तर होस् ।
८) भोक लाग्ने बित्तिकै हल्काफुल्का केही खाने गरौं, यहाँ बर्जित खानेकुरा बाहेक ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.