www.tandavnews.com
Fact ~ In search of truth

पुल नबन्दा यात्रुलाई सास्ती

म्याग्दी ।

म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत दुखुखोलामा मोटर चल्ने पुल निर्माणमा भएको ढिलासुस्तीले यात्रुलाई सास्ती भएको छ ।

प्राविधिक कमजोरी, सम्बद्ध कार्यालयको ढिलासुस्ती र निर्माण व्यवसायीको लापर्वाहीका कारण मङ्गला र मालिका गाउँपालिकाको सिमानास्थित दुखुखोलामा आठ वर्षअघि शुरु गरिएको पुल अहिलेसम्म बनेको छैन ।

बाइस मिटर लामो सो पुल निर्माणका लागि विसं २०६७ मा तत्कालीन जिल्ला विकास समितिले विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) अन्तर्गत बनाइएको पुलको नमूना रद्द गरेर २०७३ साउन ९ गते जिविस र प्राविधिक कार्यालयले पुनः सर्वेक्षण गरेपछि दुई करोड २५ लाख ६० हजार ८ सय २३ रुपैयाँमा निर्माण गर्ने गरी स्वच्छन्द–गौचन जेभीले ठेक्का पाएको थियो ।

सो कम्पनीले विसं २०७४ कात्तिकमा निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि अहिलेसम्म दुबैतर्फको पिल्लर मात्र ठड्याएर काम अलपत्र छोडिएको छ । गत मङ्सिरदेखि काम पनि भएको छैन । पुल निर्माण नहुँदा सर्वसाधारण खोलामा जोखिम मोलेरै पनि वारपार गर्न बाध्य भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

बेनी–दरवाङ मङ्ला, मालिका, धवलागिरि र बागलुङको तमानखोला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । “हिउँदमा खोलाबाटै सवारीसाधन तरे पनि बर्खामा बाढी आउँदा सवारीसाधन आवतजावत ठप्प हुन्छ”, उनले भने, “सम्बन्धित निकायको वेवास्ता र ढिलासुस्तीका कारण पुल नबन्दा यातायात सञ्चालन र सामान ढुवानीमा कठीन भएको छ ।”

उक्त कम्पनीले ठेक्का लिए पनि काम भने बेनीको श्रमजीवी निर्माण कम्पनीले काम गर्दै आएको छ । सङ्घीयबाट प्रदेश सरकारमा पुल निर्माणको जिम्मेवारी हस्तान्तरण भए पनि बजेट व्यवस्थापन र अख्तियारी आउन ढिलाइ भएकाले यो पुल निर्माण हुन नसकेको अध्यक्ष रोकाको गुनासो थियो ।

पूर्वाधार विकास कार्यालयका महाशाखा प्रमुख तथा इञ्जिनीयर ओमराज ढुङ्गानाले दुखु र स्वाँता खोला पुलको योजना हस्तान्तरण भइसकेकाले निर्माणका लागि ठेकेदारलाई ताकेता गरिरहेको जानकारी दिए ।

प्रदेश सरकारले बजेट उपलब्ध गराए पनि निर्माणका लागि अख्तियारी दिन ढिलासुस्ती गरेकाले पूर्वाधार कार्यालय र निर्माण कम्पनीका प्रतिनिधिलाई ताकेता गरिएको जिसस प्रमुख देवेन्द्र केसीले बताए । पछिल्लो पटक आगामी वैशाख मसान्तसम्म पुल निर्माण सम्झौताको म्याद थप भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

classic tech
You might also like

Comments are closed.