www.tandavnews.com
Fact ~ In search of truth

ग्यास पर्याप्त छ , हल्लाको पछाडि नलाग : निगम

काठमाडौँ ।

मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ ।

पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो ।

इण्डियन आयल रिफाइनरीमा खाना पकाउने ग्यास लोडिङ भइरहेको र आयात पनि निरन्तररूपमा भइरहेको उल्लेख गर्दै निगमले बजारमा कुनै पनि अभाव नरहेको जनाएको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार हालसम्म उद्योगीसँग आठ हजार मेट्रिक टन भारतबाट ग्यास ल्याउने कागजात (पिडिओ) रहेको छ । उक्त कागजातबाट ग्यास ल्याउने कार्य नियमित रहेको छ । सन् २०१९ को फ्रेबुअरीमा मात्रै ३५ हजार ७५४ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको छ ।

निगमले उपभोक्तालाई सहजरूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन प्रयास गरिरहेको भन्दै गलत हल्ला र अफवाहको पछाडि नलाग्नसमेत आग्रह गरेको छ । उपभोक्ताको मागबमोजिम ग्यास आपूर्तिमा कुनै पनि समस्या नभएकाले अनावश्यकरूपमा ग्यासको सिलिण्डर भण्डारण नगर्नसमेत निगमले अनुरोध गरेको छ ।

निगमले उद्योगी–व्यवसायीको माग सम्बोधन गर्न आफूहरू प्रयासरत रहेको भन्दै अत्यावश्यक विषयको संवेदनशीलतालाई ख्याल गर्न उद्योगी–व्यवसायीको समेत ध्यानाकर्षण गराएको छ । दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयका सम्बन्धमा देखिएको समस्या समाधानका लागि वार्ता र संवाद नै उपयुक्त विकल्प भएकामा निगमको जोड छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.