www.tandavnews.com
Fact ~ In search of truth

पर्वतबाट १० टन प्रशोधित लप्सी अमेरिका निर्यात

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

लप्सी उत्पादनको पकेट क्षेत्र मानिएको पर्वत जिल्लाबाट यस बर्ष अमेरिकामा मात्रै १० टन लप्सी निर्यात भएको छ ।

लप्सी संकलन, प्रशोधन र ब्यपारको काम गर्दै आएको सामुदायिक खाद्य प्रशोधन उद्योगले प्रशोधन गरेर तयारी अवस्थामा रहेको १० टन लप्सी अमेरिका पठाएको हो । फलेवास नगरपालिकाको मुडिकुवामा रहेको उद्योगले जिल्लाका बिभिन्न ठाउँमा पुगेर कृषकहरुको लप्सी खरीद गरेर प्रशोधन गर्दै आएको छ ।

उद्योगबाट उत्पादित माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डी लगायतका परिकार निर्यात गरिएको उद्योगका संचालक थानेश्वर भुषालले जानकारी दिए । यस बर्ष उद्योगले कुल १ सय ३० टन लप्सी संकलन गरेकोमा अहिलेसम्म ६० टन लप्सी प्रशोधनपछि बजारमा गएको छ भने ७० टन लप्सी प्रशोधनको क्रममा छ । गत बर्षको यही समयसम्म ४० टन मात्र लप्सी प्रशोधन गरेको उद्योगले यस बर्ष अघिल्लो बर्षको तुलनामा २० टन बढी प्रशोधन गरिसकेको छ ।

उद्योगले पर्वत र बागलुङ जिल्लाबाट लप्सी संकलन गरेर प्रशोधनपछि देशका बिभिन्न जिल्ला सहित विदेशमा पनि निर्यात गर्दै आएको छ । ‘अहिलेसम्म प्रशोधन गरिएको लप्सी स्थानीय बजार र बिदेशमा अमेरिका पुगिसकेको छ ।’ भुषालले भने, ‘कोरियाबाट पनि माग आएको छ, अब प्रशोधन गरिएकोलाई कोरिया पठाउने हो ।’ उनका अनुसार यस बर्ष प्रशोधित लप्सीको बिक्रीबाट कम्तीमा पनि २० लाख रुपैयाँभन्दा बढी कमाई हुने अपेक्षा गरिएको छ ।

२०५८ सालमा स्थापना भएको उद्योगमा वर्षेनी नाफा बढ्दै गएको छ । उद्योग स्थापना भएपछि बसाईँसराईँ र अन्य कारणले पनि बाँझीएका जिल्लाका पाखाबारी तथा खाली जमिनहरुमा लप्सी लगाउने होड चलिरहेको छ । लप्सीको महत्व नबुझेर केही बर्ष अगाडि सम्म बोटबाटै झरेर कुहिने गरेको लप्सीले आजभोली मूल्य पाउन थालेपछि कृषकहरुलाई राहत भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.