www.tandavnews.com
Fact ~ In search of truth

चटपट ठेलासँगै शानदार गुडीरहेछन् नेपाली बाबु ‘मंगल’

उमा विक
पोखरा, ताण्डव न्यूज ।

दिनको १२, १ बजेपछि ठेला तयार पार्न तरखर गर्छन् । आलु, केराउ, मरमसला, चाउचाउ, दालमोठ बदाम, अमिलो पानी, पुरी चाहिने सबै सामग्री २ पाँग्रे ठेलामा मिलाएर राख्छन् र कोठाबाट ठेला गुडाउँदैै निस्कछन् । गैह्रपाटन, पन्थीगल्ली हुँदै निस्कन्छन् र पोखराको व्यस्त बजार चिप्लेढुंगामा रहेको बिग बजारको छेउमै टक्क अडिन्छन् ।

शिरमा भादगाँउले टोपी, सेतो सर्ट बहिरबाट कालो स्टकोट । उनको ठेलामा खान आउनेले उनलाई नेपाली बाबु भनेर बोलाउँछन् । उनको मिठो बोली र सद्भावले नै ठेलामा खान आउनेहरु झुम्मिन्छन् । २७ वर्षे नेपाली बाबुले मिठो मुस्कान र उनको बोलीले नै होल्ड हुन्छन् ।

Batas

नेपाली बाबु भनेर बोलाइनेको वास्तविक नाम भने मंगल थापामगर हो । उनको शिरबाट भादगाँउले टोपी कहिल्यै हट्दैन सायद त्यसैले पनि होला उनलाई माया गरेर नेपाली बाबुको उपमा दिएको ।

उनको जीवनयात्रा पनि बडो गजवको छ । लमजुङबाट पढ्ने उमेरमा उनी रोजगारीका लागि पोखरा आए । पोखरा आउँदा उनी १९ वर्षका थिए । घरमा आर्थिक अवस्था कमजोर भएकोले पढाईलाई निरन्तरता दिन सकेनन् । १० कक्षा पढिरहँदा पढाइ छोड्नुप¥यो ।

घरको दुःखले उनलाई सानैबाट घर व्यवहार धान्नेबारे सोच्न बाध्य बनायो । उनले सानैमा बिहे पनि गरे । श्रीमती लिएर पोखरा आएका उनी पोखरामा के काम गर्ने कुनै टुंगो थिएन् । उनले काम खोज्न थाले । मम हाउसमा मम बनाउने काम पाए । केही समय यसैले जीविका चलाए ।

महिनाभरि काम गरेर उनले जम्मा ५ हजार रुपैयाँ पाउथे । मंगलको एक्लैको कमाईले खाने, लाउने कि कोठाभाडा तिर्ने मुस्किल प¥यो । उनी एक्लो थिएनन साथमा उनको श्रीमती पनि थिइन् । मंगलको श्रीमती ज्ञानुले श्रीमानलाई सघाउने सोचिन् र उनले पनि मंगलले काम गर्ने मःम हाउसमा भाडा माझ्ने काम गर्न थालिन् ।

गुजारा यसरी नै चलिरहेको थियो, यस्तैमा मंगलका वृद्ध बुबाको मृत्यु भयो । ऋण काढेर काजकिरिया गर्नुपर्ने भयो । साहूसँग ल्याएको ऋण मंगलको ५ हजार तलबले समयमा तिर्न सक्ने अवस्था थिएन । साहूको रुखो बचन उनका लागि सह्यै नभएपनि सहन बाध्य थिए ।

चटपट आईडिया

मंगलले पोखराका गल्लीगल्लीमा इन्डियन व्यक्तिहरुसँग चटपट बेचेर कमाइरहको देखे । तर, नेपाली खाने मात्रै । उनले आफूले पनि चटपट बेच्ने सोच बनाए । सोझो स्वभावका मंगललाई थाहा थिएन चटपट, पानीपुरीका लागि बनाउन केके चाहिन्छ । उनले कसैलाई सोध्दा पनि सोधेनन् । उनले तिनै भारतीय नागरिकसँग चटपट बनाउने ठाउँमा गएर हेरेर चाहिने सबै सामग्रीको नोटिस गरे ।

सुरुमा १८ सय रुपैयाँ जोहो गरे र टिनको भाडामा चटपट बेच्न थाले । चटपटको व्यापार राम्रै भइरहेको थियो । उनले पानीपुरी पनि बनाउने सोंचे । त्यसको लागि उनलाई गतिलो ठेलाको आवश्यक प¥यो । उनले चटपटबाट आएको केही रकम बचत गर्न थाले । २२ हजार रुपैयाँको दुई पाङग्रे ठेला बनाए र पानीपुरी पनि बेच्न थाले ।

चटपट व्यापार सुरु गर्दा २१ वर्षका थिए उनी । २१ वर्षे ठिटोले चटपट बेचेको देख्दा कतिले खिसी गर्थे । फर्केर उनलाई हेर्थे । चटपट बेचेको भएर ‘भैयाँ’ भन्दै पनि बोलाउँथे, हेप्न पनि भ्याउँथे ।

तर उनलाई दुःख गरेर खान लाज लागेन । उनी भन्छन् , ‘मैले मेरो देश छोड्न सकिन । विदेश जाने मन कहिल्यै आएन, विदेशमा बगाउने पसिना र दुःख गरे त मेरै देशमा पनि म कमाउन सक्छु भन्ने थियो । आफ्नै देशमा गरेर खान के को लाज शरम ।’

महिनामा ६५ हजार कमाई

मंगलको ठेलाबाट दिनमा ५ हजार रुपैयाँ बराबरको चटपट पानीपुरी बिक्री हुन्छ । नाफा मात्रै दिनमा कम्तिमा १५ सय निस्किन्छ । कहिलेकाँही त २ हजार पनि हुन्छ । कसैकोमा भाडा माझेर मुस्किलले ५ हजार पाउने मङगलले अहिले महिनामै कम्तिमा ६५ हजार कमाउँछन् ।

चटपट र पानीपुरी व्यापारबाटै उनले बुबाको काजकिरिया गर्दा लागेको क्रण तिरे । उनी कहाँ पुग्ने ग्राहकलाई उनले कहिल्यै निराश पार्दैन । अहिले उनलाई सबैले माया गर्छन् उनको मिहिनतको प्रशंसा गर्छन ।

सडकको पीडा

बाटोमा ठेला राखेर चटपट बेच्दा अप्ठ्यारो छ । एक त महानरपालिकाले लखेट्छ, अर्को पसलेले छेउछाउमा पर्न दिँदैनन् । तर, उनको यो बाध्यता हो ।

‘अरुको पसल अगाडि बसेर बेच्नुपर्छ तर यो मेरो बाध्यता हो । मेरोमा धेरै भीड हुन्छ । त्यसैले पसलका साहुहरुले यहीँ नबस भन्दै हर्काछन्,’ उनले पिडा पोखे ।

सडकमा बसेर बेच्दा नगर पुलिसबाट उनी धेरैपटक लखेटिएका छन् । एक पटक त उनको सामान नै लैदिए ।

उनी गर्व गर्दै भन्छन् ,‘सामान लिन जाँदा महानपालिकाका कर्मचारीले पनि मलाई माया गरेर नेपाली बाबु भन्दै सामान फिर्ता दिए । ’

उनले सडकमै बसेर चटपट बेचे पनि कर तिर्छन्, तर पनि लुकेर छिपेर व्यापार गर्नुपर्ने बाध्यता छ उनलाई । उनको एउटै धोको छ, आफ्ना ग्राहकलाई व्यवस्थित ठाउँमा, राम्रो कुर्चीमा राखेर सुविधासँग चटपट पानीपुरी खुवाउने ।

चटपटले दिएको सुख

मंगलको चटपट र पानीपुरी बेचेर आएको पैसाले नै घरव्यवहार चलिरहेछ । अहिले उनको साथमा श्रीमती ज्ञानु र ६ वर्षकी छोरी मञ्जरी छिन् । ६ हजार कोठाभाडा छ, छोरीलाई पश्चिमाञ्चल सेकेन्डरी स्कुलमा पढाएका छन् । परिवार सुखी र खुसी छ ।

‘पढ्न पाइन तर आज सडकमा बसेर चटपट बेच्दा पनि अरुको माया पाइरहेको छु यसैमा खुसी लाग्छ । आफूलाई भाग्यमानी लाग्छ,’ मङगल भन्छन् । सँगै रहेकी उनकी पत्नी ज्ञानु पनि आफूलाई भाग्यमानी ठान्छिन् । भन्छिन्, बुढाले पढ्न नपाए नि मिहिनती हुनुहुन्छ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.