www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा एक घर एक धारा

पर्वत।

खानेपानीको चरम समस्याबाट पीडित कुश्मा नगरपालिका–१३ खौलालाकुरीका स्थानीयवासीका लागि ‘एक घर एक धारा’ विस्तार गरिएको छ ।

लामो समयदेखि खानेपानीको चरम समस्या भोगिरहेका खौलालाकुरीका ५२५ घरमा धारा विस्तार गरिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको एक करोडको लागतमा एक घर एक धारा आयोजनाअन्तर्गत सो धारा जडान गरिएको हो ।

आयोजनाअन्तर्गत अहिलेसम्म १११ निजी र १३ वटा सार्वजनिक धारा बनेका छन । साविकको ३ नं वडा बाम्रामा १०, वडा नं २ हिलेमा ३, वडा नं १ र २ चनौटेमा ४६ घरलाई ४६, वडा नं ५ चालिसेडाँडाका ४४ घरलाई ४४, चपाईँ थरमा १२ र बाह्रमुनिमा आठ वटा धारा निर्माण भइसकेको स्थानीयवासी दिवाकर पौडेलले जानकारी दिए ।

पानीको बढी समस्या भएका साविकको वडा नं ४, ६ र ७ खौलाबजार र कोटशेरामा भने पानीको मुहाननै नभएका कारण लिफ्ट प्रणालीबाट योजना बनाउनुपर्ने आवश्यकता रहेको उनले जानकारी दिए । दुई गाउँ उच्च स्थानमा रहेका तथा भूकम्पका कारण पानीका मुहान नै सुकेका कारण दुई वटा गाउँमा भने पानीको समस्या कायमै छ । खानेपानी आयोजनापूर्व खौला क्षेत्रका स्थानीयवासीलाई खानेपानीको चरम अभाव रहँदै आएको थियो ।

स्थानीय सन्तोष थापाका अनुसार गाउँमा पानीको अभाव भएका कारण एक गाग्री पानी लिनकै लागि बिहानभरि पालो पर्खनुपर्ने बाध्यता रहेको थियो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख प्रेमकुमार डोटेलले सन् २०२० भित्र जिल्लाका सबै घरधुरीमा एक घर एक धारा विस्तार गर्ने गरी योजना अघि सारिएको बताए । उनले अहिलेसम्म जिल्लाका झण्डै १५ हजार घरधुरीमा धारा पुगिसकेको बताउँदै अब बाँकी क्षेत्रमा पनि योजना धारा निर्माण गरिने जानकारी दिए । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.