www.tandavnews.com
Fact ~ In search of truth

बजेट अभावमा अलपत्र वडा कार्यालय भवन निर्माण

म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा वडा कार्यालय भवन निर्माण भएको छ ।

तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयले जिल्ला प्राविधिक कार्यालयमार्फत आर्थिक वर्ष २०७३÷७४ मा निर्माण शुरु गरेको भवन मन्त्रालय खारेज भएपछि बजेट अभावमा अलपत्र थियो । गाउँपालिकाबाट बजेट व्यवस्थापन गरेर अलपत्र अवस्थामा रहेको भवन निर्माण कार्यलाई पूर्णता दिइएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिए ।

एक वटा सभाहलसहित पाँच वटा कोठा भएको एकतले भवनलाई पूर्णता दिन गाउँपालिकाले चालू आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । वडाध्यक्ष बरुवालले अलपत्र परेको भवनलाई पूर्णता दिएर वडा कार्यालय सञ्चालन गरेको बताए ।

विसं २०७३ असार ३० गते भगवती मालिका कन्ट्रक्सनसँग ३८ लाख ५० हजार ८ सय १८ रुपैयाँमा ठेक्का सम्झौता भएको भवनको जग बसालेर वरिपरि पर्खाल लगाउने काम गरिएपनि पहिलो तलाको ढलानसमेत भएको थिएन ।

गाउँपालिकाको सहयोगमा ढलाल, अधुरो पर्खाल निर्माण, रङ्गरोगन, फर्निचर, विद्युत्, पानी जडान लगायतका काम गरिएको उपभोक्ता समितिका अध्यक्ष शिवध्वज खड्काले बताए । वडा कार्यालय भवन योजनालाई अन्नपूर्ण गाउँपालिकाले घारको गौरवको योजना मानेको छ ।

यसअघि साँघुरो र पुरानो भवनको एउटा कोठाबाट भवन सञ्चालन गरिएको थियो । वडा कार्यालय सञ्चालन भएको एकतले पुरानो टिनको छाप्रोबाट घार स्वास्थ्य चौकी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को कार्यालयसमेत सञ्चालनमा थियो ।

साँघुरो भवनबाट तीन कार्यालयको सेवा प्रवाह गर्दा समस्या उत्पन्न भएको थियो । घारमा बनेको वडा कार्यालय भवन स्थानीय तहले म्याग्दीमा पहिलो पटक पालिका र वडाका लागि बनाएको संरचना हो ।तत्कालीन शान्ति मन्त्रालयको सहयोगमा अन्नपूर्ण गाउँपालिकाकै वडा नं ७ को साविक हिस्तान गाविस भवन, धौलागिरि गाउँपालिका–७ ताकमको वडा कार्यालय भवनसमेत अलपत्र परेका छन् ।

ताकमको वडा भवनका लागि जग खन्नेमात्र काम भएको छ भने २०७३ असोजमा सम्पन्न गर्ने लक्ष्य राखिएको साविक हिस्तान गाविसको भवन निर्माण योजनाको काम अहिलेसम्म शुरु भएको छैन ।ठेकेदारले अधकल्चो बनाएर छाडेको अन्नपूर्ण गाउँपालिका–५ शिखको साविक गाविस भवन गाउँपालिकाले बजेट व्यवस्थापन गरेर पूर्णता दिन लागिएको वडाध्यक्ष दिनेश तिलिजाले बताए । रासस

सांकेतिक तस्बिर: गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop