www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा सामूहिक आलुखेती तर्फ कृषक आकर्षित

तनहुँ ।

तनहुँको म्याग्दे गाउँपालिकाका कृषक सामूहिक आलुखेतीतर्फ आकर्षित भएका छन् । विगतमा धान, मकै, गहुँजस्ता अन्नबाली लगाइने ठूला फाँटमा कृषकले अहिले सामूहिक रुपमा आलुखेती शुरु गरेका छन् ।

यसअघि केही कृषकले निर्वाहमुखी रुपमा मात्र आलुखेती गर्ने गरेकामा गाउँपालिकाले व्यावसायिक आलुखेती गर्न प्रोत्साहन गरेपछि कृषक सामूहिक रुपमा आलुखेतीतर्फ आकर्षित भएका हुन् । म्याग्दे–७ का कृषक गोर्वद्धन काफ्लेले गाउँपालिकाले कृषकलाई समूहमा आबद्ध बनाई अनुदानमा बीउबिजन, प्रविधि, विषादीको वितरण तथा उत्पादित कृषिउपजको बजारीकरणको समेत व्यवस्था गरेपछि सामूहिक आलुखेती गर्न थालिएको बताए ।

Batas

विगतका वर्षमा व्यक्तिगत रुपले निर्वाहमुखीरुपले मात्र आलुखेती गर्दै आएकामा गत वर्षदेखि गाउँपालिकाले आलुखेतीमा अनुदान दिन थालेपछि समूह बनाएर आलुखेती गरिएको कृषक लक्ष्मी भण्डारीले बताए । उनले भने, “एक्लाएक्लै गर्दा गाउँपालिकाले सहयोग गर्न सक्ने अवस्था थिएन, समूह गठन गरी आलु खेती गर्दा गाउँपालिकाबाट समेत अनुदान प्राप्त भयो ।” उनले सामूहिक रुपमा आलुखेती गर्दा समयको बचतसँगै कृषकबीच आपसी सम्बन्धसमेत सुमधुर बनाउन सहयोग मिलेको बताए ।

गाउँपालिकाका पाँच वडामा अहिले १६ वटा समूह बनाई कृषकले आलुखेती गरिरहेका गाउँपालिकाका कृषि शाखा प्रमुख भविलाल रानाभाटले बताए। उनका अनुसार यस वर्ष करीब २० हेक्टर जमीनमा सामूहिक आलुखेती गरिएको छ । त्यसबाहेक व्यक्तिगत रुपमा लगाइएको आलुखेतीको आधिकारिक तथ्याङ्क भने आफूहरुसँग नरहेको उनले बताए । गाउँपालिकाले गाउँसभाबाट नै निर्णय गरी आलुखेती गर्न चाहने समूहलाई बीउमा ५० प्रतिशत अनुदान दिने निर्णय गरेको थियो ।

रानाभाटका अनुसार चालू आर्थिक वर्षमा पाँच लाख रुपैया बराबरको बीउ अनुदानमा वितरण गरिएको छ । गत वर्षबाट गाउँपालिकाभित्र व्यावसायिक आलुखेती शुरु गरिएको हुँदा गत वर्षको उत्पादनबाट केही प्रतिशत बीउका लागि छुट्याइएको थियो । गत वर्षको उत्पादनबाट छुट्याइएको बीउले छ हेक्टर जग्गामा बीउ पुगेको हुँदा यस वर्ष अनुदान रकम गत वर्षको भन्दा केही कमी भएको प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले बताए । उनका अनुसार गत वर्ष आठ लाखभन्दा बढी अनुदानमा खर्च भएको थियो ।

आगामी वर्ष क्रमशः अनुदान रकम घट्दै जाने गाउँपालिकाले जनाएको छ । यस वर्ष उत्पादित आलुबाट आगामी वर्षका लागि बीउसमेत कोल्ड स्टोरमा राखिने हुँदा अनुदान रकम घट्ने जनाइएको छ । अर्को वर्षका लागि सङ्कलित बीउ कोल्डस्टोरमा राख्न जान आउने ढुवानी खर्चसमेत गाउँपालिकाले उपलब्ध गराएको छ ।

जिल्लामा एउटा पनि चिस्यान केन्द्र नहुँदा कृषकले आफूलाई पायक पर्ने गरी पोखरा र नारयणगढमा गई कोल्डस्टोरमा राख्ने गरेका छन् । गाउँपालिकाको साँगे, रानीटारी, थर्पु, पयर, धयँरे, छाङपाटन, पिपलडिहीलगायतका क्षेत्रमा सामूहिक आलु खेती भइरहेको कृषि शाखा प्रमुख रानाभाटले जानकारी दिए । उनका अनुसार प्रतिहेक्टर १७ टन आलु उत्पादन हुने लक्ष्य लिइएको छ ।

गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले आगामी तीन वर्षभित्र गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउने लक्ष्य लिइएको जानकारी दिए । उनका अनुसार आफ्नै चिस्यान केन्द्र नहुँदा बीउ जोगाइ राख्न समस्या भएकाले गाउँपालिकाले नै चिस्यानकेन्द्र बनाउने बारेमा छलफल भइरहेको छ । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.