www.tandavnews.com
Fact ~ In search of truth

४ वर्ष बितिसक्दा पनि पुन :निर्माणको काम ५० प्रतिशत सकिएन

बलेवा ।

चार वर्षअघि वैशाख १२ गते गएको भूकम्पले बागलुङका दुई हजार ३७५ घरमा पूर्ण क्षति भयो । उक्त क्षतिकै आधारमा पुनःनिर्माण प्राधिकरणले रातो कार्ड दिएर लाभग्राही घोषित गरेपछि पुनःनिर्माणको काम थालेको थियो ।

चार वर्ष बितेपछि घर बनाउने काम भने ५० प्रतिशत पनि सकिएको छैन । त्यसो त प्राधिकरणले ८० प्रतिशत काम सकिएको दाबी गर्न छाडेको छैन । प्राधिकरणले पटक–पटक फेर्ने प्रावधान र अनुदानको किस्ता वितरणको कठिनाइले पीडित अझै पीडित बनिरहेका छन् ।

Batas

बागलुङमा पनि पूरै घर बन्ने २५ प्रतिशत पनि पुगेका छैनन् । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ प्रमुख रामआशिष साहका अनुसार अहिले सम्म ५०० घरले मात्र तेस्रो अनुदान लगेका छन् । यो २५ प्रतिशतभन्दा कम हो ।

दोस्रो किस्तातर्फ भने एक हजार १०० ले लगेको साहले बताए। यो सङ्ख्या ५० प्रतिशतभन्दा कम हो । अनुदान सम्झौता गरेर पहिलो किस्ता लैजाने लाभग्राही भने दुई हजार १०० छन् । अझै झण्डै २५० घरले पहिलो किस्ताका लागि सम्झौता समेत गर्न सकेका छैनन् । यो हुनुमा कम क्षति भएका जिल्लाको कार्यक्रम नै ढिला आएको, आएपछि पनि पटक–पटक कार्यालय तथा कर्मचारी अभाव र स्थिरता नभएको पनि टिप्प्णी हुन थालेको छ ।

सरकारले अबको एक वर्षभित्रै सबै काम सक्ने गरी आयोजना सञ्चालन गर्न भनेको छ । भूकम्पको इपिसेन्टर रहेको गोरखाको बारपाक र लाप्राकझैँ यहाँका कुनै पनि स्थानमा काम नभएकाले प्रगति न्यून देखिएको हो ।

राज्यको ध्यान पनि बढी क्षति भएका जिल्लामा मात्र भएको र कम क्षति भएका जिल्लाको बारेमा थोरै मात्र सोचेको टिप्पणी पनि हुने गरेको छ । पहिलो किस्ता लिएर आफ्नै डिजाइनले घर बनाएका पनि धेरै छन् । तोकिएको मापदण्ड र डिजाइन नबनाएकै कारण दोस्रो र तेस्रो किस्ता पाउने बढाउन नसकिएको प्राविधिक बताउँछन् ।

काम र दुःख गरेका लाभग्राहीले सामान्य त्रुटी गर्दा अनुदान सिफारिशका लागि समस्या भएको इञ्जिनीयर रक्षा श्रेष्ठले बताए । विसं २०७२ को भूकम्पले बागलुङका दुई हजार ३७५ घर पूर्ण क्षति भएका थिए । कम क्षति भएका जिल्लामा परेकाले कार्यक्रम ढिला शुरु भएको साह बताउछन् ।

तीमध्ये अहिलेसम्म दुई हजार ११० घरले सम्झौता गरेका छन् । जिल्लाभित्र चालू वर्ष ४० विद्यालय र बुर्तिवाङदेखि तमानखोला जाने एक सडकको १० किमी खण्ड पुनःनिर्माणको काम भइरहेको छ । ती पूर्वाधार बनिसकेपछि आगामी वर्ष थप विद्यालय निर्माण गरिने जिल्ला आयोजना अनुगमन समितिका संयोजक राजेन्द्र ढुङ्गानाले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.