दुल्लु ।
सामान्यतया, चैत वैशाखमा अत्यधिक गर्मी हुन्छ । तर यो वर्ष चैत वैशाखमै बर्खा लागेजस्तै भयो । त्यही कारण खोलाको बिचमै बसेका फिरन्ते जाती राउटे खोला बढ्ने डरले अली पर सरेका छन् ।
सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला बिचमै बसेका राउटे समुदाय खोला तर्काउन लगाइएको तटबन्धदेखि करीब दुई समय मिटर पर बसाइँ सरेका छन् । प्रतिनिधिसभा सदस्य डा डिला सङ्ग्रौला त्यहाँ पुग्दा राउटे मुखिया सूर्यनारायण शाहीले समुदायको व्यथा सुनाउन थाले ।

‘बर्खा लाग्न थाल्यो, बस्तीमा खाद्यान्न सङ्कटको पीडा त्यतिकै छ, सरकारले दिने महीनाको दुई हजार रुपैयाँले महीनाभरी प्राण धान्न मुस्किल हुन्छ”, उनले भने, “सरकार हामीलाई पाल र खाद्यान्न देऊ ।”‘बर्खा लाग्नेबेला भइसक्यो, अब त हामीलाई पाल चाहिन्छ, उनले भने । मुखिया शाहीले प्रतिनीधिसभा सदस्य डा. सङ्ग्रौलामार्फत सरकारसँग बर्खामा पाल र आवश्यक खाद्यान्न व्यवस्थापन गरिदिन माग गरे ।
काठबाट कलात्मक सामग्री निर्माण गरेर त्यसको बिक्रीबाटै जीविकोपार्जन गर्दै आएका राउटे समुदायका अवस्था नियाल्दै प्रतिनीधिसभा सदस्य डा. सङ्ग्रौलाले भने, “मुलुक नयाँ युगमा प्रवेश गरिसकेको छ, पुर्नजागरणको युगमा प्रवेश गरेको छ तर राउटे समुदायको अवस्था हेर्दा अहिले पनि ढुङ्गे युगमा छन् ।”
लोपोन्मुख जातिको रुपमा रहेका राउटेलाई संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले उनीहरुलाई परिवर्तन गराउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए ।‘नयाँ बस्ती बसालेर शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था गर्नुपर्छ, उनले भने, “यो समुदायलाई यही ढुङ्गे युगमा छोड्नु हुँदैन् ।” सांसद डा .सङ्ग्रौलाले राउटे समुदायलाई कसरी रुपान्तरण गर्ने भन्ने विषयमा ठोस् कदम चाल्न सरकारलाई आग्रह गरे ।
राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेर मात्र नहुने बताउँदै डा .सङ्ग्रौलाले उनीहरुलार्ई सामाजिकीकरण गर्नका लागि शिक्षामा जोड दिनुपर्छ भने । राउटे समुदायमा सामाजिक घुलमिलनको अभियान चलाउनुपर्नेमा जोड दिदैं उनले यस समुदायका कला संस्कृतिलाई बचाइराख्नुपर्ने बताए ।
राउटे बस्तीमा हाल ४६ घरपरिवार छन् । जम्मा एक सय ४६ जनाको सङ्ख्यामा रहेको राउटेले यसअघि जङ्गलमा बाँदर र गुनाको शिकार गरेर छाक टार्ने गरेका थिए । तर, पछिल्लो समय जङ्गली जनाबर नै पाउन छाडेपछि समस्या भएको उनीहरू बताउँछन् । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.