पोखरा
ताण्डव न्युज ।
गण्डकी प्रदेश सरकारले रकमान्तर गरेर प्रदेशका विभिन्न प्रहरी कार्यालयमा मोटरसाइकल किनिदिने भएको छ । बिहीबार साँझ बसेको मन्त्री परिषदको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु वर्षको कार्यक्रममा प्रहरी कार्यालयहरुलाई सुरक्षित मुन्द्रणालय(प्रेस) स्थापना गर्न छुट्याइएको १ करोड रुपैयाँमा ९२ लाख रुपैयाँ बाकी रहेको र सोही रकम रकमान्तर गरी मोटरसाइकल किन्ने निर्णय भएको सरकारका प्रवत्ता रामशरण बस्नेतले जानकारी दिए ।
‘आन्तरिक मामिलाले रकमान्तर गरी प्रहरीलाई मोटरसाइकल किन्ने प्रस्ताव ल्यायो,’ भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका बस्नेतले भने, ‘प्रदेश प्रहरी, प्रशासन साथै शान्ति सुरक्षाको समेत जिम्मेवारी प्रदेश सरकारलाई पनि आएको र प्रदेश प्रहरी गठन हुन बाँकी रहेपनि शान्ति सुरक्षाको जिम्बेवारी प्रदेश सरकारको रहेकोले प्रहरीलाई साधन स्रोतले ब्यवस्थित गर्न रकमान्तर गर्ने निर्णय गरियो ।’
![Batas](https://www.tandavnews.com/wp-content/uploads/2022/04/Batas.jpg)
९२ लाखमा कति संख्यामा मोटरसाइकल खरिद गर्न मिल्छ, कस्तो प्रकारको मोटरसाइकल खरिद गर्ने भन्ने सबै जिम्मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई दिइएको बस्नेतले जानकारी दिए ।
मोटरसाइकल खरिद गर्दा सार्वजनि खरिद ऐन अनुसार नै खरिद गर्ने कानुन मन्त्री हरिबहादुर चुमान बताउँछन् । ‘मुद्रणको यो वर्ष रकम खर्च नहुने भएकोले यता खर्च गर्ने भयौँ,’ उनले भने, ‘आवश्यकता के हो र प्रहरीको सेवा चुस्त गर्न कसरी सकिन्छ भनेर हामीले यसलाई प्राथमिकता राखेको हौँ ।’
प्रदेश प्रहरी ऐन नबनेकोले पनि अहिले आवश्यकता अनुसार मोटरसाइकल तथा सवारी प्रहरीलाई उपलब्ध गराउन नसकेको समेत बताए । उनले प्रदेशभरीबाट १०५ वटा मोटरसाइकल एकै पटक माग भएको तर, रकम अपुग हुने भएकाले यस पटक ९२ लाख रुपैयाँले जति आउँछ त्यति किनेर वितरण गर्ने बताए । प्रदेश सरकारले प्रदेश प्रहरी संगठनको लागि १२ करोड रुपैयाँ विनियोजन गरेपनि ऐन नबनेकोले खर्च गर्ने बाटो नखुलेको मन्त्री चुमान बताउँछन् ।
त्यस्तै विहीबारको मन्त्री परिषदको बैठकले नेपालको संविधान धारा १८३ उपधारा १ बमोजिम प्रदेश सभाको वर्षे अधिबेशन प्रदेश सभा सदस्यहरुलाई कम्तीमा सात दिन अघि सूचना दिएर जेठ १५ गते बुधबार १ बजे प्रदेश सभा बैठक बोलाउन संविधानको धारा १६६ को उपधारा २ बमोजिम प्रदेश प्रमुखलाई सिफारिस गरेको बस्नेतले जानकारी दिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.