www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ घुम्टेमा खच्चडमा सामग्री लगेर मन्दिर पुनःनिर्माण

बागलुङ ।

पर्यटकीय लेक घुम्टेस्थित सिद्ध र भैरव मन्दिरको पुनःनिर्माण भइरहेको छ । सडक नुपगेकाले घुम्टेमा निर्माण सामग्री पुर्याउनै हम्मे पर्छ । खच्चडले बालुवा, ढुङ्गा, सिमेन्ट र फलामका रड दैनिक खेप गर्छन् ।

करीब तीन हजार १२० मिटर उचाइमा मजदूर काममा खटेका छन् । तलैबाट अन्नपानी बोकेर लगेका छन् । टहरामा रात बिताउँछन् । कठिन परिस्थितिका बीच मन्दिर पुनःनिर्माणले भने गति लिएको छ ।पर्यटन मन्त्रालयको २० लाख बजेटबाट मन्दिर पुनःनिर्माण हुन लागेको उपभोक्ता समितिका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए । ‘‘असारभित्रै पुनःनिर्माण सकिन्छ’’ उनले भने । घुम्टेमा ढुवानी र मजदूर खटाउनु उत्तिकै खर्चिलो छ ।

Batas

‘‘खच्चडले दिनमा एक खेप मात्र गर्छन्’’ अध्यक्ष बस्नेतले भने, ‘‘खच्चडको ढुवानीमा मात्र चार लाख खर्च लाग्ने देखिएको छ ।’’ भारीसहित आठ घण्टामा खच्चड घुम्टे पुग्छन् । मानिसलाई पनि उत्तिकै समय लाग्छ । २५ किलो सामग्री बोकेको एक हजार ५०० लिन्छन् । निर्माण सामग्री हरिचौर र हिलबाट घुम्टे पुर्याइन्छ ।

घुम्टे मानव बस्तीदेखि चार घण्टा टाढा छ । ठाडो उकालो चढ्नु पर्ने भएकाले कतिपयलाई बढी समय लाग्छ । सडक नभएपछि पदमार्ग भने व्यवस्थित गरिएको छ । गलकोट नगरपालिकाले घुम्टेदेखि केही तलसम्म सडक पुर्याउने योजना बनाएको छ ।

गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने घुम्टे धार्मिक र पर्यटकीय महत्व बोकेको स्थल हो । वर्षेनी वैशाख पूर्णिमामा घुम्टेमा ठूलो मेला लाग्ने गर्छ । विगत सात वर्षदेखि नयाँ वर्षमा ‘गुराँस उत्सव’ पनि हुँदै आएको छ ।

घुम्टेको शिरमा अवस्थित सिद्ध र भैरव मन्दिरको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । द्वापर युगमा पाँच पाण्डव घुम्टेमा वनवास गएको किम्बदन्ती छ । पाण्डवहरुले तपस्यारत बालसिद्धको दर्शन गरेका दिनदेखि घुम्टेमा पूजाआजा हुन थालेको जनविश्वास छ ।

सदियौँदेखि झुपडीमा रहेका मन्दिरको स्थानीयवासीले २०५६ सालमा स्तरीकरण गरी पक्की बनाएका थिए । २० वर्षपछि तिनै मन्दिरलाई आधुनिक र कलात्मक बनाउन लागिएको हो ।दुवै मन्दिर शिखर शैलीमा बन्ने गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए । ‘‘चुचुरोमा भएकाले ठूला मन्दिर बनाउन ठाउँ छैन’’ उनले भने, ‘‘दुई तले कलात्मक मन्दिर बन्छन् ।’’

गाह्रो लगाउन स्थानीय ढुङ्गा र झ्याल–ढोकामा सालको काठ प्रयोग गरिनेछ । गण्डकी प्रदेशको नयाँ पर्यटकीय गन्तव्य सूचीमा परेको घुम्टेको पर्यटन गुरुयोजनाको काम पनि अघि बढाइएको छ । यसअघि पर्यटन मन्त्रालयकै सहयोगमा पदमार्ग निर्माणलगायतका काम भएका छन् ।

आउँदो आर्थिक वर्षका लागि पनि पर्यटन मन्त्रालयबाटै २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । उक्त बजेट पनि पूर्वाधार निर्माणमा खर्च गरिनेछ । घुम्टेलाई सङ्घीय सरकारकै पर्यटन गन्तव्य सूचीमा पार्न पहल भइरहेको सांसद मनकुमारी केसीले बताए ।

घुम्टेको पर्यटन विकास र प्रर्वद्धनमा गलकोट घुम्टे पर्यटन विकास केन्द्रले अगुवाइ गर्दै आएको छ । केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ र नयाँ वर्षको दिनलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ ।

घुम्टेमा रहेको घना जङ्गलमा विभिन्न प्रजातिका गुराँस फूल्ने गर्छन् । गुराँस फुल्ने याममा पर्यटक लोभ्याउन ‘गुराँस उत्सव’ गर्ने गरिन्छ । विसं २०७० मा भएको मैत्रीपूर्ण पर्यटन भेलापछि घुम्टेमा पर्यटकीय गतिविधि बढेका छन् ।

केन्द्रसँग घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वन क्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना पनि माग गरिएको छ । बागलुङ सदरमुकामदेखि तीन घण्टा मोटर र चार घण्टाको पदयात्रापछि घुम्टे पुग्न सकिन्छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.