www.tandavnews.com
Fact ~ In search of truth

गुठीयारका माग सम्बोधन गर्न प्रशस्त मार्ग छ : सांसद

काठमाण्डौँ ।

सत्ता पक्षका सांसदले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक गुठीलाई व्यवस्थित बनाउन आएको जिकिर गर्दै यसमा गुठीयारका माग सम्बोधन गर्न सकिने मार्ग प्रशस्त रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनीहरुले विधेयक सदनमा नआइसकेको अवस्थामा अनावश्यक हल्ला गर्नु दुःखद् रहेको हुँदा त्यस्तो हल्लाका पछाडि नलाग्न आन्दोलनरत गुठीयारसित आग्रहसमेत गरे ।तर प्रमुख प्रतिपक्षी दलका सांसदले गुठी परम्परा र संस्कृतिलाई तहसनहस बनाउन गुठीसम्बन्धी विधेयक आएको भन्दै विधेयक फिर्ता लिई नयाँ विधेयक ल्याउन सरकारसित आग्रह गरे ।

नेकपाका सांसद शान्ता चौधरीले गुठीलाई व्यवस्थित बनाउन गुठीसम्बन्धी विधेयक आएको हुँदा यसले गुठी र संस्कृतिलाई तहसनहस नगर्ने जिकिर गरे ।नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सरकारले संविधानमा रहेको विचार र अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकलाई कुण्ठित पार्न खोजेको आरोप लगाउँदै गुठी एवं सूचना प्रविधिसम्बन्धी विधेयक जनभावना विपरीत रहेको हुँदा फिर्ता लिन सरकारसित माग गरे।

नेकपाका सांसद केदार सिग्देलले विकास निर्माणलाई समयमा सम्पन्न गर्न, सुशासन र भ्रष्टाचार नियन्त्रणमा ध्यान दिन आग्रह गरे । सांसद राजेन्द्र लिङ्देनले गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन सरकारसित आग्रह गर्दै विधेयकले सनातन समयदेखि चल्दै आएको परम्परामाथि असर पर्न सक्ने बताए ।

सांसद इन्दुकुमारी शर्माले लोकसेवा आयोगको विज्ञापनलाई संविधानको भावनाअनुरुप समावेशी र समानुपातिक नभएको गुनासो गरे । सांसद प्रकाश रसाइलीले बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अगाडि नबढेकामा प्रश्न गर्दै सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाए ।

सांसद गौरीशङ्कर चौधरीले कैलाली र कञ्चनपुरमा हालैको हावाहुरीले क्षति पुर्याएका घर पुनःनिर्माण, राहत, घाइतेको उपचार तथा बिजुली बत्ती, खानेपानी सञ्चालन गर्न सरकारसित माग गरे ।अर्का सांसद मेटमणि चौधरी र विमला विकले गुठीसम्बन्धी विधेयकले गुठीलाई व्यवस्थित बनाउन खोजेको, जात्रा र पर्वलाई अझ जीवन्त बनाउने र संस्कृतिलाई जोगाउने बताए ।

सांसद गङ्गा चौधरीले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका गुठीका अवस्था फरक रहेकोतर्फ ध्यान दिन आग्रह गर्दै विधेयक आउनु राम्रो रहेको बताए ।सांसद प्रेम सुवालले सभ्यता र संस्कृतिको संरक्षण गर्न स्थानीय निकायलाई दिनुपर्ने र गुठीसम्बन्धी विधेयक सच्याउन सरकारको ध्यानाकर्षण गराए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.