www.tandavnews.com
Fact ~ In search of truth

सत्तापक्षको कुर्सीमा डा. बाबुराम भट्टराई

काठमाडौं ।

समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संसदमा सत्ता पक्षको सांसदको कुर्सीमा बस्ने थालेका छन्। डा.भट्टराई बिहीबारको संघीय संसद प्रतिनिधिसभाको बैठकमा सत्तापक्षको कुर्सीमा बसेका हुन्।

तत्कालीन संघीय समाजवादी पार्टी, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच एकता भएर समाजवादी पार्टी बने पनि कानुनी रूपमा पार्टी एकीकरण पूरा नहुँदा उनी विपक्षी सांसदको हैँसियतमा बस्दै आएका थिए।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले निर्वाचन आयोगले दुई पार्टीबीच एकता भएको पत्र पढेर सुनाएका थिए। त्यससँगै उनी सत्तापक्षको सांसदको सिटमा बसेका हुन्। तत्कालीन नयाँ शक्तिबाट डा. भट्टराई मात्र सांसद भएकाले उनी स्वतन्त्र सांसदको रूपमा रहँदै आएका थिए।

समाजवादी पार्टी अहिले सरकारमा रहेको छ। समाजवादीका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित सरकारमा रहेका छन्। डा. भट्टराई सत्तापक्षको कुर्सीमा बस्न थालेकोमा सांसदहरूले बधाई दिएका थिए।

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडा, समाजवादीका सांसदहरू उमाशंकर अरगरिया र रेनुका गुरुङले बधाई दिनुका साथै स्वागत गरेका थिए। सांसद खतिवडाले व्यंग गर्दै भनेका थिए, विवाहपछि महिला माइतिकै घरमा बसेको भन्दा श्रीमानसँग बसेको सुहाउँछ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.