www.tandavnews.com
Fact ~ In search of truth

कम्युनिष्टको धर्म नै जनता हुन् :उपप्रम पोखरेल

काठमाडौं ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एकता र समर्पण नै विकासको आधार रहेको बताएका छन् ।

सूर्यविनायक नगरपालिका–४ स्थित पुरातात्विक, धार्मिक तथा ऐतिहासिक महत्वको अनन्तलिङ्गेश्वर महादेव मन्दिर तथा झोलुङ्गे पुल उद्घाटनका क्रममा सोमबार उनले नेपाल अनुपम, सभ्यता र संस्कृतिको देश भएकाले यसको पहिचान जोगाउनुपर्नेमा जोड दिएका हुन् ।

विकासको नाममा सभ्यता र संस्कृतिको विनाश हुँदै गएकामा चिन्ता व्यक्त गर्दै उनले जनप्रतिनिधि र सरकारी निकायलाई परापूर्वकालदेखिको हाम्रो धरोहरको विनाश हुने गरी काम नगर्न पनि आग्रह गरे ।

पुर्खाहरुले बनाएको कुनै पनि चीज कम्युनिष्टहरुले विनाश नगर्ने जानकारी दिँदै उनले भने, “कम्युनिष्टहरु धर्म मान्दैनन् भन्ने कहीँकतै सुन्ने गरिएको छ तर कम्युनिष्टको धर्म भनेको नै जनता हुन् । धर्म जनताको हित गर्ने प्रकारको हुनुपर्छ । जनताको हित नै कम्युनिष्टको धर्म हो । जनता नै देशको सबैभन्दा ठूलो शक्ति हो । त्यसैले जनताको भावना र चाहना अनुसारको काम हुनुपर्छ ।”

उपप्रधानमन्त्री पोखरेलले सांसद महेश बस्नेतको नेतृत्वमा भइरहेको विकास अभियानले भक्तपुरको विकासले एक–दुई वर्षभित्रमा कायापलट गर्ने लक्षण देखापरेको उल्लेख गरे ।

सांसद बस्नेतले भक्तपुर सम्पदाहरुको महत्वपूर्ण स्थल भएको चर्चा गर्दै यहाँबाट उपत्यकाका तीनवटै शहरका साथै २२ वटा हिमशृङ्खला देख्न सकिने भएकाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने धारणा व्यक्त गरे।

पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले सरकारको विकासको कदमलाई सबै पक्षबाट सहयोग हुनुपर्ने बताए ।जिल्ला प्रशासन कार्यालयका प्रमुख नारायणप्रसाद भट्ट, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, पुरातत्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहाल र पूर्वसांसद केदार सञ्जेल लगायतले पुरातात्विक सम्पदाको संरक्षण र संर्वद्धनमा सबैको सहयोग रहनुपर्नेमा जोड दिए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.