www.tandavnews.com
Fact ~ In search of truth

नवलपरासीमा नेकपाले लगायो उम्मेदवार टुंगो

नवलपरासी ।

नवलपरासीको पहाडी क्षेत्र बौदीकाली गाउँपालिका–५ मा हुने अध्यक्ष पदको निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरले उम्मेदवारको टुङ्गो लगाएको छ ।

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाले उम्मेदवारको टुङ्गो लगाएको हो । नेकपाले वडाध्यक्षका लागि खिमबहादुर थापा खरुमगरलाई निर्वाचनमा उठाउने सर्वसम्मत निर्णय गरेको छ ।

जिल्ला कमिटीको बैठकले सर्वसम्मतरूपमा खरुमगरलाई वडाध्यक्ष पदमा उठाउने निर्णय गरेको नेकपा जिल्ला कमिटी अध्यक्ष रोशनबहादुर गाहाले बताए । खरुमगर बौदीकाली–५ नेकपाको वडा कमिटी सदस्यका रुपमा रहेका छन् । तत्कालीन नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्ष दलबहादुर खरूमगरको हृदयघातका कारण निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुनलागेको हो ।

बाजुराः त्रिवेणी नगरपालिका–१ मा वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले सर्वसम्मत उम्मेदवार छनोट गरेका छन् । उपनिर्वाचनका लागि सर्वसम्मत उम्मेदवार छनोट गरिएको दुवै पार्टीका नेताले जनाएका छन् । नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित खम्म नेपालीको २०७५ असार १३ गते जिप दुर्घटनामा परी मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि नेकपाले मनोज बुढालाई उम्मेदवार बनाएको छ भने नेपाली काङ्ग्रेसले खगेन्द्र चदारालाई उम्मेदवार बनाएको छ । पार्टीकै सर्वसम्मतिबाट पुरानै प्रतिस्पर्धी भएकाले बुढालाई नै उम्मेदवार बनाउने निर्णय गरिएको नेकपाका सचिव भरत बुढाले बताए। तत्कालीन नेकपा (एमाले)बाट उम्मेदवार बनेका बुढा ३५ मतले पराजित भएका थिए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.