www.tandavnews.com
Fact ~ In search of truth

हिमालयको बेइजिङ उडानमा ७० प्रतिशत अकुपेन्सी

काठमाडौं ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायु सेवा प्रदायक हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ गन्तब्यमा आशातित व्यापार भइरहेको जनाएको छ ।

बेइजिङ उडानमा अहिले ७० प्रतिशतसम्म अकुपेन्सी रहेकामा चीनतर्फबाट अकुपेन्सी राम्रो रहे पनि नेपालबाट चीन जाने यात्रुको सङ्ख्या भने अपेक्षितरुपमा बढ्न नसकेको एयरलाइन्सको भनाइ थियो ।

बेइजिङ गन्तब्यको बजारमा हिस्सा बढाउन कम्पनीले बजारीकरणलाई प्रभावकारी बनाउने कम्पनीका सेवा सुधार शाखा प्रमुख उज्जवला दलीले बताए । उनले भने, ‘बेइजिङ उडानमा अहिले ६० र ७० प्रतिशत अकुपेन्सी छ । उता (चीनतर्फ) बाट यात्रुको आगमन राम्रै छ । नेपालबाट चीन जाने यात्रुको सङ्ख्या कम छ, अकुपेन्सी बढाउन बजारीकरणको कामलाई प्राथमिकता दिन्छौँ ।’

नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालयले गत कात्तिक १० देखि बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा व्यावसायिक उडान शुरु गरेको थियो ।

नेपाल भ्रमण वर्ष २०२० अभियानको सँघारमा काठमाडौँ र बेइजिङबीच सिधा हवाई सम्पर्क स्थापना भएसँगै चीनबाट बढीभन्दा बढी पर्यटक नेपाल भित्रने अपेक्षा गरिएको छ । भ्रमण वर्ष अवधिमा चीनबाट पाँच लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ ।

सन् २०१८ मा एक लाख ६० हजार चिनियाँले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को आठ महिनाको अवधिमा अघिल्लो वर्षको सोही अवधिमा १० प्रतिशतले चिनियाँ पर्यटक बढेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ ।

चीनबाट वार्षिक १५ करोड विश्व भ्रमणमा जाने गरेको विभिन्न तथ्यांकले देखाउँछ । त्यसको केही हिस्सा मात्रै नेपाल भित्र्याउनसके नेपालको पर्यटनले सकारात्मक फड्को मार्ने सरकारी अधिकारी बताउँछन् ।

हिमालय एयरलाइन्सले १५८ सिट क्षमताको एयर बस ३२० जहाजबाट काठमाडौँ–बेजिङ उडान गरिरहेको छ । हिमालयले सातामा तीन दिन आइतबार, मङ्गलबार र शुक्रबार उडान गर्ने तालिका छ । यो मार्गमा एकतर्फी न्यूनतम भाडा दर रु २४ हजार पर्ने जनाइएको छ ।

काठमाडौँ बेइजिङ मार्गमा एकतर्फी उडान समय ५ः३० घण्टा हाराहारीको हुन्छ । हिमालयले हाल बङ्गलादेशको ढाका, युएइको अबुधाबी, दुबई, साउदी अरबको दमाम र कतारको दोहामा सिधा उडान गर्दै आएको छ । बेइजिङसँगको सिधा उडान नेपालको पर्यटन प्रर्वद्धनका लागि कोसेढुङ्गा सावित हुने कम्पनीले उल्लेख गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.