www.tandavnews.com
Fact ~ In search of truth

साग प्रचारप्रसार : बैधानिक समिति बाइकट् गर्दै राखेप सदस्यद्धारा मनोमानी भर्ती

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

सन् २०१६ मा १२ औं दक्षिण एशियाली खेलकुद (साग) भारत (गुवाहाटी र सिलोङ) मा समापन अवसरमै १३ औं संस्करण नेपालमा हुने पक्का भयो । तर, नेपालले तयारी सुरु नै गरेन । तयारी नभएको कारण देखाउँदै दुई पटकसम्म धकेलिएको साग अन्ततः डिसेम्बर १ देखि काठमाडौं र पोखरामा जारी छ ।

सुरु नै नगरिएको तयारी दोस्रो पटक मिति तय भएपछि बल्ल चौबिसै घण्टा काम गरेर कामचलाउ पूर्वाधार तयार गरियो । विभिन्न समिति उपसमितिहरु गठन गरेर कामहरु अघि बढाइए ।

Batas

सोहि अनुरुप प्रचारप्रसार समिति पनि गठन गरियो । काठमाडौं र पोखरामा छुट्टा छुट्टै समिति गठन भए । काठमाण्डौमा मूल संयोजकमा गैरमिडियाकर्मी शिव कोइराला (ज्वाला) लाई प्रचार कमिटिको जिम्मा लगाइयो । खेलकुद पत्रकारको प्रमुख संस्था नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) सँग समन्वय समेत गरिएन । राष्ट्रिय खेलकुद परिषद्सँगको सहकार्यमा एनएसजेएफले नै गोदावरीमा साग केन्द्रित गरी खेलपत्रकारलाई अभिमुखिकरण तालिम दियो । मूख्य संयोजक नै त्यहाँ देखिएनन् । प्रचारप्रसार कमिटिसँग काठमाण्डौका खेलपत्रकारको गुनासो सुनियो ।

पोखरामा खेलकुद पत्रकार मंच गण्डकीका पूर्व अध्यक्ष केशव पाठकलाई पोखराको प्रचार प्रसार समितिको जिम्मा दिइयो । सुरुमा केही पत्रकार नै असन्तुष्ट रहे । पाठकको संयोजकत्वमा ११ जनाको समिति गठन भएर काम भइरहेको छ । केन्द्रकै मनोनयनमा गठित यस समिति यतिबेला बजेट अभावका कारण निल्नु न ओकल्नुको अवस्थामा काम गरिरहेको छ ।

तय गरिए अनुरुपको बजेट आउन नसकेको कारण प्रचारप्रसारलाई तिब्रता दिन नसकिएको समितिका संयोजकदेखि सबै सदस्यहरु तीतो पोख्छन् । हालसम्म २ लाख रुपैंयामात्र बुझेको र अरु आउने प्रक्रियामा रहेको संयोजक पाठक बताउँछन् ।

‘राष्ट्रको गौरवसँग जोडिएको यस प्रतियोगितामा उल्लेख्य दर्शकको सहभागीता गराउन हामीले इस्टिमेट सहित रकम माग गरेका थियौँ । एक करोड इस्टिमेट गरिएको थियो, अहिलेसम्म २ लाख आएको छ’ सह संयोजक रञ्जन अधिकारी अधिकारी थप्छन् ‘थप ३ लाख लिन ताकेता गरेका छन् । हामीले काममा खटिने पत्रकारलाई दिन पुग्ने त दिनुस् भनिरहेका छौं ।

उनका अनुसार अहिले पोखरामा संचालित आठ खेलको लागि समाचार, फोटो र भिडियोको तीन टीमले काम गरिरहेका छन् । यसका लागि ३० जना भन्दा बढी पत्रकार खटिएका छन् । उनीहरुलाई दैनिक श्रमज्याला दिएर काममा खटाइएको अधिकारी बताउँछन् । ‘पोखराका केही पत्रिका, रेडियो तथा अनलाइनहरुमा विज्ञापन दिन भनिरहेका छौं ।’ उनले भने– ‘पत्रकार तथा मिडिया हाउसबाट आउने प्रश्नको जवाफ पनि दिन नसक्ने अवस्थामा छौं ।’

पोखराका पत्रकारहरु एक्रिडियशन कार्ड समेत भिर्न नपाएको गुनासो गरिरहेका छन् । दुई दर्जन जतिले अझै एग्रिगेशन कार्ड पाएका छैनन् । उनीहरुले अस्थायी पास लिएरै काम गरिरहेका छन् ।

स्रोतका अनुसार राखेप सदस्य राजेश गुरुङले भत्ता उपलब्ध गराएरै आफ्नो मातहतमा समिति बनाएका छन् । उनी पोखरामा जारी सागको व्यवस्थापक समेत हुन् । आफु निकटका केही पत्रकारहरुलाई समेटेर बेनामे समिति बनाइएको स्रोतको दाबी छ । स्रोत भन्छ‘काम प्रचारप्रसार नै हो भन्छन् । पोशाकसहित दैनिक भत्ताको व्यवस्था पनि रैछ । खै उनिहरुले के प्रचारप्रसार गरेका छन् थाहा छैन ।’

सागको मुख्य प्रचारप्रसार समितिबाटै मनोनयन भएको बैधानिक समिति लत्याउँदै स्वतःस्फुर्त समिति बनाएको प्रति राखेप सदस्य गुरुङ सहमत छैनन् । उनले खटिएका पत्रकारलाई पारिश्रमिक स्वरुप उपलब्ध गराइएको जनाए । ‘खटिएका पत्रकारहरुलाई दिने भनेको हो । त्यस्तो समिति भनेर केही छैन ’उनले भने‘यस्तो बेला नेगेटिभ कुरा खोतल्ने हैन ।’ ताण्डवसँगको कुराकानीमा उनले घुमाउरो पारामा आफ्नै मनोमानीमा भत्ता उपलब्ध गराइएको स्वीकारे ।

कुन पत्रकारलाई कहाँ खटाउने ? कसरी खटाउने ? अधिकार प्रचारप्रसार समितिलाई छ । तर गुरुङले समितिसँग समन्वय नै नगरी केही ब्यक्ति भर्ती गरेका हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.