www.tandavnews.com
Fact ~ In search of truth

लोप हुने खतरामा गण्डकी सभ्यता

खेमराज गौतम
गलकोट, रासस ।

नेपालको प्रमुख धार्मिक धरोहरका रूपमा रहेको धवलागिरिमा गण्डकी सभ्यता लोप हुने खतरामा परेको भन्दै सरोकारवालाले चासो र चिन्ता व्यक्त गरेका छन् । विश्वमा सभ्यताको विकास नदीहरुबाटै भएको पाइए पनि मानवीय लापरवाहीका कारण गण्डकी सभ्यता सङ्कटमा परेको उनीहरुको भनाइ थियो ।

निकै पुरानो सभ्यताको रूपमा रहेको गण्डकी सभ्यता लोप हुने खतरामा पुगेपछि अहिले सर्वत्र चासो र चिन्ताका बीच गण्डकी सभ्यता बचाउन प्रभावकारी अभियान सञ्चालन गर्नुपर्नेमा समेत जोड दिइएको छ । गण्डकी सभ्यतामा नदी किनारका पर्यटकीयस्थल, आसपासका बस्ती, बजार, घाट, धार्मिक सांस्कृतिक परम्परा, तीर्थस्थल, यहाँको जीवन पद्धति मूल्य मान्यतालाई उल्लेख गरिएको छ । साथै सभ्यताभित्र धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक, राजनीतिक तथा अन्य विषय पनि समावेश छन् ।

Batas

धवलागिरि समाज नेपालले बागलुङ उद्योग वाणिज्य सङ्घ, धवलागिरि पर्यटन विकास समिति, बागलुङ पर्यटन विकास समिति र नेपाल पर्यटन बोर्डसँगको समन्वयमा शनिबार बागलुङ महोत्सवका अवसरमा आयोजना गरेको गण्डकी सभ्यता बचाऊ अभियान तथा धवलागिरिका पर्यटकीय पहिचान विषयक अन्तक्र्रियामा कार्यक्रमका सहभागीले गण्डकी सभ्यता जोगाउन सबैले ध्यान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा स्वामी ऋषि प्रपन्नाचार्यले कालीगण्डकी नदीको दोहन, शालिग्राम शिलाको चोरी निकासी तथा नक्कली शालिग्रामको कारोवारले धार्मिक सङ्कट पैदा गर्न थालेको बताए। “हामीले गण्डकी सभ्यता बचाउनका लागि विगतदेखि ठूलो प्रयत्न गरेका छौँ”, प्रपन्नचार्यले भने , “कालीगण्डकी नदीको अतिक्रमण, निर्माण भएका संरचना तथा शहरको ढलसमेत सिधै जाने अवस्थाले कालीगण्डकी पहिलेको वाग्मतीजस्तो बन्ने खतरा छ । यसमा हामी सबै समयमै सचेत भएर अभियानमा सरिक हुन आवश्यक छ ।” उनले शालिग्राम लोप हुन थालेपछि सङ्ग्रहालयमा राखिएको समेत बताए ।

यही चासो र चिन्ताका बीच गण्डकी सभ्यता महाअभियान गत वर्षदेखि शुरु भएको छ । पवित्र कालीगण्डकी नदी तथा अन्य नदीमा मिसिन आउने खोला नदीको पनि सरसफाइमा सबैले ध्यान दिनुपर्ने आवश्यकता सहभागीले औँल्याएका थिए । जतिसक्दो छिटो गण्डकी सभ्यता बचाउन धवलागिरिसहित मुलुकभर अभियान नचलाउने हो भने त्यसले गण्डकीसँग जोडिएका सबै सभ्यता नास हुने अवस्था आउने उनीहरुले बताएका थिए ।

कार्यक्रममा गण्डकी सभ्यता बचाऊ महाअभियानका सहसंयोजक केदरनाथ गौतम र गण्डकी सभ्यता एवं धवलागिरि पर्यटन विकास समितिका अध्यक्ष तथा पर्यटन अभियानकर्मी खिमानन्द कँडेलले धवलागिरिको पर्यटकीय सम्भावनाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

गण्डकी सभ्यता बचाउन सरकार, सरोकारवाला र नागरिक सबैलाई जिम्मेवारीवोध गराउन गण्डकी सभ्यता बचाऔँ महाअभियानअन्तर्गत महोत्सवका अवसरमा अन्तरक्रिया आयोजना गरिएको धवलागिरि समाजका महासचिव गोविन्दप्रसाद शर्माले बताए । “हामीले १०० वर्षपछिको गण्डकी सभ्यता कल्पनैै नगर्ने अवस्थाको हुनेछ”, शर्माले भने, “आजैदेखि पहल थालौँ, गण्डकी सभ्यता बचाउन लागौँ, यो हामी सबैका जिम्मेवारी हो ।”

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.