www.tandavnews.com
Fact ~ In search of truth

देशका छ एनसेल टावरमा आगजनी

चितवन ।

खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । खैरहनी नगरपालिका–२ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुगेको छ । आइतबार राति १०ः४५ बजे अज्ञात समूहले टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

Batas

कोइरालाका अनुसार दमकल, नेपाल प्रहरी र स्थानीयवासीको सहायताले राति नै आगो नियन्त्रणमा लिइएको थियो । आगो लगाउने समूहको खोजी भइरहेको उनले जानकारी दिए ।

सिन्धुली :सिन्धुलीको मरिण गाउँपालिका–७ मा रहेको एनसेलको टावरमा आगजनी भएको छ । गएराति एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार एनसेलको टावर पूर्णरूपमा क्षति भएको छ । उनका अनुसार टावरमा कसले आगजनी गर्यो भन्ने खुल्न सकेको छैन । घटनामा संलग्नको खोजी भइरहेको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यस्तै गएराति रामेछाप जिल्लामा पनि एक एनसेल टावरमा आगजनी भएको छ । अज्ञात समूहद्वारा दोरम्बा गाउँपालिका–७ गुम्सीमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । उनका अनुसार टावरमा रहेका तारहरु जलेर क्षति पुगेको छ । घटनामा संलग्नको खोजी भइरहेको उहाँले जानकारी दिए ।

बेझाड (पाल्पा) : पाल्पाको बगनासकाली गाउँपालिका–९ स्थित बगनासडाँडामा रहेको एनसेलको टावरमा आगजनी भएको छ । आइतबार राति करीब पौने १० बजेको समयमा टावरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दीपेन्द्र जिसीले बताए । आगलागीबाट टावरमा पूर्णरूपमा क्षति पुगेको छ ।

बोरामा खर राखेर आगो सल्काएको पाइएको छ । टावरको जेनेरेटर, बिटिएस सिस्टम, जिएसएम एन्टेना, ब्याट्री प्यानल, मिटरबक्ससहित तार पूर्णरूपमा जलेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरमा रहेको एनसेल टावरमा विस्फोट गराइएको छ । लालबन्दी नगरपालिका–१६ स्थित टावरमा आइतबार राति एनसेल टावरमा विस्फोट गराउँदा सोलार प्यानल, युपिएस तथा तारहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।

एनसेल टावरमा विस्फोटबाट सामान्य समस्या रहेको र सामान्य मर्मत गरेपछि केही समयमा नै सञ्चालन गर्न सकिने पोखरेलले बताए । टावरमा विस्फोट कसले गरेको हो यकिन भएको छैन । सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइएको प्रहरीले जनाएको छ ।

परासी : पश्चिम नवलपरासीमा एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । जिल्लाको रामग्राम नगरपालिका–९ करमैनीस्थित चन्द्रशेखर पाठकको खेतमा रहेको एनसेल टावरमा गएराति आगजनी भएको प्रहरीले जनाएको छ ।

आगजनीबाट टावरको अगाडि भागको तार जलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.