www.tandavnews.com
Fact ~ In search of truth

अधिकांश भन्सारको निर्यात न्यून

काठमाडौं ।

मुलुकको अन्तर्राष्ट्रिय व्यापारका लागि भनेर स्थापना गरिएका कूल २४ भन्सारमध्ये १७ वटा भन्सार नाकाबाट निर्यात असाध्यै न्यून रहेको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनाको विवरणअनुसार ती भन्सार कार्यालयबाट निर्यात असाध्यै न्यून देखिएको हो । त्यसमा ८ भन्सार कार्यालयको निर्यात शून्य प्रतिशत रहेको उल्लेख गरिएको छ ।

Batas

विभागका अनुसार भद्रपुर जलेश्वर, जनकपुर, महेशपुर(नवलपरासी), सर्लाही, सती (कैलाली), सिरहा, सुनसरी, सुथौली(कपिलवस्तु), तातोपानी, ठाँडी(सिरहा) भन्सारलगायतका भन्सार कार्यालयबाट सो अवधिमा निर्यात प्रतिशत शून्य रहेको पाइएको छ ।

विभागको विवरणअनुसार नेपाल र भारतबीचको प्रमुख भन्सार नाका वीरगञ्जबाटै निर्यातसमेत बढी भएको देखिएको छ । सो भन्सारबाट कूल ३१.४१ प्रतिशत निर्यात भएको छ ।

सो भन्सारबाट चालू आर्थिक वर्षको सात महिनामा २० अर्ब ४० करोड ५५ लाख १३ हजार बराबरको निर्यात भएको छ । यस्तै भैरहवा भन्सारको हिस्सा दोस्रोमा छ । सो भन्सारबाट कूल २८.४५ प्रतिशत निर्यात भएको छ । विभागका अनुसार सो भन्सारबाट १८ अर्ब ४८ करोड ४१ लाख ११ हजार बराबरको निर्यात भएको छ ।

त्यस्तै तेस्रोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय छ । सो भन्सारबाट १४ अर्ब नौ करोड ६० लाख ९३ हजार बराबरको निर्यात भएको छ । प्रतिशतका आधारमा सो भन्सारबाट २१.७० प्रतिशत निर्यात भएको छ ।

चालू आर्थिक वर्षको सात महिनामा कूल आठ खर्ब तीन अर्ब ६० करोड २८ लाख १३ हजार बराबरको सामान आयात भएकामा ६४ अर्ब ९७ करोड १२ लाख २७ हजार बराबरको निर्यात भएको छ ।

विभागको विवरणअनुसार सामान आयात गर्नेमा पनि वीरगञ्ज भन्सार नै शीर्ष स्थानमा रहेको छ । सो भन्सारबाट दुई खर्ब ७५ अर्ब ६९ करोड २६ लाख ९९ हजार बराबरको माल सामान आयात भएको छ । प्रतिशतका आधारमा सो भन्सारको हिस्सा ३४.३१ प्रतिशत रहेको छ ।

यस्तै दोस्रोमा भैरहवा भन्सार कार्यालय रहेको छ । सो भन्सार कार्यालयबाट मात्रै एक खर्ब ३७ अर्ब ३० करोड ४१ लाख १८ हजार बराबरको सामान आयात भएको छ । त्यो भनेको कूल आयातको १७.०९ प्रतिशत हो ।

यस्तै वीरगञ्ज सुक्खा बन्दरगाहबाट एक खर्ब एक अर्ब ३५ करोड ९५ लाख ९६ हजार बराबरको मालवस्तु आयात भएको छ । विराटनगर भन्सारबाट ८४ अर्ब ७६ करोड ६६ लाख ८९ हजार बराबरको आयात भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट ८१ अर्ब ५० करोड ६८ लाख ५३ हजार बराबरको माल वस्तु आयात भएको छ । प्रतिशतका आधारमा कूल आयातमध्ये १०.१४ प्रतिशत हिस्सा सो भन्सार कार्यालयले राखेको छ ।

विभागका अनुसार रसुवा भन्सारबाट २६ अर्ब २३ करोड ३६ लाख ८७ हजार, नेपालगञ्ज भन्सारबाट ३० अर्ब ४० करोड २६ लाख ७६ हजार, कृष्णनगर भन्सारबाट १२ अर्ब २६ करोड २४ लाख छ हजार, कैलाली भन्सारबाट १० अर्ब ९७ करोड ५७ लाख २९ हजार बराबरको मालवस्तु आयात भएको छ ।

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा मुलुकको कूल व्यापार घाटा भने सात खर्ब ३८ अर्ब ६३ करोड १५ लाख ८६ हजार रहेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.