www.tandavnews.com
Fact ~ In search of truth

धर्म छाडा डाक्टर, ‘सभागृह मेडिकेयर’को चरम लापरवाही

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

बिरामी उपचार गर्न मात्र होइन, रोग पत्ता लगाउनका लागि अस्पताल जाने गर्छन् । डाक्टरको धर्मनै रोगको सही पहिचान गर्नु र सो अनुसार औषधी दिनु हो । तर, पछिल्लो समय केही डाक्टर र स्वास्थ्य संस्थाको चरम लापरवाहीका कारण स्वास्थ्य क्षेत्र धमिलिन पुगेको छ ।

घटना माघ महिनाको हो । तनहुँका ६५ वर्षीय विरे (नाम परिवर्तन) लाई सामान्य रुघाखोकी लाग्यो । घाँटी एकदमै दुख्ने अनि हल्का ज्वरो आउने हुन थाल्यो । भ¥याङ चढ्दा स्याँस्याँ बढ्ने शरिर लर्थक्क गल्ने भएपछि विरेले अन्तत् जचाउने निधो गरे । तनहुँकै एक अस्पताल गएर उनले जचाए पनि र औषधी पनि लिए तर निको हुने संकेत देखिएन ।

सामान्य उपचारले पार नलागेपछि उनी पोखरा आए । धेरै रकम खर्च नहुने तर उपचार राम्रो हुने भन्दै विरेले सरकारी अस्पताललाई नै रोजे । माघ ८ गते विरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) पुगे । उनले चेकअपको लागि टिकट लिए । टिकटमा उल्लेख भएबमोजिम डाक्टर र चेकअप गर्ने कोठानम्बर पुगे । उनले आफूमा देखा परेको लक्षण डाक्टरलाई सुनाए । डाक्टरले रगत जाँच्नु पर्छ भनेर उनलाई अस्पतालकै प्रयोगशालामा पठाए ।

Batas

विरेले प्रयोगशाला पुगेर रगत जचाए । केही समय पछि रिपोर्ट आयो । ‘रगतमा केही देखियो र ?’ भन्दै विरेले प्रश्न गरे । प्रयोगशालाका एक प्राविधिकले ब्लड क्यान्सरको लक्षण देखिएको छ भनेपछि विरेको मुटु काम्न थाल्यो । ‘त्यस्तो त नहोलानी’ मनमनै सोच्दै विरेले रिपोर्ट लिएर डाक्टर कहाँनै पुगे ।

रिपोर्टमा डब्लु वी सी ९१ हजार देखिएको थियो । डाक्टरले ‘डब्लु वी सी यति धेरै छैन होला’ रिपोर्ट हेर्दै भने । डब्लु वी सी त्यति हुनु भनेको ब्लड क्यान्सरको लक्षण हो । सामान्य मान्छेमा डब्लु वी सी १२ हजार भन्दामाथी हुँदैन् ।

मुख्य डाक्टरलेनै त्यति धेरै नहुनु पर्ने भनेपछि विरे खुशी भए तर ढुक्क हुन भने सकेनन् । ती डाक्टरले विरेलाई फेरी जाच गर्न बाहिरको प्रयोगशाला जान आग्रह गरे । डाक्टरको आग्रह अनुसार विरे सभागृह मेडिकेयर प्रालिको प्रयोगशालामा पुगे ।

त्यहाँ गएर पहिलाको रिपोर्टको बारेमा पनि विरेले सुनाए । त्यसपछि उनको रगत जाचियो । रिपोर्ट आयो । रिपोर्टमा सामान्य देखियो । ‘केही पनि भएकै रहेनछ’ विरे खुशी भए । त्यहाँका प्रयोगशालामा रहेको प्राविधिकले सामान्य रहेको जानकारी दिए । हुन पनि विरेको रिपोर्टमा डब्लु वी सी यस पटक भने जम्मा ४ हजार २ सय ५० देखियो जबकी गण्डकी अस्पतालको रिपोर्टमा ९१ हजार देखिएको थियो ।

रिपोर्ट पाएपछि विरे अति खुशी भए तर त्यो भन्दा धेरै आक्रोशित । ‘हँुदै नभएको रोग लगाइदिने’ मनमनै सोच्दै रिसले चुर हँुदै पुनः गण्डकी अस्पताल पुगे । रिपोर्ट सोही डाक्टरलाई देखाए । फेरी डाक्टरले त्यहीभित्र जाच्न पठाए । रिसले चुर विरेले ‘तपाईहरु गलत रिपोर्ट निकाल्ने’ भन्दै पुन रगत जचाए । बाहिरको र भित्रको धेरैनै फरक रिपोर्ट आएपछि प्रयोगशालामा हल्लाखल्ला मच्चिनु स्वभाविकै थियो । तर त्यहाँका प्राविधिक आफुले निकालेको रिपोर्ट प्रति ढुक्क थिए ।

पछिल्लो पटकको रिपोर्ट आयो । अघिल्लो पटक आएको रिपोर्ट र पछिल्लो पटक आएको रिर्पोट उस्तै उस्तै थियो । अघिल्लो पटक डब्लु वी सी ९१ हजार थियो भने दोस्रो पटक ८९ हजार ८ सय भनेको उस्तै उस्तै हो । सभागृह मेडिकेयरले दिएको ४ हजार २ सय ५० रिपोर्ट गलत रहेको पुष्टी भयो ।

त्यसपछि विरेले डाक्टरलाई त्यो रिपोर्ट पनि देखाए । सभागृहमा रहेको मेडिकेयरले रकम खाने काम मात्र गरेको भन्ने पुष्ट भएपनि विरे त्यतातर्र्फ लागेनन् । डाक्टरको सल्लाहअनुसार भरतपुर क्यान्सर अस्पताल जाने निर्णय गरे ।

गण्डकी अस्पतालमा जचाएको तीन दिन पछि विरे छोरालाई लिएर भरतपुर पुगे । त्यहाँपनि डाक्टरको सल्लाह अनुसार जचाए । गण्डकी अस्पतालको प्रयोगशालाले निकालेकै नतिजा अनुसार नभन्दै विरेलाई क्यान्सर लागेको रहेछ । त्यसपछि अन्य उपचारको प्रक्रिया अघि बढ्यो ।

कमिशनको खेल : 

यसरी गण्डकी अस्पतालकै डाक्टरले बाहिरी पठाउनुको कारण भनेको कमिशनकै चलखेल रहेको स्रोतले बताए । ‘बाहिर पठाएपछि डाक्टरलाई कमिशन आउँछ,’ उनले भने, ‘प्रयोगशाला र औषधीबाट पनि ।’ डाक्टरको सल्लाह बिना विरामी आफैं अन्त नजाने गरेको स्रोतको भनाई थियो । ‘गण्डकी अस्पताल भित्र रहेको प्रयोगशाला नम्बर वान मानिन्छ,’ उनले भने, ‘कहिलेकाँही प्राविधिक गडबढि हुन सक्छ, त्यस्तो परिस्थितीमा डाक्टरले गण्डकी अस्पताल जस्तै अन्य ठूलो अस्पतालमा पठाउनु पर्ने हो । सभागृह मेडिकेयर पठाउनु कमिशनको खेल हो भन्दा फरक पर्दैन् ।’

बाहिर पठाउँदैनौं :

सामान्यतया त्यस्तो केसमा बाहिर नपठाउने गरेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशासक अर्जुन आचार्यले बताए । ‘कहिलेकाँही डाक्टरले रिपोर्टमा यती धेरै नहुनु पर्ने भनेर शंका गर्नु स्वभाविकै हो,’ उनले भने, ‘यदि त्यस्तो भएको खण्डमा सिनियर डाक्टरहरुसँग सल्लाह गरेर बाहिर पठाउन सकिन्छ तर सकभर बाहिर पठाउदैँनौ ।’ गुनासो आएको हुनाले यस विषयमा बुझ्न सकिने उनले बताए ।

‘कमिशनकै लागि त्यसरी बाहिर पठाएको नहुन सक्छ,’ उनले भने, ‘हाम्रो डाक्टरबाट भएको हो भने हामी बुझ्छौ तर गल्ती सभागृह मेडिकेयरको देखिन्छ ।’

सभागृह मेडिकेयरका प्रबन्ध निर्देशक उपमा झाले गल्ती नहुनुपर्ने प्रतिक्रिया दिइन् । ‘त्यस्तो हुन नपर्ने हो,’ उनले भनिन, ‘यदी हामीबाट गल्ती भएको छ भने प्रमाण हुनुप¥यो ।’

अहिले स्वास्थ्य क्षेत्र हेर्ने जिम्मा पोखरा महानगरपालिकाको हो । महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख हेमन्त शर्मा पौडेलले यस विषयमा केही भन्न चाहेनन् । ‘हामी बल्ल आएका छौ, के गर्ने भनेर छलफल गर्न बाँकी छ,’ उनले भने, ‘तर पीडितले निवेदन दिएको खण्डमा हामी कानुनी प्रक्रिया अघि बढाउने छौं ।’

सुत्केरी काण्ड

पोखरा लेखनाथ महानगरपालिका–२१ सुत्केरी धनुमाया पोखरेल लामिछानेको एक साता अघि गण्डकी अस्पतालमा ज्यान गयो । सामान्य रुपमै बच्चा जन्माएकी लामिछानेको दुई पटक शल्यक्रिया गरेपछि रक्तश्रावका कारण ज्यान गएको हो । करिब ३ घण्टा जती रक्तश्राव नरोकिएपछि उनले ज्यान गुमाउनु परेको हो ।

डाक्टरको लापरवाहीकै कारण ज्यान गएको धनुमायाकी जेठानी देवी लामिछाने बताउँछिन् । ‘डाक्टरले आफ्नो धर्म निर्वाह नगरेकै हो,’ उनले भनिन्, ‘सुत्केरी रगत्यामै भएर पल्टिएको छ तर डाक्टरले बेलैमा रक्तश्राव रोक्ने काम गरेनन्, ढिलाइ भएको हुनाले ज्यान गयो ।’ आफू पनि स्वास्थ्यकर्मी भएको हुनाले देवीले डाक्टरको गल्ती सजिलै पहिल्याइन् । ‘धनुमायाको कुरावा पनि म आफै बसेकी थिएँ,’ उनले भनिन्, ‘अप्रेशन गरेपछि बेलैमा डाक्टरले नहेर्दा मृत्यु भएको हो ।’

अस्पताललाई आरोप लागेपछि अस्पताल पक्ष र पीडितका आफन्त बीच वार्ता भयो । प्रशासन पक्षबाट डा.रेग्मीले विरामीको मृत्यु रक्तश्रावको कारण भएको बताए । तर उनले रक्तश्राव कसरी भयो भन्न सकेनन् । ‘हो सामान्य रुपमै बच्चा जन्मिएको हो, पछि रक्तश्राव भयो हामीले पुन अप्रेशन ग¥यौ तर कहाँबाट रक्तश्राव भयो थाहा भएन,’ डा. रेग्मीले भने, ‘हामीले पत्तानै लगाउन सकेनौं प्रयास गर्दा–गर्दै ज्यान गएको हो ।’
गण्डकी अस्पताल नेपालमै सुविधा सम्पन्न अस्पताल मध्येको रहेको एक डाक्टरले दाबी गर्दै बताए ।

‘अझै सुत्केरीको मामिलामा भने उत्कृष्ट नै हो,’ उनले भने, ‘तर त्यस दिन उपचारमा डाक्टरकै कमजोरी हो ।’ सुत्केरीको रक्तश्राव भएपछि बेलैमा रोक्न नसक्नु ठूलो गल्ती रहेको उनले सुनाए । ‘सुत्केरीको आफन्तले रगत आवश्यक पर्छ भनेर खोजेर राखेका थिए,’ उनले भने, ‘प्रविधि मात्र भएर हँुदैन नी, ३ घण्टासम्म डाक्टरले आफ्नो धर्म निर्वाह नगरेपछि विरामीको ज्यान त गैहाल्छनी ।’

घटना विवरण

यही फागुन २५ गते सुत्केरी व्यथा लागेपछि धनुमायालाई गण्डकी अस्पतालमा ल्याइएको थियो । उनी गर्भ रहे देखीनै फलोअप चेकिङको लागि गण्डकी अस्पतालनै जाने गर्थिन् । धनुमायाको कद, शारीरिक अवस्था र उमेरको कारणले अप्रेशन गर्नु पर्ने भनेर उनीहरु अस्पताल आएका थिए । तर अस्पतालमा पुगेपछि उनले सामान्य रुपमै बच्चालाई जन्म दिइन् ।

बच्चा जन्माएको करिब साढे दुई घण्टा डाक्टरले ‘सुत्केरीको रगत जमेको छ’ भनेर अप्रेशन गर्नुपर्ने बताए । सोही अनुसार आफन्तले अप्रेशनको लागि आवश्यक पर्ने सामग्री किनेर ल्याए ।

अप्रेशन पनि भयो । त्यसपछि आफन्तले भेट्दा धनुमायाले आँखाको इशारामा मात्र गर्न सक्ने अवस्थामा थिइन् । त्यसको भोलीपल्ट रगत बग्यो भन्दै फेरी अप्रेशन गर्नुपर्ने डाक्टरबाट सुझाव आयो । आफन्तलाई रगतको जोहो गर्न भनियो । अप्रेशन सकेर धनुमायालाई आईसीयूमा लगियो । त्यहाँ आफन्तलाई भेट्न दिइएन् । रगतको आवश्यक पर्ने भन्दै आफन्त बाहिर रगतका लागि मान्छेलाई लिएर कुरेका थिए ।

उनलाई आईसीयूमा लैजाने क्रममा आँखा एकदम पहेंलो भएको थियो । ‘विस्तारै स्वास्थ्य अवस्थामा सुधार आएको छ’ डाक्टर भन्दै थिए । त्यसको केही समय पछि डाक्टरले सुत्केरीलाई घाँटीबाट रगत दिनुपर्छ भन्दै आफन्तलाई रगत व्यवस्था गर्न लगाए । तर केही समय बित्न नपाउँदै रगत आवश्यक नपर्ने भयो भन्दै डाक्टरबाट खबर आयो । सोही क्रममा ‘सुत्केरीको आँखाको नानी चलेको, पिसाब फेरेको छ सुधार हुँदै आएको छ’ भन्दै डाक्टरले आफन्तलाई नअत्तालिन आग्रह गरे ।

केही समय पछि पुनः विरामीको अवस्था बिग्रदै गएको भन्ने खबर आयो । खबर पाएको करिव आधा घण्टापछि ‘हामीले सुत्केरीलाई बचाउन सकेनांै’ भनेर डाक्टरले खबर दिए ।

 

याे पनि पढ्नुहाेस्

पोखरामा छ्याप्छ्याप्ती ज्यानमारा औषधी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.