www.tandavnews.com
Fact ~ In search of truth

सौराहाका होटलका कर्मचारीलाई बिदा दिन थालियो

चितवन ।

कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन् । यहाँका होटलमा १५ देखि २० प्रतिशत हाराहारी मात्र पर्यटक रहेका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार गत वर्ष यतिबेला ९० प्रतिशत हाराहारी होटलका कोठा बुकिङ हुने गर्दथे । नेपाली कार्यक्रम भइरहेकाले आजसम्म २० प्रतिशत हाराहारी कोठा भरिएको भए पनि दुई दिनपछि यो संख्या निकै न्यून हुने उनको भनाइ थियो । अहिले केही मात्रामा युरोपियन, भारतीय र नेपाली पर्यटक मात्र छन् । यसअघि भएका सबै बुकिङ रद्द भएका छन् ।

Batas

होटलमा पर्यटक नभएपछि कर्मचारीको काम नहुने भएकाले आधा जति होटलले ५० प्रतिशतसम्म कर्मचारीलाई बिदा दिइसकेका छन् । एउटै होटलमा १० देखि ७० सम्म कर्मचारी छन् । अन्य होटलले बिदा दिने तयारी गरिरहेका छन् । बिदाको समयमा कर्मचारीलाई आधा तलब दिने गरिन्छ । कर्मचारीलाई काम नभए खुवाउन र बसोबासको व्यवस्था गर्दा थप खर्च आउने भएकाले बिदा दिन शुरु गरिएको हो ।

सौराहाका होटलले १० वर्ष अघिसम्म वर्षात्को समयमा पर्यटक नआएपछि जेठदेखि साउनसम्म बिदा दिने गरेका थिए । पछिल्ला वर्षमा त्यस्तो समस्या नभए पनि अहिले समस्या देखिएको भट्टराईको भनाइ थियो ।

संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे आउँदो महिना व्यवसायीले बैंकको ऋण र किस्ता तिर्न सक्ने अवस्था नरहेको बताउछन् । यकिन तथ्यांक नभए पनि सौराहाका ११५ होटल बनाउन आठ अर्बभन्दा बढी लगानी भएको घिमिरेको ठम्याई छ । यो लगानी जग्गा बाहेकको हो । सोही हाराहारी बैंकको ऋण भएको घिमिरे बताउछन् ।

व्यापार हुन नसक्दा त्यसको किस्ता र ब्याज तिर्ने सम्भावना नदेखिएको उनको भनाइ छ । ऋण ब्याज मिनाहाभन्दा पनि व्यवसायीलाई थप समय दिनुपर्ने घिमिरेको तर्क छ । व्यापार ठप्प भएपछि बैंकको कालोसूचीमा पर्ने चिन्ता व्यवसायीमा छ ।

सौराहामा सबैभन्दा बढी पर्यटक आउने चीन कोरोनाबाट प्रभावित छ । यसअघिका पर्यटकको समेत चीनका ट्राभल एजेन्टले भुक्तानी गर्न नसकेको व्यवसायीको भनाइ छ ।

सौराहामा द्वन्द्वकालसँगै भूकम्प र नाकाबन्दीको समयमा व्यापारमा निकै गिरावट आएको थियो । अहिले त्योभन्दा बढी प्रभाव देखिने अवस्था आएको व्यवसायी बताउँछन् । त्यतिबेला आन्तरिक पर्यटक आएको भए पनि अहिले नेपालीसमेत बाहिर निस्कन डराएको घिमिरेको भनाइ छ । सरकारले पनि धेरै मानिस जमघट हुने सभा, सम्मेलनजस्ता ठूला कार्यक्रम नगर्न अनुरोध गरिसकेको छ ।

कोरोनाको प्रभाव होटलमा देखिएपछि यसले अन्य क्षेत्रमा पनि नराम्रो असर पुर्याएको सरोकारवाला पक्षको भनाइ छ । पर्यटकबाट आश्रित साना ठूला होटल, रेष्टुराँ, पसल, डुङ्गा, हात्ती, जीप, पर्यटक बसजस्ता पर्यटन व्यवसाय प्रभावित भएका छन् । जसबाट सरकारको राजश्वमा पनि प्रभाव देखिने भएको छ । यससँगै कुखुराको मासु र अण्डाको खपत घटेपछि मूल्यमा गिरावट आउन थालेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.