www.tandavnews.com
Fact ~ In search of truth

हुप्सेकोट ह्याङ्गोभर : ‘लक्ष्मी मेडम’को त्यो रौद्रता…

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुअघि उनि लक्ष्मी ‘मेडम’ थिइन् । लामो समय शिक्षण पेशामा आवद्ध लक्ष्मी मेडम स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष भइन् ।

सम्भवतः स्थानिय निर्वाचनमा देशभरमै गाउँपालिका अध्यक्षको पहिलो विजयको घोषणा भएको गाउँपालिका हो नवलपुरको हुप्सेकोट गाउँपालिका । जसमा निर्वाचित भएको नाम हो ‘लक्ष्मी मेडम’ अर्थात् ‘लक्ष्मी पाण्डे’ ।

Batas

नेपाली कांग्रेसमा सक्रिय रहेकी पाण्डे पार्टी निकट जिल्ला संगठन हुँदै महासमिति सदस्य समेत बनिन् ।

प्रमाण नष्ट गर्न दिइएको निर्देशन…

हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत थिए, लिला वल्लव न्यौपाने । उनको सरुवा भएपछि अध्यक्ष पाण्डे अहिलेसम्म त्यहि ह्याङ्गोभरमा छिन् । न्यौपानेलाई नै पुनः ल्याउन उनी कस्सिरहेकी छिन् ।

न्यौपानेको स्थानमा सरुवा भएर आएका ज्ञानप्रसाद पनेरुलाई अध्यक्ष पाण्डेले हाजिरी पनि गर्न दिएकी छैनन् । माघ ६ गतेदेखि हाजिरी गर्न नदिएपनि पनेरु कार्यालय भने आइरहेका छन् ।

समाचार तयार पार्दासम्म गाउँपालिकाको वेबसाइटमा समेत प्रमुख प्रशासकिय अधिकृतमा न्यौपानेकै नाम उल्लेख छ ।

प्रशासकीय अधिकृतलाई काम गर्न नदिँदा सेवाग्राही मर्कामा परेको, विकास निर्माणका कार्य अलपत्र परेको भन्दै गाउँपालिका उपाध्यक्ष कोपिला मल्लले पत्रकार सम्मेलननै गरिन् । उनले गाउँपालिकामा भ्रष्टाचार बढेको उल्लेख गर्दै स्वतन्त्र छानविनको माग समेत गरेकि छिन् ।

यसअघि पत्रकार सम्मेलनमा पुगेका पत्रकारहरुलाई अध्यक्ष पाण्डेले रौद्ररुप देखाइन् । विवाद भइरहेको भिडियो खिचेको भन्दै अध्यक्ष पाण्डेले भिडियो, फोटो डिलिट गर्न ठाडो निर्देशन नै दिइन् । पत्रकार अर्जुन सापकोटाको त मोबाइल खोसेर रिसेट नै गरियो । पत्रकार सापकोटा ले प्रशासकिय अधिकृत पनेरुलाई अध्यक्ष पाण्डेले अपशब्द बोल्दै निकालेको भिडियो खिचेका थिए ।

अध्यक्ष पाण्डेको स्वकीय सचिव समेत रहेका आफ्नै छोरा रसिक लामिछानेले पत्रकारलाई दुव्र्यवहार समेत गरे । दुव्र्यवहारप्रति पत्रकार सापकोटासँग माफी मागिसकेका छन् । ‘अबका दिनमा त्यस्तो व्यवहार नगर्ने भन्ने सहमति सहित माफी मागेका छन्’ पत्रकार सापकोटाले भने ।

लक्ष्मी पाण्डेले भिडियो डिलिट गर्न दिएको निर्देशन सहितको अडियो ताण्डव न्यूजलाई प्राप्त भएको छ ।

प्राप्त अडियोको १ मिनेट ५० सेकेण्डमा एक पुरुष ब्यक्तिले ‘कसले हो भिडियो खिचेको ?’ भन्दै आक्रोशित हुन्छन् । लगत्तै अध्यक्ष पाण्डेको आवाज सुनिन्छ ‘त्यो फोटो डिलिट गराइहाल ।’

त्यसपछि मोबाइल खोसेर रिसेट गरिएको छ । रिसेट गरेपछि मोबाइलमा रहेका सबै फाइलहरु डिलिट हुन्छ ।

‘उहाँले निकटको ब्यक्ति राख्न खोज्नु भो’ : अधिकृत पनेरु

हाजिर गर्न नपाएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानप्रसाद पनेरुले अध्यक्ष पाण्डेले आफु निकटको ब्यक्ति राख्नलाई यति गरेको बताए ।

ताण्डव न्यूजसँग कुरा गर्दै उनले भने ‘आजसम्म पनि हाजिर गर्न पाएको छैन । उहाँले आफु निकटको ब्यक्तिलाई राख्न यति गर्नुभएको हो । अब हाजिर गर्न नपाउने, काम गर्न नपाउने भएपछि कहिले काहि कार्यालय पुग्छु, फर्किन्छु ।’

‘अतिरञ्जीत गरियो’ : अध्यक्ष पाण्डे

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले परिस्थितीलाई अतिरञ्जीत गरिएको बताइन् । जनताको भावना अनुसार काम गर्न अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृत एक भएर अघि बढ्नुपर्ने औंल्याउदै उनले त्यसो हुन नसकेको बताइन् । एक आर्थिक वर्ष नपुग्दै मन्त्रालयले कर्मचारी सरुवा गर्नुले विकास निर्माणका काममा बाधा पुग्ने उनको तर्क छ ।

‘हामी जनप्रतिनिधि एक भएनौं भने जनभावना अनुरुप काम गर्न सकिदैंन । मन्त्रालयले पनि एक आर्थिक वर्ष नपुग्दै कर्मचारी सरुवा गरिदिनु उचित होइन ’ उनले भनिन् ।

अधिकृत पनेरुको विषयमा उनले राजनीतिक रंग दिन नहुने बताइन् । ‘हामी व्यवहारीकतामा पनि जानुपर्छ । अधिकृत न्यौपाने सरको घरपायक पर्ने भएर पनि हो । यहिँको ब्यक्ति काम गर्न पनि सहज हुने थियो । अर्को कुरा राजनीतिक रंग लिएर आउनु हुँदैन नि । राजनीति नै गर्न त अरु ब्यक्ति छन् । कर्मचारीले, जनप्रतिनिधिले त्यसो गर्नु हुँदैन ।’

फोटो, भिडियो डिलिट गर्न निर्देशन दिएको भिडियोप्रति उनले भनिन्‘हो त्यतिबेला भनेकै हो । म पनि मिडिया बुझेको मान्छे हुँ । उहाँको ड्रेसअप पनि त्यो खालको थिएन । अहिले सामाजिक संजालमा भाइरल गराउन जो कोही लागिपर्छन् । उहाँ पत्रकार भन्ने थाहा भएको भए त्यसो हुने थिएन । अतिरञ्जीत गराउलान् भनेरै त्यति बेला त्यो घटना भयो ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.