www.tandavnews.com
Fact ~ In search of truth

टर्कीमा रहेका नेपालीद्वारा स्वदेश फिर्तीको आग्रह

काठमाडौं ।

टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीहरुले स्वदेश फिर्तीका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण बनाइदिएको भन्दै सो माग गरेका हुन् ।

‘टर्की नेपाली समाज’ले टर्कीसमेत हेर्ने पाकिस्तानस्थित नेपाली राजदूतावासलाई एक पत्रमार्फत लकडाउन जारी गरिएसँगै हजारौँको संख्यामा टर्कीमा अवैधानिकरूपमा रहेका नेपालीको अवस्था कठिन बन्दै गएको जानकारी गराएको छ । समाजका अध्यक्ष उज्वलकुमार घिसिङले वैधानिक श्रमिकले समेत रोजगारी गुमाउनुपर्ने वा बेतलबी बिदामा बस्नुपर्दाको पीडाले झन् निराशा सिर्जना गरिसकेको उल्लेख गरेका छन् ।

Batas

उनका अनुसार कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाइरहेको कठिन अवस्थालाई ध्यानमा राखेर टर्की सरकारले अवैधानिक आप्रवासी कामदारका लागि जरिवाना मिनाहा र आममाफीको निर्णय गरी स्वदेश फिर्तीका लागि प्रक्रिया शुरु गरिसकेको छ ।

सुविधासहित घर फर्किन टर्की सरकारले दिएको समयसीमा सकिनासाथ अवैधानिक श्रमिकमाथि कारवाही हुने खतरा रहेको जनाउँदै समाजले स्वदेश फिर्तीका लागि पहल गरिदिन इस्लामावादस्थित नेपाली राजदूतावाससमक्ष अनुरोध गरेको छ ।

यस सम्बन्धमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले पाकिस्तानस्थित नेपाली राजदूतावासमार्फत टर्कीमा रहेका नेपालीको अवस्था र स्वास्थ्यस्थितिका बारे चासो लिँदै सहयोगका लागि त्यहाँको सरकारसँग समन्वयमा रहेको जानकारी दिए।

टर्कीमा रहेका नेपालीका समस्याबारे गैरआवासीय नेपाली संघले पनि आवश्यक चासो लिई सहयोगका लागि पहल गरिरहेको संघको ‘कोभिड–१९ उच्चस्तरीय समिति’ अन्तर्गतको स्वास्थ्य समितिका सदस्य अतुल कोइरालाले जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.