www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा कोरोना भाइरस जीन अध्ययन शुरु

काठमाडौँ ।

नेपालमा कोरोना भाइरस (कोभिड १९)को अनुवंश (जीन सिक्वेन्सिङ ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो ।

परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले नेपालमा सङक्रमितमा रहेको जीन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न शुरु भएको बताए । कोभिड–१९ का विभिन्न जीन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जीन हो भन्ने पत्ता लगाइने छ ।

Batas

परिषद्ले यसका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेर प्रक्रिया अगाडि बढाएको छ । यसैगरी त्रिभुवन विश्वविद्यालय र अन्य निजी प्रयोगशालासंग पनि सम्झौता गर्ने तयारी गरेको छ । जीनको अध्ययनका लागि काठमाडौ विश्वविद्यालयले उपकरण समेत खरिद गरेर ल्याइसकेको जनाइएको छ । परिषद्का बरिष्ठ अनुसन्धान अधिकृत डा. मेगनाथ धिमालले अध्ययनबाट कोरोना भाइरसको कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्ने बताए ।

जीन सिक्वेन्सिङका लागि अहिले प्रयोगशालाको परीक्षण, सङक्रमित व्यक्तिको संकलित नमूना संकलन गर्ने कार्य भइरहेको छ । “जीनको अध्ययनले भाइरस कस्तो रहेको छ भन्ने थाहा हुन्छ ’’ उनले भने , “ भाइरस पत्ता लागेपछि कोभिड १९ विरुद्धको भ्याक्सिन बनेपछि प्रयोग गर्न सकिन्छ ।’’ सवै देशले आफ्नो देशमा सङक्रमित व्यक्तिमा भएको भाइरस कस्तो छ भनेर जीन सिक्वेन्सी गरिरहेका छन् ।

परिषद्ले शुरुमा १५ जना सङक्रमितको जीनको अध्ययन गर्ने छ र यसपछि ५० देखि ६० जनाको गर्ने छ । उहाँ अनुसार फरक फरक देशबाट आएका मानिसको जीनको अध्ययन गरिने छ । “हामीले फरक फरक देशबाट आएका सङक्रमित व्यक्तिको जीन अध्ययन गर्ने छौं ’’ उनले भने , “ जीन सिक्वेन्सिङले कुन देशबाट आएका मानिसमा कस्ता प्रकारको भाइरसको जीन छ भन्ने पत्ता लगाउँछ ।’’

अध्ययनबाट कोभिड १९ को संक्रमणले मानिसको रगतमा कुन कुन चीज उत्पन्न भएको छ भनेर पनि पत्ता लाग्ने छ । नेपालका संक्रमित रहेका मध्ये ९८ प्रतिशत कोभिड १९ को मेडिकल लक्षण चिह्न (क्लिनिकल साइन सिन्ट्रोम) नभएको पाइएको अवस्थामा अध्ययनले कुन प्रकारको जीनको कारणले यहाँका मानिसमा सङक्रमण रहेको र भाइरसको कुन चाहिँ जीन नेपालमा बढी रहेको भन्ने कुरा थाहा हुने छ ।

सङक्रमित व्यक्तिको स्बाब र रगतबाट जीन सिक्वेन्सिङ गरिने छ । जीन पत्ता लगाएपछि कोभिड– १९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिने छ । चीन, अमेरिका, भारतलगायत देशले पनि कोभिड–१९ को जीनबारे अनुसन्धान शुरु गरिसकेका छन् । उनले जीनको अध्ययनपछि गुणस्तरिय छ कि छैन भनेर परीक्षण गर्नका लागि विश्व स्वास्थ्य संगठनको स्वीकृतमा विदेश रहेका प्रयोगशालामा समेत परीक्षण गरिने बताए । उनका अनुसार १० प्रतिशत नमूना विदेशी प्रयोगशालामा समेत पठाइने छ । रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.