www.tandavnews.com
Fact ~ In search of truth

फैलिँदै सङ्क्रमण, बढ्दै जोखिम

नारायण ढुङ्गाना
काठमाडौँ, रासस ।

केहीदिन अघि काठमाडौँकी एक गर्भवती महिला शल्यक्रिया गर्न अस्पतालमा गइन् । घरबाट कहीँकतै नगएकी उनमा कोरोना सङ्क्रमण देखियो । परिवार बाहेक कसैको सम्पर्कमा नगएका व्यक्तिमा कोरोना पोजेटिभ देखिनुले उपत्यकाको समुदायमा पनि सङ्क्रमण पुगेको पुष्टी हुन्छ । उपत्यकामा यसरी स्थानीयमा देखिन थालेको करिब एक हप्ता मात्रै भएको जनाइएको छ ।

कसरी आफूमा देखियो भनेर सङ्क्रमित व्यक्तिले पनि अनुमान लगाउन सकेका छैनन् । परिवारमा नदेखिँदा उनमा कसरी भयो भन्ने खोज्न अहिले स्वास्थ मन्त्रालयको एक समूह लागेको छ । परिवारमा पनि सङ्क्रमण नभएको, विदेश पनि नगएको, विदेश गएका व्यक्तिको सम्पर्कमा पनि नपुगेको व्यक्तिमा सङ्क्रमण देखिनुले अब उपत्यका थप जोखिममा छ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

Batas

“पछिल्लो एक हप्तामा उपत्यकामा त्यस्ता केसहरु देखिन थाले, कहीँ पनि नगएको व्यक्तिमा कोरोना सङ्क्रमण देखियो, हामी कन्ट्रयाक ट्र्ेसिङ गरिरहेका छौँ”, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने , “यस्तो कसरी भयो भन्ने यकिन गर्दैछौँ ।” “त्यस्ता व्यक्तिमा कि कुनै अस्पतालमा जँचाउन जाँदा स¥यो कि तरकारी वा केही चिज किन्न जाँदा हुनसक्छ या त भीडभाडमा पुग्दा सङ्क्रमण भएको हो”, डा गौतमले अनुमान गर्दै भने ।

भारतीय सीमा जोडिएको जिल्ला र भारतबाट आएका नेपाली बसोबास गरेको क्षेत्रमा बढी कोरोना सङ्क्रमित फेला पर्दै आएकोमा त्यो क्रम विस्तारै उपत्यकामा सरेको तथ्याङ्कले देखाएको छ । विगतमा उपत्यकाका तीन जिल्लामा विदेशबाट आएका नेपालीमा मात्रै सङ्क्रमण देखिँदै आएकोमा अहिले स्थानीय समुदायमा समेत देखिन थालेको हो । थप सतर्कता नअपनाए उपत्यकामा सङ्क्रमण जोखिम बढ्ने चिकित्सकको भनाइ छ ।

सरकारले उपत्यका प्रवेशमा कडाइ गरे पनि लुकीलुकी भित्रिने क्रम रोकिएको छैन । त्यहाँबाट पनि सङ्क्रमित व्यक्ति प्रवेश गर्ने सम्भावना छ । नाकामा अझै कडाइ आवश्यक रहेको र भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न जरुरी रहेको नेपाल चिकत्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्कीले भने ।

बिहीबार मात्रै उपत्यकामा ३२ जना कोरोना सङ्क्रमित फेला परे । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १७ महिला र ११ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ललितपुर र भक्तपुरका दुई-दुई जना सङ्क्रमित फेला परेका छन् । उपत्यकामा मात्रै अहिलेसम्म कूल १५६ जनामा सङ्क्रमण भइसकेको छ । जसमा ११० जना काठमाडौँ जिल्लाका मात्रै छन् । ललितपुरका १८ र भक्तपुरमा २८ व्यक्ति छन् । आज मात्रै सङ्क्रमित नयाँ बानेश्वरका एक वृद्धको मृत्यु भएको छ । योसँगै मुलुकभर ३२ जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकामा देखिएका मध्ये ८० प्रतिशत बाहिरबाट आएका र २० प्रतिशत स्थानीय तथा कोठा भाडा बसेकाहरु छन् । मुलुकमा पहिलो सङ्क्रमण काठमाडौँ मै गरिएको परीक्षणका क्रममा चीनको उहानबाट आएका नेपालीमा देखिएको थियो । दोस्रो र तेस्रो सङ्क्रमण पनि बाहिरबाट आएका नेपालीमा देखिएको थियो ।

विगतमा काठमाडौँमा देखिएका सङ्क्रमित सबै विदेशबाट आएका नेपाली मात्रै थिए । तर अहले काठमाडौँ कै रैथाने र कोठा भाडामा लिएर बसेकामा पनि देखिन थालेकाले थप सतर्कता आवश्यक देखिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले उपत्यकामा नसोचेको व्यक्तिमा सङ्क्रमण देखिएकाले कन्ट्रयाक ट्रेसिङको काम थालिएको बताए । “हरेक मान्छे पोजेटिभ छ भनेर हामीले सोच्नुपर्छ, तब नियन्त्रण गर्न सकिन्छ, उनले सतर्कता अपनाउन आग्रह गर्दै भन्नुभयो, “हामी होसियार भएनाँै भने उपत्यका जोखिममा छ ।”

एक अध्ययन प्रतिवेदन अनुसार उपत्यकामा अहिले ७० प्रतिशतले मात्रै मास्क प्रयोग गर्ने गरेका छन् । तीन प्रतिशतले अझै लापरवाही गरिरहेका छन् । पहिलो त अनिवार्य मास्क लगाउने, त्यसपछि राम्ररी हात धुने, सेनिटाइजर प्रयोग गर्ने, जोरजुलुस नगर्ने र गरेका ठाउँमा नजाने, दुई मिटरको भौतिक दूरी कायम गर्ने, भीडभाडमा नजाने गर्दा सङ्क्रमण हुनबाट बच्न सकिन्छ ।

इटाली र स्पेनमा भएको लापरबाहीबाट हामीले पाठ सिक्नुपर्ने चिकित्सकको सुझाव छ । एक अध्ययनले अमेरिकमा राम्ररी मास्क लगाएको भए ३० हजार मानिसको ज्यान जोगाउन सकिने थियो । त्यसैले शत प्रतिशत मानिसले मास्क लगाउनैपर्छ डा गौतमले भने । उनका अनुसार अब क्वारेन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या घट्दै गएकाले त्यो सकिएपछि एक चरणमा सङ्क्रमण दर न्यून देखिने र त्यसपछि समुदायस्तरमा देखिन सक्छ । अहिलेदेखि नै सावधानी अपनाउन सके समुदायमा हुने नियन्त्रण गर्न कठिन हुँदैन । लापरबाही गर्दा भयाबह हुनसक्छ ।

सरकारले सङ्क्रमण पहिचान गरेर बेलैमा सङ्क्रमण रोक्न परीक्षणको दायरा बढाउँदै लगेको पनि छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झाका अनुसार क्वारेन्टिनमा चाप बढी हुँदा हाल प्रयोगशालाको क्षमताभन्दा धेरै नमूना सङ्कलन हुन थालेकाले निजी क्षेत्रलाई पनि परीक्षण गर्न दिएर दायरा बढाउन थालिएको हो ।

मुलुकमा औसत दैनिक चारदेखि छ हजारको हाराहारीमा परीक्षण हुँदै आएको छ । उपत्यकामा मात्रै दुई हजारदेखि दुई हजार ५०० सम्मको परीक्षण हुन्छ । चैत ११ गतेदेखि मुलुकमा बन्दाबन्दीको आदेश जारी गरिएकोमा अहिले त्यसको स्वरुप परिवर्तन गरी केही खुकुलो गरिएको छ । खुकुलो हुँदा लापरवाही गर्न नहुने जनस्वास्थ्य विज्ञको भनाइ छ ।

बागमती प्रदेशमा ५०५ जना सङ्क्रमित

बागमती प्रदशेमा मात्रै ५०५ जना कोरोना सङ्क्रमित फेला परिसकेका छन् । त्यसमध्ये पाँच जनाको मृत्यु भइसकेको छ भने १८५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

बुधबारसम्मको विवरणअनुसार उपत्यकाका तीन जिल्लामा १५५ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयले दिएको बुधबारसम्मको विवरणअनुसार उपत्यका बाहेक रसुवामा नौ, नुवाकोटमा १९, धादिङ्मा १२२, चितवनमा ७६, सिन्धुलीमा ११, मकवानपुरमा १७, रामेछापमा २८, दोलखामा चार, सिन्धुपाल्चोकमा ३१ र काभ्रेपलाञ्चोकमा आठ जना छन् ।

यसरी शुरु भएको थियो नेपालमा सङ्क्रमण

चीनको उहानबाट आएका एक नेपालीमा विसं २०७६ माघ ९ मा कोभिड–१९ पुष्टि भएको थियो । चीनबाट आएपछि उनी पुस १६ मा चिकित्सकको सम्पर्कमा गएकामा पुस २८ गते भर्ना भएका थिए । माघ ९ गते कोरोना सङ्क्रमण रहेको पुष्टि गरिएको थियो ।

मुलुकमा जेठ पहिलो सातापछि भने सङ्क्रमणको गति बढेको थियो । गत माघदेखि शुरु भएको सङ्क्रमण चैतमा फाट्टफुट्ट थियो । वैशाखको अन्तिमबाट बढ्न थालेको सङ्क्रमण जेठको दोस्रो सातापछि ह्वात्तै देखियो ।

त्यसपछि फागुनमा नदेखिएको सङ्क्रमण चैतमा पुनः फेला परेको थियो । फ्रान्सबाट कतारको दोहो हुँदै चैत ४ मा नेपाल आएकी युवतीको परीक्षण गर्दा चैत १० मा दोस्रो कोभिड–१९ पुष्टि भएको थियो । चैत १२ गते तेस्रो व्यक्तिमा देखिएको सङ्क्रमण अहिले दैनिक ४०० देखि ६०० को हराहारीमा देखिँदै आएको छ ।

पहिलोपटक चीनको उहानमा सन् २०१९ को डिसेम्बर ३१ मा कोभिड–१९ मानिसमा लागेको पुष्टि भएको थियो । त्यसपछि युरोप हुँदै अमेरिकामा फैलिएको रोग भारतपछि नेपालमा फैलिएको हो ।
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.