www.tandavnews.com
Fact ~ In search of truth

विद्युत् प्राधिकरणका आयोजनाको प्रगति ८१.२३ प्रतिशत

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाले गत आर्थिक वर्ष २०७६/७७ मा ८१.२३ प्रतिशत वित्तीय प्रगति हासिल गरेका छन् । ती आयोजनाको समग्र भौतिक प्रगति ८२.२९ प्रतिशत छ ।

नेपाल सरकार, वैदेशिक र प्राधिकरणको स्रोतबाट सञ्चालित आयोजनामा गत आवका लागि ५८ अर्ब ४ करोड विनियोजन गरिएकोमा ४७ अर्ब १४ करोड खर्च भएको हो । विद्युत् पहुँच बढाउन र उपभोक्तालाई भरपर्दो तथा गुणस्तरीय सेवा आपूर्तिका लागि वितरणलाइन विस्तार, सुदृढिकरण र स्तरोन्नतिमा छुट्ट्याइएको बजेटको खर्च ९२ प्रतिशत छ ।

Batas

विश्वव्यापी महामारी कोभिड–१९का कारण निर्माणाधीन आयोजनाको काम प्रभावित हुँदासमेत समग्र वित्तीय र भौतिक प्रगति उत्साहजनक नै रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। ‘वन क्षेत्रको जग्गा प्रयोगमा रहेको प्रक्रियागत झन्झटका कारण सिर्जित समस्या, जग्गा अधिग्रहणको समस्या, प्रसारण तथा वितरण लाइनमा भइरहेको अवरोध सबै आयोजनाले व्यहोरिरहेका साझा समस्या हुन्, गत आवका चार महिना कोभिड–१९ का कारण आयोजनाको निर्माणमा चैतर्फी प्रभाव प¥यो’, उनले भने ।

लकडाउनमा पनि स्वास्थ्यसम्बन्धी सुरक्षात्मक मापदण्ड अपनाएर आयोजनाको निर्माण सुचारु गर्ने सरकारको निर्णयपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव दिनेशकुमार घिमिरेको सहजीकरण एवं सक्रियता र गृह मन्त्रालयको सहयोगले अप्ठ्यारो परिस्थितिमा पनि आयोजनाको काम अगाडि बढाउन सकिएको उनको भनाइ छ ।

कोभिड–१९को महामारी नआएको भए आयोजनाको वित्तीय र भौतिक प्रगति अझै बढ्ने अवस्था रहेको उल्लेख गर्दै उनले अझै पनि आयोजनाको काम पूर्ण रुपमा हुन नसकेको बताए । गत आर्थिक वर्षमा विद्युत् आयोजनाको उत्पादनतर्फ सात अर्ब ८० करोड विनियोजन भएकामा पाँच अर्ब ५३ करोड खर्च भएको छ ।

उत्पादनतर्फका आयोजनाको खर्च र भौतिक प्रगति क्रमशः ७०.८२ र ७६.८३ प्रतिशत छ । उत्पादनतर्फ जलविद्युत् आयोजनाको निर्माण, मर्मतसम्भारलगायत कार्य पर्दछन् । गत आर्थिक वर्षमा निजी क्षेत्रका १५ आयोजना निर्माण सम्पन्न भई १३५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ ।

प्राधिकरणले एक हजार ६१ मेगावाटको माथिल्लो अरुण, ६३५ मेगावाटको दूधकोशी, माथिल्लो मोदी ए, तामाकोशी पाचौँ जलविद्युतलगायत आयोजनाको विस्तृत अध्ययन गरिरहेको छ । अध्ययनका लागि एक अर्ब ९५ करोड विनियोजन गरिएकोमा २६.४८ प्रतिशत मात्रै खर्च भएको छ । ती आयोजनाको भौतिक प्रगति ३३.३९ प्रतिशत छ । कोभिड–१९का कारण आयोजनाको अध्ययन प्रभावित भएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

प्राधिकरणको सहायक कम्पनीमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोशी र १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माणाधीन छन् । माथिल्लो तामाकोशीको निर्माण यसवर्ष सक्ने लक्ष्य राखिएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.