www.tandavnews.com
Fact ~ In search of truth

बाढीले बगाएको तीन वर्षपछि गैँडाको उद्धार

चितवन ।

तीन वर्षअघि बाढीले बगाएर भारत पुर्याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार हिजो(मङ्गलबार) दिउँसो तीन बजे डार्ट गरी मध्यरातमा निकुञ्ज ल्याएर छाडिएको हो । उनका अनुसार राति १ बजेतिर निकुञ्जको कसरा नजिकै थपलिया तालको छेउमा गैंडालाई छाडिएको हो ।

Batas

अन्दाजी १२ वर्षको पोथी गैँडालाई तीनवटा हात्ती, २५ प्राविधिक कर्मचारीको सहयोगमा उद्धार गरी ल्याइएको रुपाखेतीले जानकारी दिए । विसं २०७४ साउन २७ गते आएको बाढीले राप्ती वा नारायणी नदीले बगाएर सो गैँडालाई भारतको बाल्मिकी टाइगर रिजर्भ पु¥याएको थियो ।

सो गैँडा चर्न बेलाबेलामा नेपालतर्फ आउने गरेको थियो । गत पुसमा पनि नेपालतर्फ देखिएपछि उद्धार गर्ने प्रयास गरिएको भए पनि असफल भएको रुपाखेतीले बताए । यही साउन १५ गतेदेखि गैँडा नर्सही क्षेत्रमा रहेको सूचना प्राप्त भएपछि निकुञ्ज कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, डिभिजन वन कार्यालय नवलपुरका कर्मचारी एवं प्राविधिकको सहयोगमा गैँडाको उद्धार गर्न सकिएको रुपाखेतीले बताए । नारायणी नदी बढेपछि भारततर्फ जान नसकेर अड्किएको गैँडालाई उद्धार गरिएको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार बाढीपछि उद्धार गरिएको यो ११औँ गैँडा हो । बाढीपछि भारततर्फको भूमिबाट नौवटा र नेपालतर्फको भूमिबाट योसहित दुई गैँडा उद्धार गरिएको उप्रेतीले जानकारी दिए ।

बाढीले बगाएर भारत पुर्याएका अरु केही गैँडा भारतमा रहेको र नेपाल ल्याउन आवश्यक वातावरण मिलाइदिन भारतलाई पत्राचार गरिएको भए पनि भारतले कुनै प्रतिक्रिया दिएको छैन । त्यस वर्ष बाढीका कारण दुर्लभ एकसिङ्गे गैँडासहितका जनावरहरु बगेका थिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.