www.tandavnews.com
Fact ~ In search of truth

छोराछोरीको प्रश्न ‘हाम्रा बाबुको हत्यारालाई कारबाही किन भएन ?’

काठमाडौँ
कुमार चौलागाई

रोल्पाका बसन्त रोक्कामगर अहिले २० वर्षका भए । आफू दूधेबालक हुँदा बेपत्ता पारिएका बाबुको अवस्थाका बारेमा अहिले कसैले खोजेर सहयोग गरिदियोस् भन्दै उनी याचना गरिरहेका छन् ।

रोल्पा सदरमुकाम लिवाङमा भेटिएका उनले भने, “मेरो बाबालाई अपहरण गरी बेपत्ता पारियो, पछि उहाँलाई मारियो भन्ने छ, उहाँको अवस्थाबारे कसैले खोजिदियोस्, खोजेर सहयोग गरोस् भन्ने आशा गरेको छु ।”

रोल्पाका धनबहादुर रोकाया मगर रेडियो नेपालको क्षेत्रीय प्रसारण सुर्खेत केन्द्रमा खाममगर भाषाको समाचार वाचन गर्थे । आफ्नो गृह जिल्लाको सदरमुकाम लिवाङमा रहेको परिवार भेटेर सुर्खेत फर्कंदा उनी २०५९ साउन १९ गते प्यूठानको जलुकेबाट तत्कालीन माओवादीको अपहरणमा परे ।

अपहरण गरेको छ महिनापछि २०५९ माघ १६ गते माओवादीले उनको हत्या गरेको खबर आयो, तर अहिलेसम्म उनको न त शव नै फेला परेको छ, न त मारिएको स्थान नै ।

धनबहादुरालाई बेपत्ता पारिएको अहिले १६ वर्ष भइसक्यो । १६ वर्षअघिको घटना सम्झँदै धनबहादुरकी आमा कृष्टी रोक्कामगर गहभरि आँशु पार्दै भन्नुहुन्छ, “आज नजाउ बाबु, भोलि जाउला भन्दाभन्दै जबर्जस्ती गइगए, खै त्यस्तो भैगयो, खै उसको आफिसमा जानेबेलामा बाटैमा समातेर लगेर गए, कति महिना हिँडाल्यो, छ÷सात महिनामा मा¥यो रे ।”

धनबहादुर रोक्काकी श्रीमतीले पनि श्रीमान् मरेको भए पनि कहाँ लगेर मारिए, कसरी मारिए, शव गाडियो वा जलाइयो ? भन्ने जान्ने इच्छा भएको बताइन् ।

आफ्नी आमा र बहिनीका साथ कैलालीको गोदावरी नगरपालिका मालिका टोल बस्दै आएकी पत्रकार जेपी जोशीकी छोरी अहिले १३ वर्षकी भइन् । बाबु मारिँदा उनी पनि दूधेबालिका नै थिइन् ।

अहिले उनी १३ वर्षकी भइसकिन्, स्कूल जाँदा अहिले उनलाई साथीहरूले आफ्नो बाबाले यस्तो गरे, उस्तो गरेभन्दा आफ्नो पनि बाबा भइदिएको भए यस्तै गर्नुहुन्थ्यो होला भनेर बाबुको याद धेरै आउने गरेको बताउँछिन् ।

उनी भन्छिन्, “अब कसैले फादर्स डेमा बाबालाई गिफ्ट दिन्छन्, अनि हाम्रो पनि बाबा भैदिएको भए यस्तो हुन्थ्योे, कसैको स्कूलमा गार्जियन आउँछन्, स्कूलमा प्रोग्राम हुन्छ, मेरो बाबाले यस्तो गरिदिनु भयो, उस्तो गरिदिनु भयो भन्छन्, हाम्रो पनि बाबा भैदिएको भए अहिले यस्तो हुन्थ्यो, उस्तो हुन्थ्यो भनेर सोच्छु ।”

जोशी जनादेश साप्ताहिक र जनदिशा दैनिकसँग सम्बद्ध थिए । यसको केही दिनपछि २०६५ साल असोज २२ गते उनी बेपत्ता भए । २०६५ साल मंसिर १३ गते जोशीको भनिएको कंकाल र जोशीको परिचयपत्र जंगलमा फेला परेको थियो । जोशी तल्कालीन क्रान्तिकारी पत्रकार संघ, कैलालीका अध्यक्षसमेत थिए ।

घटनालगत्तै जोशी पत्नी वसन्ती जोशीले छिमेकी लोकेन्द्र रावत र उनका भाइ करन रावतविरुद्ध किटानी जाहेरी दिएपछि उनीहरू पक्राउ परेका थिए । तर पछि उनीहरूलाई जिल्ला अदालत, कैलालीले प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो ।

यी दुवै किशोरकिशोरीको एउटै आवाज, “के दोष थियो र हाम्रो बाबुलाई मा¥यौ ?”, तर उत्तर दिने कोही छैन । दुवै घटनाका दोषी कारबाहीको दायरामा आउन सकेका छैनन् । उनीहरुको आक्रोश छ, हत्यारालाई किन कारबाही भएन ?

Lama collectio News Middle

माथिका दुई घटना प्रतिनिधि घटना मात्रै हुन् । माओवादी सशस्त्र द्वन्द्वकालमा घटेका यस्तै घटनाको संख्या दर्जनभन्दा बढी भए । तिनैमध्येका केही घटनालाई समेटेर फ्रिडम फोरमले ती घटनाको वर्तमान अवस्था के छ भनेर अनुसन्धानमूलक वृत्तचित्र बनाएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सार्वजनिक गरिएको उक्त वृत्तचित्रमा द्वन्द्वकालमा मारिएकामध्ये ११ वटा घटनाको विस्तृत अध्ययन गरिएको छ । आगामी दिनमा अन्य घटनाबारे पनि अध्ययन गरी सरकारलाई खबरदारी गरिरहने फ्रिडम फोरमले जनाएको छ ।

वृत्तचित्रमा सञ्चारकर्मी, रोल्पाका मगर, कैलालीका जोशीसहित कैलालीकै प्रकाश ठकुरी, कालीकोटका नवराज शर्मा, काठमाडौँका कृष्णसेन इच्छुक, दैलेखका डेकेन्द्र थापा, धनुषाकी उमा सिंह र महोत्तरीका गणेश चौधरीको बारेमा विस्तृत अध्ययन गरिएको छ ।

नेपालमा पत्रकार मात्रै होइन सञ्चार उद्यमी पनि मारिएका छन् । वृत्तचित्रमा च्यानल नेपाल र स्पेसटाइम नेटवर्कका अध्यक्ष जमिम शाहको हत्या, जनकपुरबाट प्रकाशित जनकपुर टुडे सञ्चार समूहका अध्यक्ष अरुण सिंघानिया र रेडियो तुलसीपुरका अध्यक्ष देवीप्रसाद धितालको हत्याको विषयमा पनि विस्तृत अध्ययन गरिएको छ ।

पत्रकारविरुद्ध भएका केही घटनामा अनुसन्धान भयो, अदालती प्रक्रिया शुरु भयो । केहीमा यस्तो प्रक्रिया शुरु नै नभएको फोरम स्रोतले जनाएको छ ।

२०५२ साल फागुन १ गते सशस्त्र द्वन्द्व शुरु भएदेखि २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएसम्ममा नेपालमा विद्रोही र राज्यपक्षबाट गरी १४ जना पत्रकार मारिए । केही पत्रकार बेपत्ता पारिए । त्यसयता पनि पत्रकार मारिने र बेपत्ता बनाउने क्रम रोकिएको छैन ।

फ्रिडम फोरमद्वारा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार समाचार लेखेका र विचार व्यक्त गरेका आधारमा बितेका दुई दशकयता मात्रै नेपालमा २३ जना नेपाली पत्रकार मारिए । तीनजना पत्रकार अभैm बेपत्ता छन् ।

सशस्त्र द्वन्द्व र त्यस पछाडिको संक्रमणको समयमा सताइएका÷बेपत्ता पारिएका र मारिएका पत्रकारले कानूनी उपचार पाउनुपर्नेमा राज्यले ती घटनाका बारेमा छानबिन, अनुसन्धान, दोषीलाई कानूनी कारबाहीमा ल्याउने र दण्डहीनताको अन्त्य पहल नगरेकाले नेपालमा दण्डहीनता बढ्दै गएको बताउनुहुन्छ, फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहाल ।

नेपालमा द्वन्द्वकालमा घटेका यिनै घटनाका कारण अझै पनि जोखिमपूर्ण रिर्पोटिङ गर्ने प्रवृत्ति बढ्न नसकेको बताउनुहुन्छ वरिष्ठ सञ्चारकर्मी कनकमणि दिक्षित ।

विगतमा हत्या गरिएका र बेपत्ता पारिएका पत्रकार÷सञ्चारकर्मीको घटनाको विस्तृतरुपमा अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा नल्याउँदा नेपालका दण्डहीनता बढ्दै गएको नेपाल पत्रकार महासंघका महासचिव विपुल पोखरेलको भनाइ छ ।

पत्रकारिता प्रजातन्त्रको एउटा खम्बा हो, यसले समाजमा भएका राम्रा र नराम्रा कामका बारेमा रिपोर्टिङ गरेर खबरदारी गर्छ । समाजलाई सुसूचित पार्न स्वतन्त्र पत्रकारिता आधारशीला हो । तर नेपाली पत्रकारले स्वतन्त्र ढंगले लेख्ने वातावरण अझै बन्न सकेको छैन ।
–––

 

(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery