www.tandavnews.com
Fact ~ In search of truth

कविशिरोमणि सङ्ग्रहालयमा कोरोनाको प्रभाव

पोखरा ।

साहित्यिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको पोखरा महानगरपालिका–२७ स्थित कवि शिरोमणि लेखनाथ सङ्ग्रहालयमा कोरोनाको प्रभाव परेको छ ।

कवि शिरोमणिको जन्मघरसहित उनका जीवनीका महत्वपूर्ण विषय समेटेर कवि शिरोमणि जन्मस्थल विकास समितिले निर्माण गरेको संग्रहालयको अवलोकन गर्न देशका विभिन्न भागबाट साहित्यप्रेमी आउने गरेका छन् ।

Batas

सङ्ग्रहालयको अवलोकनका लागि दैनिक विभिन्न समूहमा विद्यार्थी तथा साहित्यप्रेमी आउने गरेको भए पनि कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीसँगै सङ्ग्रहालयमा पनि आवतजावतमा रोक लगाइएको समितिका सहसचिव रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

‘कवि शिरोमणि जन्मस्थल परिसरमा वनभोजका लागि पनि आवश्यक पूर्वाधार निर्माण गरेसँगै विभिन्न शैक्षिक संस्थाबाट वनभोजका लागि पनि आउने क्रम पनि बन्दाबन्दी अघि उत्साहजनक रुपमा बढेको थियो’, उनले भने, ‘बन्दाबन्दीपछि भने सम्भाव्य सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सर्वसाधारणलाई सङ्ग्रहालय प्रवेशमा रोक लगाइएको छ, वनभोजलगायत गतिविधि पनि पूर्ण रुपमा बन्द छन् ।’

कवि शिरोमणिको जन्मस्थल अर्घौंं अर्चलेलाई साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समिति गठन गरिएपछि पछिल्ला वर्षमा पूर्वाधार निर्माणले पनि गति लिएको छ । समितिको पहलमा विगत केही वर्षयता कवि शिरोमणिको जन्मघरको संरक्षणका साथै सङ्ग्रहालय, तरुण तपसी पार्क निर्माणलगायत कामलाई अघि बढाइएको छ ।

समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेका अनुसार कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चलेको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाका साथ काम अघि बढाइएको छ । समितिको पहलमा कवि शिरोमणिको जन्मघरलाई पुरानै स्वरुपमा निर्माण गरिएको छ भने उहाँका बाल्यकालदेखि मृत्युसम्म प्रयोग भएका सामग्री र त्यस समयका रहनसहन र रीतिरिवाज झल्कने चलनचल्तीका सामग्री राखी सङ्ग्रहालय निर्माण गरिएको छ ।

कवि शिरोमणिको जन्मस्थलमा गएर कविता रच्ने वा अन्य साहित्य सिर्जना गर्नेका लागि जन्मघर वरपर प्रतीक्षालयलगायत संरचना तथा पार्क निर्माण अघि बढेका छन् । पृथ्वी राजमार्गको अर्घौं चोकस्थित कवि शिरोमणिको सालिकदेखि जन्मस्थल अर्घौं अर्चलेसम्म ठाउँठाउँमा उनले रचना गरेका उत्कृष्ट कविताका श्लोक मार्बलमा कुँदेर राखिएका कारण अर्घौं चोकबाट छिरेपछि उनका कवितावाचन गर्दै जन्मघर पुग्ने व्यवस्था मिलाइएको छ ।

लेखनाथ चोकदेखि कविको जन्मस्थलसम्मका स्यानी चौर, ठूली पोखरी, तरुणतपसी पार्क, बतासे, बूढाचौर, गैरापोखरीलगायत मुख्य चोकमा उनका मर्मस्पर्शी कविता पढ्न सकिन्छ । कोरोना सङ्क्रमण नियन्त्रणमा आएसँगै सङ्ग्रहालय परिसरमा पुनः साहित्यिक पर्यटनका गतिविधि बढ्ने सहसचिव तिमिल्सिनाले बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.