www.tandavnews.com
Fact ~ In search of truth

विद्यालयलाई संक्रमणको केन्द्र बन्न दिइन्न : शिक्षामन्त्री पोखरेल

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना संक्रमणको केन्द्र बन्न नदिने बताएका छन् ।

आज नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपालय अनलाइन (भर्चुअल) वकृत्वकलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यालयलाई कोरोना संक्रमणको केन्द्र बन्न नदिन वैकल्पिक शिक्षण पद्धतिलाई अघि बढाउने बताए ।

Batas

‘अहिले पनि संक्रमण कम भएका जिल्लाका विद्यालयका कक्षा सञ्चालन गराउन सकिन्छ तर संक्रमण विद्यालयस्तरमा फैलियो भने त्यसलाई नियन्त्रण गर्न सकिँदैन । हाम्रा स्वास्थ्य स्रोत साधन कम छ । त्यसैले वैकल्पिक रुपमा दूर शिक्षाको माध्यमबाट न्यूनतम सिकाइलाई अघि बढाउन आवश्यक छ’, मन्त्री पोखरेलले भने, ‘विद्यालयमा नै विद्यार्थीलाई सहभागी गराएर पठनपाठन गराउन सक्ने अवस्था छैन । आधुनिक प्रविधि र पद्धतिबाट शैक्षिक क्रियाकलाप अघि बढाउनुको विकल्प छैन ।’

मन्त्री पोखरेलले वैकल्पिक र दूर शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन तहको सरकारको भूमिका महत्वपूर्ण रहेकाले स्थानीय तहलाई कार्य योजना बनाएर अघि बढ्न आग्रह गरे । मन्त्री पोखरेलले वैकल्पिक बाटोबाट शिक्षण प्रदान गर्दा कोही पनि विद्यार्थीलाई नछुटाई हरेक विद्यार्थीलाई समेट्ने गरी योजना बनाउनुपर्ने बताए ।

‘कोरोनाकालमा परम्परागत रुपमा शिक्षा प्रदान गर्न सम्भव छैन भन्ने पाठ सिकाएको छ । विश्वस्वास्थ्य संगठनले यो महामारी साम्य हुन कम्तीमा दुई वर्ष लाग्छ भनिरहेको छ । स्कूल, कलेज बन्द भए पनि शिक्षण बन्द भएको छैन, शिक्षा बन्द गरिनु हुन्न । शैक्षिक क्षतिलाई कम गर्दै शैक्षिक सत्र सुनिश्चित गर्नु पर्छ ।’

मन्त्री पोखरेलले रेडियो, टेलिभिजन, अनलाइन र अस्थायी सिकाइ केन्द्रमा थोरै विद्यार्थी राखेर भए पनि शिक्षण कार्य अघि बढाइने बताए । ‘संकटको समयमा शिक्षाको अधिकार प्रत्याभूत गराउन सरकारले कदम चालिरहेको छ ।

पहिले रोगविरुद्ध आधारित भएको सरकार पछि भोकलाई आधार मानेर अघि बढेको र अहिले शिक्षामा केन्द्रित भएको छ’, मन्त्री पाखेरेलले भने ‘भूकम्पको समयमा वैकल्पिक विधिबाट पठनपाठनको क्रियाकलापलाई अघि बढाउन सकेको भए अहिले सहज हुने रहेछ । अब वैकल्पिक प्रणाली बनाउँदै विद्यार्थीको सिकाइलाई प्राथमिकता दिइनेछ ।’ रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.